काठमाडौं : नेपाल बार एशोसिएशनले शुक्रवार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत् बारले इजलास बहिष्कार गर्ने निर्णय गरेको हो।
बिहीबार सर्वोच्च परिसरमा प्रहरीसँग अधिवक्ताहरुको घम्साघम्सी भएपछि बारले कठोर निर्णय लिनुपर्ने अवस्था आएको भन्दै सम्पूर्ण कानुन व्यवसायीलाई साथ दिन अपिल गरेको छ।
शान्तिपूर्ण कार्यक्रममा प्रहरीले कानुन व्यवसायीहरुमाथि अत्याधिक बल प्रयोग गर्नुका साथै हातपात गरेको बारले जनाएको छ। त्यसक्रममा बारका पूर्ण उपाध्यक्ष डा कुमार शर्मा आचार्य, वर्तमान उपाध्यक्ष रक्षा बस्यालसहित केही कानुन व्यवसायीहरु घाइते भएको बारले जनाएको छ।
जबराले ठाडो आदेशमा प्रहरीको प्रयोग गर्नुका साथै भिजलान्ते र विचौलिया प्रयोग गरि शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै बारले कानुन व्यवसायीहरुमाथि भएको दमन नदोहोर्याउन प्रधानन्यायाधीशलाई चुनौति समेत दिएको छ।
बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विकृति, विसंगती फैलाएको र भष्ट्राचारको पृष्ठपोषक भएको आरोप लगाउँदै राजीनामा माग गर्दै आएको छ।
