काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्। शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवसहित माओवादी छाडेका नेता पुरानै घरमा फर्किने विश्वास व्यक्त गरेका हुन्।
प्रचण्डले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको समेत बताए। मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै मिलेर मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने उनले बताए। 'रोमान्स' जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने बताउँदै उनले समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए।
'ढिलो छिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु। अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लग्न सकिन्छ। कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन, प्रचण्डले भने, 'त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ।'
प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने समेत बताए। उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए।
'कसैले चाहँदैमा लहर चल्दैमा क्रान्ति हुने पनि होइन। फेरि प्रचण्ड भन्ने कुरा प्रचण्डले जन्माएको होइन। नेपाली जनताले जन्माएको हो। प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन' उनले भने।
