PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ईश्वरको भर छ, ओलीलाई के को डर छ?



प्रकाश भण्डारी

ईश्वरको भर छ, ओलीलाई के को डर छ?

काठमाडौँ : 'हामी बिलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौं। देशभरका जिम्मेवार नेता कार्यकर्ताको यही मानसिकता छ,' नेकपा एमालेका महासचिव ईश्वर पोखरेले शुक्रबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा भने। पोखरेलले स्पष्ट रूपमा दिन खोजेको सन्देश थियो -चितवनमा हुन लागेको १०औँ महाधिवेशनपछि पनि एमाले केपी ओलीको नेतृत्वबिना अघि बढ्न सक्दैन।

त्यसैले पोखरेल आफू ओलीको विकल्प नभएको बताइरहेका छन्।

'नेसनल पोलिटिक्स दुई वटा पोलमा छ, एउटा पोल नेकपा एमालेले लिड गरिरहेको छ जसको नेता केपी ओलीले गर्नुहुन्छ। अर्को, विभिन्न शक्तिहरू छन्। जसको सिद्धान्त मिल्दैन/ विचार मिल्दैन। ओलीले नेतृत्व गर्नुभएको पोलमा नेकपा एमालेका नेता कार्यकर्तामात्रै होइन देशलाई माया गर्ने सबै गोलबद्ध हुन जरुरी छ,' ओलीको नेतृत्वलाई स्विकार्न आग्रह गर्दै पोखरेलले भनेका थिए।

एमाले नेताहरूका अनुसार ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्षका रूपमा अघि बढाउने पक्कापक्की छ। त्यसैले पोखरेलले मंसिर १०-१२ मा चितवनमा हुने महाधिवेशनमा ओली सर्वसम्मत रूपमा अध्यक्ष हुने दाबी गरिरहेका छन्।

यद्यपि, उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले अध्यक्षका लागि आकांक्षा देखाइरहका छन्। तर, एमालेभित्र आफू कति कमजोर अवस्थामा छौँ भन्ने राम्रै जानकारी छ रावल र भुसाललाई। 'केपी ओलीले आठौँ महाधिवेशन हारेका होइनन् र? त्यो बेला हामी एकै प्यानलमा थियौँ। म उपाध्यक्षमा जितेँ। संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् र? माधव नेपालले काठमाडौँबाट हारेका होइनन् र?,'ओलीसँग अध्यक्षमा लडे पराजित हुनसक्ने भन्दै रावलले गृह जिल्ला अछाम पुगेर कात्तिक २३ मा भनेका थिए।

उनीहरूले उम्मेदवारी दिए पनि त्यो औपचारिकतामा सीमित हुने सबैभन्दा बलियो उदाहरण हो १० बुँदे सहमति गरेर तत्कालीन वरिष्ठ नेता माधव नेपालको साथ छोडेका १० नेताको तितरबितर। पोखरेलले अध्यक्ष ओलीलाई कतिसम्म काँध थापिरहेका छन् भने एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ मा एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा महासचिव पद खोसिँदा पनि उनले त्यसको प्रतिवाद गरेनन्। एमाले नेता विष्णु पौडेललाई ओलीले महासचिव बनाएका थिए।

पोखरेलको पद खोसिएको अर्को घटना हो -ओली नेतृत्वको सरकारमा उनलाई रक्षा मन्त्रीबाट हटाएर प्रधानमन्त्री कार्यालयमा सारिनु। रक्षा मन्त्रालयबाट आफूलाई हटाउँदा पनि पोखरेलले ओलीलाई नै साथ दिए। तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुग्दा ओलीको सबैभन्दा बढी बचाऊ गर्ने नेता पोखरेल नै थिए। हुन त ओलीले पोखरेलकै लागि भनेर विभिन्न अवसर सिर्जना नगरिदिएका भने होइनन्।

ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनले ओली पछिको वरीयतामा रहने गरी एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको थियो। उक्त पद पोखरेलकै लागि सिर्जना गरिएको एमाले वृत्तमा चर्चा छ। ओलीलाई पोखरेलको दरिलो साथकै कारण चितवनमा हुने महाधिवेशनमा ओली इतरका नेताहरूको अस्तित्व सङ्कटमा पर्ने देखिन्छ।

हाल एमालेमा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य लगायताका नेताहरू अब एमालेको नयाँ विधानमा कायम रहेको १५ सदस्यको पदाधिकारीमा अटाउने सम्भावना कम छ। ओली समूहभित्र रहेका उपगुटहरूमा सबैभन्दा बलियो उपस्थिति रहेका पोखरेलले ओलीलाई सघाई मात्रै रहेका छैनन् उनीबाट मात्रै एमालेको राजनीति अघि बढ्ने बताइरहेका छन्। त्यसका लागि एमालेमा ७० वर्षको उमेर हदको व्यवस्था गरिँदा पनि पोखरेलले विरोध जनाएनन्। बरु एमालेले सङ्गठनमा देखिएको अराजकतावादको अन्त्य गर्नुपर्ने भन्दै ओलीको पक्षमा वकालत गरिरहेका छन्।

२०१० सालमा जन्मिएका पोखरेल ६८ वर्ष पूरा भइसकेकाले विधानमा भएको उमेर हदको व्यवस्थाअनुसार ११औँ महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार हुने पाउने छैनन्। तैपनि उनले १०औँ महाधिवेशनमा ओलीको विकल्पका रूपमा आफूलाई उभ्याएका छैनन्। २०३३ सालमै कोर्डिनेसन केन्द्रको केन्द्रीय सदस्य भएका पोखरेलले एमालेको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेको भए पनि अध्यक्षमा उठ्ने आँट भने देखाउन सकेका छैनन्।

२०६० मा एमालेको संगठन विभाग प्रमुख भएका पोखरेल एमालेको ९औँ महाधिवेशनबाट महासचिवमा दोहोरिएका थिए। उनले आफू जहिले पनि संस्थापन पक्षमा रहने गरेको नेता भएको दाबी गर्दै आएका छन्। एमालेको टुटफुटमा जहिले पनि पोखरेल संस्थापनमै रहेको देखिन्छ। यद्यपि उनले गुट भने जहिले पनि अदलबदल गरिरहेका छन्। ८औँ महाधिवेशनमा झलनाथ खनालको प्यानलमा रहेका पोखरेल ९औँ महाधिवेशनमा भने ओली खेमामा पुगेपछि महासचिवमा दोहोरिएका थिए।

त्यसो त हाल एकीकृत समाजवादीका अध्यक्ष नेपालको चर्को विरोध गर्न पोखरेल कुनै बेला नेपालको दायाँ हात भनेर चिनिएका नेता हुन्। पोखरेलले क्याम्प फेरिरहे पनि नेतृत्वको सहयोगीमै भूमिकामा रहिरहने पुरानै बानीलाई १०औँ महाधिवेशनमा पनि निरन्तरता दिँदै छन्। ओलीकै सहयोगीका रूपमा रहेका पोखरेलले एमालेको नेतृत्व उमेर हदका कारण असम्भव भए पनि उनका लागि ओलीले ११औँ महाधिवेशनमा कस्तो व्यवस्था गर्छन् या पोखरेलले क्याम्प फेर्छन् भन्ने भने थाहा पाउन भने पर्खनै पर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell