PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

वाग्मती प्रदेशमा नवनियुक्त मन्त्रीद्वय शालिकराम जम्मकट्टेल र निमा लामाले लिए सपथ



निशा गुरुङ

वाग्मती प्रदेशमा नवनियुक्त मन्त्रीद्वय शालिकराम जम्मकट्टेल र निमा लामाले लिए सपथ

हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कात्तिक ११ गते मुख्यमन्त्रीको सपथ लिँदै चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका पाण्डेले थप दुई मन्त्री थपेका हुन्।

मुख्यमन्त्री पाण्डेले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामालाई मन्त्री बनाएका हुन्। जम्मकट्टेल आर्थिक मामिला तथा योजनामन्त्री र लामा स्वास्थ्यमन्त्री बनेका छन्। उनीहरुले साँझ ६:२० बजेको समयमा प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण गरेका हुन्।

पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्र संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका थिए। भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वाग्मती प्रदेशमा दुई पटक मन्त्री बने जम्मकट्टेल

२०७४ सालमा प्रदेशसभा निर्वाचनबाट सांसद चुनिएका जम्मकट्टेल नेकपाको सरकार रहँदा मन्त्री बनेका थिए। उनी तत्कालिन नेकपाका मुख्यमन्त्री डोरमणी पौडेलको नेतृत्वमा २०७४ माघ २९ गते मन्त्री बनेका थिए। उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

गत पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। उनले पुस १० गते मन्त्री पदबाट राजीनामा दिएका थिए।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपाको आधिकारिकता खारेज गर्दै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई साबिककै अवस्थामा फर्काउने फैसला गरेपछि भने उनी माओवादी केन्द्र वाग्मती प्रदेशका संसदीय दलका नेता चुनिए।

मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालयसहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए। मुख्यमन्त्री पाण्डेले यसअघि स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए।

यस्तै, मुख्यमन्त्री नियुक्त भएकै दिन कात्तिक ११ गते पाण्डेले ३ मन्त्री नियुक्ति गरेका थिए। यद्यपि मन्त्रिपरिषद् विस्तारले भने अझै पूर्णता पाउन बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell