PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तीन 'दाइ'हरु : जसले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटे, फुपुको ‘क्लु’ले पुगे प्रहरीकोमा



पी बी खड्का

तीन 'दाइ'हरु : जसले सात वर्षीया मनिषाको करणीपछि घाँटी रेटे, फुपुको ‘क्लु’ले पुगे प्रहरीकोमा

सुर्खेत : सुर्खेतको लेकबेशी नगरपालिका–१ ढापखर्कस्थित गगनबहादुर सुनार श्रीमतीसँगै कात्तिक २१ गते (आइतवार) दिदीको घरमा थिए। त्यस दिन गगन छोरीहरुलाई घरमै छाडेर दिदीको घर पुगेका थिए। गगनको पाँच छोरी छन्। जसमध्ये कान्छी हुन् सात वर्षीया मनिषा।

सोही दिन बिहान साढे १० बजेतिर मनिषा घरबाट चाउचाउ किन्न पसलतिर जान्छिन्। पसल पुग्नु अगावै बिच बाटोमा मनिषाको ठूलो बुवाका छोरा प्रकाशसँगै अरु तीन जना भेटिन्छन्।

‘मलाई पनि चाउचाउ ल्याइदिनू है,’ यति भन्दै प्रकाशले २० रुपैयाँ मनिषालाई दिए।

घरदेखि करिब आधा घण्टाको बाटो हिडेपछि मनिषा पसल पुग्छिन्। अनि मनिषा पसलबाट २० रुपैयाँको एउटा चाउचाउ र आफूसँग भएको १० रुपैयाँको पनि अर्को चाउचाउ बोकेर घरतर्फको बाटो लाग्छिन्।

फर्किदै गर्दा बाटोमा फुपु नाता पर्ने एक जना महिलासँग मनिषाको भेट हुन्छ। उनले सोध्छिन्, ‘खाना खाइस कि नाई? हिँड् घर खाना खाएर जालिस्।’

मनिषाले भन्छिन्, ‘नाई खान्न, घरै गएर खान्छु, माथि प्रकाश दाइहरुले कुर्नुभएको छ।’

मनिषा घरतिर लाग्छिन्।

पसल र उनको घरको बिचमा सात/आठ वटा घर छन्। करिव पाँच/सात मिनेटको बाटोमा जंगल पनि पर्छ। त्यही जंगल बसेका ती ‘दाइ’हरु मध्ये प्रकाशले मनिषालाई समातेर जुरुक्कै उचालेर बाटो कटाउँछन्। अनि जबरजस्ती गर्छन्।

‘बालिका भाग्न खोजेको देखिन्छ तर, प्रकाश भन्ने केटाले बाटोमै जबरजस्ती झ्यानाकुटी पारेर जंगलतर्फ लिएको र करणी गरेको स्वीकार गरिसकेका छन्,’ घटनाको अनुसन्धानमा संलग्न एसपी पदमबहादुर बिष्टले भने।

त्यसदिन बेलुकासम्म घर नफर्किए पनि प्रहरी, अन्य कोही कसैलाई खबर गरेनन्। किनकि घरमा दिदीहरुलाई लाग्यो, बुवाआमा गएको फुपुको घरमा गइहोला। भोलिपल्ट कात्तिक २२ गते (सोमवार) बुवाआमा फुपुको घरबाट फर्किए तर, मनिषा भने फर्किनन्।

अनि सुरु भयो मनिषाको खोजी। परिवारले छरछिमेक र प्रहरीलाई खबर गरे। इलाका प्रहरी कार्यालय लेकबेशीको टोली र स्थानीयले खोजतलास थाले।

घरदेखि करिब दुई सय मिटर तल जंगलमा मनिषा मृत अवस्थामा भेटिइन्। शवको घाँटीबाट रगत बगिरहेको राताम्मे अवस्थामा थियो। शव फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गर्‍यो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश अनुसन्धान ब्युरो पनि खटियो। नेपालगञ्जदेखि कुकुर ल्याएर अनुसन्धान थालियो। शव देखेरै प्रहरीले सहजै अनुमान गर्‍यो घटना कर्तव्य ज्यानसँग सम्बन्धित भएको।

घटनास्थल वरपर लगायत गाउँमा प्रहरीले त्यस्ता व्यक्तिहरु जो विगत र अहिलेको चालचलनबारे सुक्ष्म अनुसन्धान र जाँचबुझ थाल्यो।

यसैक्रममा पसल बाट फर्किँदै गर्दा बिच बाटोमा भेटिएकी मनिषाको फुपुसम्म पुग्यो प्रहरी।

फुपुको ‘क्लु’ले दियो घटनामा संलग्नको निशाना

‘पसलबाट फर्किदा खाना खाइस् कि खाइनस् भनेर सोध्ने फुपुको क्लु नै अभियुक्तसम्म पुग्ने बलियो आधार बन्यो,’ एसपी बिष्टले भने, ‘बालिकालाई पैसा दिएर चाउचाउ लिन लगाएको, बिच बाटोमा पर्खिएको सबै कुरा मनिषाले फुपुसँग गरेको हुँदा उनले (मनिषाको फुपु) हामीलाई दिएको बयानलाई पछ्याउँदै गयौँ।’

फुपुको क्लु र घटनाको प्रमाण संकलन गर्दै जाँदा प्रहरी अपराधीको नजिक पुग्यो। अनि अनुसन्धानमा शंकास्पद चार जनालाई प्रहरीले उत्तिबेलै (कात्तिक २२ गते) नियन्त्रणमा लियो।

साथै, प्रहरीले घटनाको प्रमाण संकलन गर्नेक्रममा बलियो आधार भेटायो। घटनामा प्रयोग भएको हसिँया, अभियुक्तले लगाएको कपडामा रगत जस्तो देखिएको रातो पदार्थ लगायतलाई आधार मान्दै थप अनुसन्धानको पाटो अगाडि बढ्यो।

अहिले प्रहरी चार जनामध्ये ३ जना घटनामा प्रत्यक्ष संलग्न रहेको निष्कर्षमा पुगेको छ। प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै गएको छ।

+++

जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा दाइ नाता पर्ने सोही ठाउँका २१ वर्षीय सन्तोष सुनार, १९ वर्षीय बिक्रम सुनार र १५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरेको हो। पक्राउ परेका तीन जना र मनिषा भाइ–भाइका छोराछोरी हुन्।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शव फेला परेकै समयमा कात्तिक २२ गते नै चार जनालाई नियन्त्रणमा लिएको थियो। अनुसन्धान र प्रमाण संकलन गर्ने क्रममा एक जना निर्दोष देखिएपछि अभिभावकको जिम्मा लगाएको छ। बाँकी तीन जनालाई सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

‘प्रहरीलाई खबर भए लगत्तै घटनास्थलमा पुग्दा घटनामा संलग्न आशंकामा ४ जनालाई नियन्त्रणमा लिएका थियौँ,’ एसपी बहादुर बिष्टले भने, ‘चार जनामध्ये सन्तोष, बिक्रम र प्रकाश कर्तव्य ज्यानमा प्रत्यक्ष संलग्न रहेको देखियो, अदालतबाट म्याद थप गरेर अनुसन्धानको काम भइरहेको छ।’

घटनाको प्रारम्भिक अनुसन्धान र प्रमाणले जबरजस्ती करणी गरेको देखिएको छ। थप पुष्टि भने पोष्टमार्टम रिपोर्टले गर्ने प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell