फिफा विश्वकपको दक्षिण अमेरिका छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिलले कोलम्बियामाथि जित निकालेको छ। ब्राजिलको साओ पउलोस्थित कोरिनथियान्स स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले कोलम्बियालाई १-० गोलअन्तरले हराएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पक्वेटाले निर्णायक गोल गरे। उनले खेलको ७१ औं मिनेटमा गोल गरेका थिए।
जितसँगै १२ खेलमध्ये ११ खेलमा जित निकालेको ब्राजिल दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट भएको छ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा पेरुले बोलिभियामाथि ३-० को जित निकालेको थियो। क्वालिफायर्समा ३४ अंक जोडेको ब्राजिल शीर्षस्थानमा छ भने २५ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ। त्यस्तै १६ अंक जोडेको कोलम्बिया पाँचौ र १४ अंक जोडेको पेरु ७ औं स्थानमा छन्।
