PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सबै शक्ति राष्ट्रपतिमा केन्द्रित गर्ने सीपीसीको तेस्रो संकल्प पारित : माओ, तङसँगै बराबरीमा सी चिनफिङ



पहिलोपोस्ट

सबै शक्ति राष्ट्रपतिमा केन्द्रित गर्ने सीपीसीको तेस्रो संकल्प पारित : माओ, तङसँगै बराबरीमा सी चिनफिङ

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को छैठौं प्लेनमले ऐतिहासिक संकल्प (रिसोलुसन) पारित गरेको छ। राष्ट्रपति सी चिनफिङलाई थप स्थापित गर्ने गरी सो प्रस्ताव पारित गरिएको हो। 

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सतवार्षिकीका क्रममा भएका उपलब्धिहरुलाई संगाल्दै बिहीवारसम्म चलेको सीपीसीको छैठौं प्लेनमले ऐतिहासिक संकल्प पारित गरेको हो। 

सीपीसीको १९ औं केन्द्रीय कमिटीको छैठौं प्लेनम ८ नोभेम्वर देखि ११ नोभेम्वरसम्म चलेको थियो। 

प्लेनममा १९७ केन्द्रीय कमिटीका सदस्य र १५१ वैकल्पिक सदस्यहरु, केन्द्रीय अनुशासन आयोगका स्थायी कमिटी सदस्यहरु, १९ औं कंग्रेसमा प्रतिनिधिको रुपमा रहेका केही स्थानीय तहका प्रतिनिधिहरु, विज्ञ तथा प्राज्ञहरुको सहभागिता रहेको थियो। 

प्लेनममा राष्ट्रपति तथा सीपीसीका महासचिव सीले पोलिट व्यूरोका तर्फबाट प्रस्तुत गरेको कार्य प्रतिवेदन माथि छलफल भएको थियो। 
प्लेनमले सीपीसीको २० औं नेशनल कंग्रेस बेइजिङमा २०२२ को अन्त्य तिर गर्ने गरी प्रस्तावसमेत पारित गरेको छ। 

प्लेनमपछि जारी वक्तव्यमा सन् १९२१ मा पार्टी स्थापना पछि पार्टीले चिनियाँ जनतामा खुसी ल्याएको चिनियाँ राष्ट्रिय कायाकल्प गर्ने लक्ष्यका साथ अगाडि बढेको उल्लेख छ। 

नयाँ प्रजातान्त्रिक आन्दोलनका क्रममा अध्यक्ष माओ जेदोङको नेतृत्वमा मार्क्सवाद र लेनिवादको आधारभूत मान्यतामा टेकेर चिनियाँ विशेषतासहितको माओ विचारधारको स्थापना भएको र सो विचार धारा नयाँ प्रजातान्त्रिक आन्दोलनलाई विजयी गराउन सही रहेकोसमेत निचोड निकालेको वक्तव्यमा उल्लेख छ। 

त्यस्तै सामाजवादी आन्दोलन र निर्माणको चरणमा माओले महत्त्वपूर्ण सामाजवाद निर्माणको लागि महत्त्वपूर्ण सिद्धान्तहरु दिएकोसमेत जारी वक्तव्यमा उल्लेख छ। 'चीन ठूलो जनसंख्या भएको गरिव र पछाडि पारिएको पूर्वी देशबाट समाजवादी देशमा रुपान्त्रित भएको छ,' वक्तव्यमा भनिएको छ। 

त्यस्तै सुधारको नयाँ चरण, खुलापन र समाजवादी आधुनिकीकरणको समयमा पार्टीको ११ औं केन्द्रीय कमिटीको तेस्रो प्लेनममा नेता तङ स्याओपिङले तङ स्याओपिङ सिद्धान्तको स्थापना गरेको र त्यसले चिनियाँ विशेषतासहितको समाजवादको स्थापना भएको वक्तव्यमा उल्लेख छ। 

१३ औं केन्द्रीय कमिटीको चौथो प्लेनम जियाङ जमिनको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सामाजवाद बुझेको र समाजवाद निर्माण कसरी गर्ने भन्ने दिशामा अगाडि बढेको उल्लेख छ। सो कालखण्डमा चीनमा 'थ्रि रिप्रिजेन्टेस् थ्योरी' को प्रतिवदान भएको र सोही सिद्धान्त अनुरुप चिनियाँ विशेषता सहितको समाजवाद २१ शताव्दीमा घोषणा भएको उल्लेख छ। 

त्यस्तै सीपीसीको १६ औं नेशनल पार्टी कंग्रेसमा महासचिव हु जिन्ताओको नेतृत्वमा समग्र देश तथा पार्टीलाई एकतावद्ध पारिएको नयाँ परिस्थितिमा समाजवादको विकास, समुन्नत समृद्ध समाजको निर्माण र वैज्ञानिक विकासको सुरुवात हुँदै समाजवादको चिनियाँ विशेषतासहितको समाजवाद विकास हुन थालेको वक्तव्यमा उल्लेख छ। 

