1.jpg)
काठमाडौं : गायक योगेश्वर अमात्यले केही वर्ष अघि बाराको विश्रामपुरमा २५ बिघा जग्गा किनेका थिए। कलैया नजिकै मुल सडकमा छोएको जग्गा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेपछि धेरैको आँखा बनिरहेको थियो। अमात्यको जग्गा किन्न मानिसहरू लागि उनलाई पछ्याउनेक्रम पनि सँगै बढिरहेको थियो।
दलालहरु पनि त्यही जग्गा ताकेर बसेका थिए। यही बिच किनेको २५ बिघामध्ये १३ बिघा जग्गा गायक अमात्यले बिक्री गरे। त्यसपछि बाँकी रहेको जग्गा पर्खाल लगाएर राखे। कित्ता नम्बर १०६९ को एउटै प्लटको जग्गा थियो उनको।
उनले उक्त जग्गा बिरुवा भूमि वनकाली कम्पनीको नाममा राखेका थिए। निजगढ विमानस्थलबाट करिब २० किलोमिटरको दुरीमा रहेको जग्गाको मूल्य बढ्दै गएको थियो।
राम्रो जग्गा त्यसमाथि मुल बाटोले छोएका कारण बाँकी पनि बेचिहाल्न पर्यो भन्दै दलालहरु अमात्यलाई फोन गरिरहन्थे। तर, उनले जग्गा बेच्न चाहेका थिएनन्। उनलाई थाहा थियो - जग्गाले अझै मोल पाउने छ।
'उनलाई यति धेरै फोन आयो कि बाध्य भएर त्यो जग्गा बिक्रीमा छैन भन्ने बोर्ड नै राखे। बोर्ड राख्दा पनि जग्गा बिक्री गर्न भन्दै फोन आइरहन्थ्यो उनलाई,' अमात्यको पारिवारिक स्रोतले भन्यो। त्यसो त त्यही जग्गाको कारण बैना लिएर नबेचेको भन्दै प्रहरीमा उजुरी समेत परेको पारिवारिक स्रोतको दाबी छ।
उक्त जग्गाको रेखदेखका लागि अशोक पाण्डेलाई योगेश्वरले राखेका थिए। जग्गामा मानिसको गतिविधि बढ्न थालेपछि तिनै पाण्डेले उनलाई ब्रिफिङ गरे - जग्गामा मानिसहरु आएर नापजाँच गरिरहेका छन्।
काठमाडौंमा निर्धक्क रहेका योगेश्वर त्यसपछि सक्रिय भए। खोजी गर्दै जाँदा त उनको जग्गा बैंकमा धितो राखेर ऋण समेत निकालिएको रहेछ। त्यसपछि अमात्य आफैँ छक्क! उनी सिधै प्रहरी कहाँ पुगे। कार्तिक २ गते केन्द्रीय अनुसन्धान ब्युरोमा गएर उजुरी दर्ता गराए। त्यसपछि प्रहरीले अनुसन्धान सुरु गर्यो। नभन्दै उनको जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट १९ करोड रुपैयाँ झिकिसकिएको रहेछ।
नक्कली लालपुर्जा बनाएर कुमारी बैंक वीरगन्ज शाखाले काठमाडौंको न्यूरोडलाई कर्जा प्रवाह गर्न पत्र लेखेको थियो। त्यही आधारमा १९ करोड रुपैयाँ साउनको दोस्रो सातातिर प्रवाह भयो। प्रहरीको अनुसन्धानमा बैंकका कर्मचारी समेत मिलेमतो देखियो यस प्रकरणमा। सोही अभियोगमा उजुरी परेपछि वीरगन्जको कुमारी बैंक शाखाका कनिष्ठ सहायक सोनु ठाकुर, भ्यालुएटर राजेश चौरसिया नक्कली कागजपत्र बनाएर कर्जा लिने एस कुमार महर्जन र मुक्तिलाल गौतमलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले नियन्त्रणमा लियो। वीरगन्ज शाखाका एक जना बैंक कर्मचारी फरार रहेकाले खोजी भइरहेको ब्यूरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए।
'अहिलेसम्म बैंकका कर्मचारीको पनि संलग्नता देखिएको छ। त्यसैले अनुसन्धान गरिरहेका छौँ,' डीआईजी सिंहले भने।
गायक अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको थियो। यो सबै घटनाको मुख्य योजना भने कुशन प्रधानले बनाएको प्रहरीको अनुसन्धानले देखाएको छ। उनी जग्गा कारोबारी हुन्।
नक्कली लालपुर्जा राखेर ऋण लिएको बैंकले थाहा पाएपछि भदौ अन्तिममा नै ऋणीबाट कमसल धितो भन्दै ऋण सकारेको थियो। यस घटना त्यतिखेरसम्म प्रहरीमा आइनपुगेको डीआईजी सिंहले बताए। आफ्नो जग्गाको नक्कली लालपुर्जा बनाएको गायक अमात्यले थाहा पाएपछि प्रहरीमा पुगेका थिए। १ अर्ब बराबरको जग्गालाई ३८ करोड रुपैयाँ मुल्याङकन गरेर ऋण प्रवाह गरिएको उनको परिवार स्रोतको दावी छ। प्रहरीको अनुसन्धानमा घेरमा बैंकका उच्च तहका कर्मचारी समेत रहेका छन्।
प्रहरीले अहिले सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको अभियोगमा समातिएकाहरू विरुद्ध अनुसन्धान गरिरहेको छ।