विकिलिक्सका संस्थापक जुलियन असान्जले आफ्नी प्रमिकासँग जेलभित्रै विवाह गर्ने अनुमति पाएको बीबीसीले जनाएको छ।
बेलायतको बेल्मार्श कारागारमा रहेका असान्जले प्रेमिका स्टेला मोरिससँग विवाह गर्ने अनुमति पाएका हुन्। असान्जले विवाहका लागि कारागारमा निवेदन दिएका थिए। कारागार प्रशासकले उनको निवेदनलाई 'नियमित प्रक्रिया' मा रहेर हेरेका थिए।
लन्डनस्थित इक्वेडरको दूतावासमा शरण लिइरहेको बेला असान्ज र मोरिस नजिकिएका थिए। उनीहरुको दुई सन्तान समेत छन्।
पेशाले वकिल रहेकी मोरिसले कारागारभित्रै विवाह गर्ने अनुमति पाएको खुशी व्यक्त गर्दै विवाहमा कुनै हस्तक्षेप नहुनेमा आफू आशावादी रहेको बताएकी छिन्।
इक्वेडरको दूतावासबाट निकालिएपछि बेलायतमा उनलाई जमानतका शर्तहरु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको थियो। त्यसयता असान्ज बेल्मार्श कारागारमा छन्।
अमेरिका लगायत विश्वका कयौं राष्ट्रको राष्ट्रिय सुरक्षा सम्बन्धी दस्तावेजहरु सार्वजनिक गरेकोमा असान्जलाई निशाना बनाइँदै आइएको छ। अमेरिकाले असान्जलाई अमेरिका सुपुर्दगी गर्न माग गर्दै आएको छ। असान्जले सुपर्दगीविरुद्ध कानुनी लडाइँ लड्दै आएका छन्।