सीपीसीको १८ औं राष्ट्रिय कंग्रेसपछि देश चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ। महासचिव सीको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादका लागि सी चिनफिङ विचारधार स्थापित भएको वक्तयव्यमा उल्लेख छ। 

सी विचारधारा समकालिन चीन र २१ औं शताव्दीको मार्क्सवाद भएको निचोड बिहीवार सम्पन्न प्लेनमले निकालेको छ। पार्टीले सीलाई पार्टी केन्द्रीय कमिटीमा केन्द्रीय भूमिका दिएको र उनको निर्देशक भूमिकालाई स्थापित गरेको समेत उल्लेख छ। 

पार्टीले उनलाई पार्टी, सैन्य शक्ति तथा चिनियाँ जनताको नेताको रुपमा स्थापित गरेको छ। यसले राष्ट्रिय कायाकल्प हासिल गर्ने ऐतिहासिक प्रक्रियामा अगाडि बढाउन सहयोग पुगेको प्लेनमले निचोड निकालेको वक्तव्यमा उल्लेख छ। 

१८ औं राष्ट्रिय कंग्रेसपछि पार्टीको केन्द्रीय कमिटीको कार्यकारी अधिकार तथा यसको केन्द्रीकृत एकीकृत नेतृत्व स्थापित हुँदा पार्टी थप शक्तिशाली बन्दै गएकोसमेत वक्तव्यमा उल्लेख छ। 

त्यस्तै सीको नेतृत्वमा चिनियाँ आर्थिक विकास थप सन्तुलित भएको र दीगो हुँदै गएको समेत बताइएको छ। 

'पार्टीले सक्रिय रुपमा जनताको प्रजातन्त्रको सम्पूर्ण प्रक्रियाको विकास गरेको छ। र चिनियाँ समाजवादी प्रजातन्त्रको प्रक्रिया, संस्थागत सुधार तथा मापदण्डको विकासका लागि वृहत् प्रयास गरेको छ,' वक्तव्यमा भनिएको छ। 

साथै समाजवादी कानुनी शासन प्रणाली चिनियाँ विशेषतासहित सुधार हुँदै गएकोसमेत दाबी गरिएको छ। प्लेनमले राष्ट्रपति सीको नेतृत्वमा चिनियाँ जनताको जीवन स्तर हरेक आयामबाट सुधार भएको, वातावरण संरक्षण लगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिसमेत हासिल गरेको उल्लेख छ।

वक्तव्यमा जनताको सेना सम्पूर्ण रुपमा क्रान्तिकारी पुन: संरचना गरिएको र नयाँ चरणका लागि तयार पारिएकोसमेत उल्लेख छ। प्लेनमले पार्टी कुन उद्देश्य प्राप्तिका लागि किन सुरुवात भएको हो भन्ने भुल्न नहुने निचोड निकाल्दै माओ विचार धार, स्याओपिङ सिद्धान्त, तीन प्रतिनिधि सिद्धान्त तथा विकासमा वैज्ञानिक दृष्टिकोणलाई कायम राख्दै नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवादको सी चिनफिङ विचारधारलाई पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेको वक्तव्यमा उल्लेख छ। 

'केन्द्रीय कमिटी सम्पूर्ण पार्टी, सेना र सम्पूर्ण जनतालाई दोस्रो शतवार्षिकी लक्ष्य तथा राष्ट्रिय कायाकल्पको सपनालाई पूरा गर्नका लागि अथक प्रयास गर्ने कसम खाएर थप नजिकबाट केन्द्रीय कमिटीमा कमरेड सी चिनफिङसँगै गोलबन्द हुन आह्वान गर्दछ,' वक्तव्यमा भनिएक छ।

एक चीन नीतिलाई अगाडि बढाउँदै 'ताइवान स्वतन्त्रता'को विरोध गर्ने र क्रस स्ट्रेट रिलेसनलाई कायम राख्न सवल रहेकोसमेत वक्तव्यमा भनिएको छ। 

सीपीसीले पहिलो ऐतिहासिक सं‌कल्प पारित गरेको ७६ वर्ष र दोस्रो संकल्प अंगिकार गरेको ४० वर्ष पुगेको छ।  पार्टी स्थापना पछिको तेस्रो संकल्प हो। यो संकल्प (रेसोलुसन) ७ भाग रहेको र दुई पूर्व संकल्पको समिक्षा गर्दै पार्टीको १०० वर्षे यात्राको चर्चा गर उपलब्धिको चर्चा गरिएको चाइना डेलीमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell