PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

आइतवारदेखि दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको खोप, को हुन लक्षित समूह, कहाँ लगाइन्छ खोप?



पहिलोपोस्ट

आइतवारदेखि दीर्घ रोगीलाई कोभिड-१९ विरुद्धको खोप, को हुन लक्षित समूह, कहाँ लगाइन्छ खोप?

काठमाडौं : सरकारले १२ वर्ष माथिका दीर्घरोगी नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप अभियान संचालनको तयारी गरेको छ। कार्तिक २८ गते देखि मंसिर ४ सम्म यो उमेर समूहका तथा दीर्घ रोगीलाई प्राथमिकतामा राखेर खोप अभियान संचालान गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

अमेरिकी कोभिड-१९ विरुद्धको खोप फाइजर-वायोएनटेक खोप अभियानका विषयमा मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। यो खोपको पहिलो मात्रा कार्तिक २८ देखि मंसिर ४ गतेसम्म देशभरका २४ अस्पतालबाट दिइने छ। 

जसमध्ये काठमाडौं उपत्यकाभित्र ८ वटा अस्पतालबाट यो खोप दिइने छ। काठमाडौंका वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, ललितपुरको पाटन अस्पताल तथा भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रबाट दिइनेछ। 

त्यस्तै प्रदेश १ मा मेची प्रादेशिक अस्पताल भद्रपुर, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा खोप अभियान संचालन हुनेछ। 

प्रदेश २ का गजेन्द्र नारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज, नारायणी प्रादेशिक अस्पताल वीरगंज र जनकपुर प्रादेशिक अस्पताल जनकपुरधाममा खोप दिइने छ। 

वाग्मतीमा विपि कोइराला स्मृति क्यान्सर अस्पताल भरतपुर र धुलिखेल अस्पताल धुलिखेलमा खोप अभियान संचालन हुनेछ। गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र धौलागिरी अस्पताल बाग्लुङमा खोप दिइनेछ। 

त्यस्तै, लुम्विनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ तथा भेरी अस्पताल नेपालगंजमा खोप दिइनेछ। कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल धनगढी र डडेलधुर अस्पताल अमरगढीमा खोप अभियान संचालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो खोप १२ वर्ष भन्दा माथिको जनसंख्यालाई मात्र दिन मिल्ने भएकोले सोही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिए। 

'यो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई पहिलो प्राथमिकतामा राखेर दिइनेछ। १२ वर्षमाथिका ८ प्रकारका दीर्घ रोगका बिरामीहरुलाई यो खोप दिने गरी कार्यक्रम तय गरिएको छ,'  स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले भने।  

सरकारले फाइजर खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपन गराएका, डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका व्यक्तिलाई लक्षित समूहमा राखेको छ। 

त्यस्तै फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका तथा मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका व्यक्तिहरु पनि फाइजर-वायोएनटेक खोप पाउने लक्षित समूहमा राखिएको छ। 

यो खोप माथि उल्लेखित दीर्घ रोग भएका १२ वर्ष भन्दा माथिका जनसंख्यालाई दुई मात्रा दिइनेछ। खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।

खोप लगाउनका लागि अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य देखाउनुपर्नेसमेत मन्त्रालयले जनाएको छ।

पहिलो मात्रा लगाउने दिन मंसिर ४ गते सम्म खोप अभियान संचालन गरी बचत भएमा मंसिर ५ देखि ७ गते सम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि १२-१७ वर्ष उमेर समूहका जनसंख्याका व्यक्तिहरुलाई पनि खोप दिइने छ। 

'कार्तिक २८ देखि मंसिर ४ गतेसम्म तोकिएका दीर्घरोगीहरुका लागि र खोप बचत भएमा मंसिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरुलाई प्राथमिकतामा राखि १२–१७ उमेर समूहका व्यक्तिहरुलाई लगाइनेछ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मंसिर २७ देखि पौष २ गतेसम्म दिइनेछ,' जनस्वास्थ्य प्रशासक दाहालले भने। 

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा मन्त्रालयका प्रवक्ता डाक्टर पौडेलले खोपको माग धेरै भए पनि सिमित खोप रहेका कारण दीर्घरोगीहरुलाई नै पहिलो प्रथमिकतामा राखिएको बताए। 

'डिमाण्ड जति भए पनि दीर्घरोगीलाई नै दिइन्छ, हामीले अल्ट्रा पोल्ट नभएर मात्रै नेपालमा चलाउन नसकेको हो, हामीलाई हाम्रो प्रणालीले यो खोप पनि चलाउन सक्छ भनेर देखाउने परिक्षण हो यो हाम्रो प्रणाली र सिस्टमको,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell