कात्तिक महिनामा काँठ क्षेत्रमा भ्याइनभ्याई हुन्छ - धान भित्र्याउन। चाडबाडको माहोलकै बिच धान काट्ने, चुट्ने,ओसार्नेको मेला नै लाग्छ। काठमाडौंको पूर्वी भेगमा रहेको कागेश्वरी मनहरा नगरपालिकाको वडा नम्बर ५ मा रहेको खरानीटारमा यस्तै दृश्य देखियो। धान काट्ने र भित्र्याउने विषय सामान्य भए पनि जो यी काममा खटिएका थिए तिनलाई देख्नासाथ लाग्यो - उनीहरु स्थानीय होइनन्। मैले मोटरसाइकललाई विस्तारै साइड लगाएँ। अनि क्यामरा झुन्ड्याउँदै सोझिएँ धानखेततिर।
काममा तल्लिन हुनेहरुको संख्या पनि थोरै थिएन। मेरो अड्कल सही निस्कियो। धान भित्र्याउने मेलोमा व्यस्त भएकाहरु स्थानीय थिएनन्। उनीहरु तराई मुलका हुन् भन्ने ठम्याउन समय लागेन। काम गर्ने शैलीले त्यही बोलिरहेको थियो।
उनीहरुको कुराकानीले त्यसलाई पुष्टि पनि गरिरहेको थियो। कोही धान ओसार्दै थिए त कोही काट्दै। अनि कोही खुट्टाको चालमा फनफनी घुम्ने मेसिनमा धानका बालालाई झुलाइरहेका थिए।
काठमाडौंका लागि नयाँ होइन रहेछ, धान चुट्ने यस्तो मेसिन। मेरो भने पहिलो पटकको साक्षात्कार थियो।
म अचम्मित।
'अरे यार यस्तो पनि हुने रे'छ,' अनायसै बोलेछु म।
काट्नेबित्तिकै धान झार्नु मेरो लागि नौलो थियो त्यो पनि खुट्टाले चलाउने मेसिनले। यो मेसिनलाई 'प्याडर थ्रेसर' भन्दा रहेछन्। २० देखि २५ हजारमा किन्न पाइँदो पनि रहेछ।
हाम्रो तनहुँतिर त धान काटेर ३/४ दिन सुकाएर मुठा बाँध्ने अनि झाट्ने चलन। यता त्यस्तो चलन छैन?
'नही।'
जवाफ मिल्यो।
उत्तरसँगै मैले स्थानीय कोही छन् कि भनेर नजर घुमाएँ। अहँ, कोही देखिएनन्।
फेरि प्रश्न गरेँ - 'तपाईँहरु मध्ये खेत त चाहिँ कस्को नि? धान त मजाले फलेको रै'छ।'
'हमारा नही हैं,' जवाफ आयो, 'हम तो इधर काम करने की लिए आए हैं।'
अनि खेत धनी नि?
'घर पे ही होंगे। कभी कभी आतेँ है।'
मेरो प्रश्न रोकिएको थिएन।
'तपाईँहरु कति जना हुनुहुन्छ? कतादेखि आउनु भएको हो त?'
'हम त्यो जनकपुर से आए हैं। हमारे साथ ३० लोग हैं।'
+++
राकेश माझी १६ वर्षको उमेरमा पहिले पटक यसैगरी कामको सिलसिलामा काठमाडौं आएका थिए। उनलाई ठेकेदार बब्लुले ल्याएका थिए। पहिलो पटक चिसो मौसममा धान काट्ने र थन्क्याउने काम त्यसै वर्ष गरेका थिए उनले। त्यसपछि लगातार दुई वर्ष यसैगरी बब्लुसँग काठमाडौं आउने, एक महिना काम गर्ने र केही आम्दानी गरेर घर फर्किने क्रम चल्यो।
पहिलो पटक काठमाडौं आएर काम गर्दा दिनको ज्याला मिल्थ्यो ६ सयदेखि ८ सय रुपैयाँसम्म। ठीक त्यतिखेर तराईका खेतमा यसैगरी काम गर्दा ३ सयदेखि ४ सय रुपैयाँ हात लाग्ने गर्थ्यो।
राकेशको धान कटाइमा त्यतिखेरदेखि ब्रेक लाग्यो जतिखेर उनले मलेसिया जाने निधो गरे। कामका लागि ६ वर्ष विदेसिए उनी। मलेसियाको बसाई टुङ्ग्याउँदै फेरि उनी नेपाल फर्किए। घर परिवार कृषिसँगै जोडिएकाले उनी पनि खेतमै काम गर्न थाले।
मधेशबाट धान काट्ने समूहलाई लिएर आएका राकेशआफ्नो कमाई देखाउँदै (बिचमा)
यसपाला तराईँमा धान काट्ने काम सकिएसँगै काठमाडौं जाने कुरा चल्न थाल्यो। उनका कतिपय साथी पहिलो पटक धान काट्ने मेलो समात्न काठमाडौं जाने तयारीमा थिए। अर्थात् काठमाडौंलाई नचिनेका उनीहरु जोसिँदै थिए। काठमाडौंलाई राम्ररी चिनिसकेका थिए राकेशले। त्यसैले अब ठेकेदार कुरेनन् र आफ्नै नेतृत्वमा कामदार लिएर काठमाडौं जाने निर्णय गरे। सबै मिलाउँदा ३० जनाको समूह भयो। एक जना खाना पकाउने मानिससँगै गाँसबासको जोहो गरे। भाडावर्तन, ओड्ने ओछ्याउने, धान काट्न चाहिने औजार सबै तयार पारे। ३ वटा खुट्टाले चलाउने मेसिन ठीक पारे।
ठेकेदार बब्लुसँग पहिलो पटक काठमाडौंका खेतका गह्रामा धान काट्न पुगेका राकेश यसपटक आफैँ ठेकेदार बनेर यहाँ आइरहँदा २५ वर्षका भइसकेका थिए। सर्लाहीको बसबारियाका हुन् राकेश।
रात्रि बस चढेर असोज ५ गते काठमाडौं उत्रियो उनको टोली। बसबाट ओर्लिँदासाथ उनीहरुको समूह थलीतिर लाग्यो। पहिले काम गर्न जाँदा थलीमा उनको डेरा थियो। त्यसैले उनका लागि सहज थियो यो ठाउँ।
+++
यसपाला उनले धान फाँटको नजिक डेरा जमाएका छन्। एक महिने डेराका लागि उनले २० हजार रुपैयाँ तिर्नपर्ने भयो। त्यही डेरामा पाक्छ ३० जनाका लागि खाना। एक जना भान्सेले सबैका लागि खानाको जोहो गर्छन् पकाउँछन् र खुवाउँछन्। बाँकी सबै धानको खलोमा।
डेरा जमाएसँगै कामको खोजी सुरु भयो राकेशको। स्थानीय बासिन्दाको सहयोगमा काम सुरु गरे। पहिलो पटक हो काम पाउन कठिन। जब धान काट्ने मेलो चल्न थाल्छ, मानिसहरु उनीहरुलाई खोज्दै आउनेक्रम बढ्न थाल्छ। यसपाला पनि त्यसै भयो।
मधेशबाट कागेश्वरीमा धान काट्न आएकाहरु भाडाको घरमा खानाको जोहो गर्दै।
धान काट्ने यस्तो शैली हेरिरहँदा राकेशलाई फोन आइरहेको थियो। धान काट्ने मिति तय गर्नका लागि कल आएको रहेछ।
'कामको फोन यति आउँछ कि एकदिन एकछिन फुर्सद हुन्न,' राकेशले सुनाए। यहाँ आएलगत्तै उनीहरुको दैनिक फेरियो।
बिहानै उठ्ने, तयार हुने र तोकिएको जिम्मेवारी सम्हाल्ने। राकेशले अघिल्लो दिन नै खेतधनी सँग कुरा गरिसकेका हुन्छन्। बिहानै त्यहीँ कामको बाँडफाँड हुन्छ। कुन खेतमा कति जना कामदार आवश्यक पर्छ त्यति जना त्यही ठाउँमा जाने। बाँकी अर्को ठाउँमा त्यसरी नै।
एक दिनमा खलो हेरेर ३ देखि ४ ठाउँमा बाँडिएर काम गर्छन् उनीहरु। कुनै कुनै खलो ठूलो रहेछ भने सबैजना एकै ठाउँमा पनि हुन सक्दा रहेछन्।
+++
यतिखेर दैनिक ९ सयदेखि १ हजार रुपैयाँ रहेछ उनीहरुको दैनिक ज्याला। काठमाडौंमा रहेका कामदारहरुले यही दरमा काम नगर्ने भएकाले मधेशबाट एक महिने कामका लागि आउन चाहनेका लागि अवसर मिल्ने रहेछ। यहाँ उपस्थित सबैको ज्याला समान हुने रहेछ।
राकेशको भागमा चाहिँ हरेक कामदारबाट दैनिक ५० रुपैयाँ कमिसन। स्थानीयसँग सम्पर्क कायम गर्नु, कामदार परिचालन गर्ने जिम्मेवारी उनको पोल्टोमा।
खान बस्न सबै खर्च कटाएर लगभग एक जना ले ७ सय रुपैयाँ जोगिँदो रहेछ उनीहरुको। कुनै दिन एकतिरको काम सकेर अर्कोतिर काम भ्यायो भने आम्दानी पनि थपिने। कुनै दिन एकै जनाले ३ हजार रुपैयाँसम्म पनि कमाउन सक्ने राकेशले सुनाए। तर, त्यस्तो सधैं किन हुन्थ्यो र?
एक अर्को खलोमा भेटिए प्रदीप अधिकारी। उनी खेतका धनी। आलीमा बसेर धान काटेको हेरिरहेका थिए उनी।
'बडो गजबले काम गर्छन केटाहरुले। हामी त यस्तै बेलाबेलामा आउने हो,' उनीहरुको कामबारे प्रदीपले सुनाए, 'यसो पानी खाजा सोध्नेमात्र हो। एकचोटि जिम्मा लगाइदिने, देखाइदिए पुग्छ। आफू खेतमा नआउँदा पनि धान घरमै आइपुग्छ।'
काँठमा कामदार पाउन कठिन हुँदै गर्दा मधेशबाट अस्थायी रुपमा धान भित्र्याउन आउनेहरुले धेरै सजिलो भएको छ। नत्र काम गर्ने मान्छे कहाँबाट पाउनु? मेलापातको संस्कार काँठले गुमाइसक्यो। कामदार पाउने आधार छैन। खेती छाड्ने र प्लटिङले जमिन पनि सकिँदै गइरहेको छ। यस्तोमा मधेशबाट मानिसहरु यसरी नआउने हो भने अन्न भित्रने सम्भावना न्युन भइसकेको रहेछ यतातिर।
+++
दिनभरि विभिन्न ठाउँमा बाँडिएर काम गर्ने सबैजना साँझ भने एउटै गुँडमा पुग्छन्। उनीहरु पुग्दा खाना तयार भइसकेको हुन्छ।
पेट भरेपछि उनीहरु कमाइ बाडफाड गर्छन्। एक महिनामा २५ देखि ३० हजार रुपैयाँको आम्दानी हुन्छ हरेक कामदारको। अर्को वर्ष फेरि त्यसरी नै काममा फर्किने बाचा गर्दै उनीहरु गाउँ फर्किन्छन्।
काठमाडौं आउने काम गर्ने, थोरबहुत बचत गर्ने अनि पशुपतिनाथको दर्शन गरेर गाउँ फर्कने।