PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

'क्विन' कंगनाको 'मोदी भक्त' सफर



पहिलोपोस्ट

'क्विन' कंगनाको 'मोदी भक्त' सफर
Photo : Getty Images / The Independent

'त्यो बेला भिख मागेर स्वतन्त्रता पाएको, वास्तविक स्वतन्त्रता त २०१४ पछि आएको हो।'

बलिउड अभिनेत्री कंगना रनौतले जब एक कार्यक्रममा भारतको स्वतन्त्रता आन्दोलनमाथि नै प्रश्न उठाइन् उनलाई फेरि 'मोदी भक्त' को ट्याग लागेको छ।

नरेन्द्र मोदी सरकारको 'फेभरेट' भनेर चिनिने रनौतलाई केहीदिन अघिमात्रै पद्मश्रीबाट सम्मानित गरिएको थियो। त्यसलगत्तै उनी विवादमा फसेकी हुन्। कारण – प्रधानमन्त्री मोदीकै प्रशंसा।

कंगनाले अंग्रेजबाट सन् १९४७ मा भारत स्वतन्त्र हुनुलाई 'भिख मागेको' भन्दै मोदी सन् २०१४ मा सत्तामा आएपछि मात्रै भारत स्वतन्त्र भएको अभिव्यक्ति दिएकी हुन्। कंगनाले यसो भन्नुको सिधा अर्थ हो - मोदी बिना भारत स्वतन्त्र कहिलै भएन। उनको यही अभिव्यक्तिको अहिले आलोचना भइरहेको छ।

विवादास्पद अभिव्यक्तिका कारण ट्वीटरको प्रयोग गर्न बाटै 'सस्पेन्ड' भएकी कंगनालाई त्यहीँ ट्वीटरमा धेरैले निशाना बनाइरहेका छन् अहिले। मोदी सरकारको शक्तिको आडमा 'वाइ प्लस' सुरक्षा पाएको देखि बलिउडविरुद्ध लागेको आरोप पनि ताजै छ। रिया चक्रवर्तीविरुद्ध माहोल सिर्जना गर्नेदेखि आर्यन खानको मुद्दामा समेत उनी केन्द्र सरकारको बचाउमा देखिइन्। 

कंगनाको '२०१४ पछि स्वतन्त्रता आएको' अभिव्यक्तिको भारतीय राष्ट्रिय कांग्रेस लगायतका राजनीतिक दलले विरोध गरिरहेका छन्। तर, मोदीकै भरमा चलेको भारतीय जनता पार्टी (भाजपा)का नेताहरु कंगनाको अभिव्यक्तिको विरोधमा छैनन्। धेरैको एउटै राय छ : कंगनाले जे बोलिन् ठिक बोलिन्।

यसअघि पनि कंगनाले विवादास्पद अभिव्यक्ति दिँदा भाजपाले 'मौन समर्थन' जनाउँदै आएको थियो।

तर, यसपटक भने कंगनालाई भाजपाबाटै 'ब्याकफायर' भएको छ। त्यो पनि भाजपामा रहेको गान्धी/नेहरु परिवारबाट।

महात्मा गान्धी, जसले भारतको स्वतन्त्रता आन्दोलनको नेतृत्व गरेका थिए। उनकै इतिहासमाथि प्रश्न उठाएपछि तिनै गान्धी/नेहरुको वंशज भाजपा सांसद वरुण गान्धी आक्रोशित बनेका हुन्।

वरुणले ट्वीट गर्दै कंगनाले महात्मा गान्धीको बलिदान र तपस्याको नै अपमान गरेको उल्लेख गरेका छन्।

‘कहिले महात्मा गान्धीको बलिदान र तपस्याको अपमान, कहिले उनका हत्यारालाई सम्मान र अहिले शहीद मंगल पाण्डेदेखि रानी लक्ष्मीबाई, भगत सिंह, चन्द्रशेखर आजाद, नेताजी सुभाष चन्द्र साब र लाखौं स्वतन्त्रता लडाकुहरूको बलिदानको अपमान। यो सोचलाई पागलपन भन्नु पर्छ कि देशद्रोही?' उनले लेखेका छन्।

उसो त भाजपा र स्वयम् मोदीमाथि नै गान्धी विरोधी ट्याग लाग्ने गरेको छ। गान्धीका हत्‍यारा नाथुराम गोड्सेलाई भाजपाले पुज्ने गरेको आरोप भर्खरै कम्युनिष्ट पार्टीबाट कांग्रेस प्रवेश गरेका युवा नेता कन्हैया कुमारले लगाउँदै आएका छन्।

मोदी र भाजपाले झै कंगनाले पनि पटकपटक गान्धी परिवारमाथि निशाना लगाउँदै आएकी छिन्। अहिले भाजपाबाटै विरोध उठेपछि पनि उनी आफ्नो आलोचनामा अडिग छिन्।  

वरुण गान्धीको ट्विटमाथि कंगनाले इन्स्टाग्राममा स्टोरीमा जवाफ समेत दिएकी छिन्।

इन्स्टाग्राममै कंगनाले सन् १८५७ मा स्वतन्त्रताको पहिलो लडाइँ भएको र त्यसपछि अंग्रेजले भारतलाई थप दबाएको इतिहास नामेत पारेको भन्दै पछि गान्धीले भिक मागेर स्वतन्त्रता ल्याएको दोहोर्याएकी छिन्।

'गान्धीले भिख मागेर ल्याएको स्वतन्त्रता स्वतन्त्रता होइन' कंगनाले भनेकी छिन्।

कंगनाको यस्तै भड्काउ अभिव्यक्तिको तिब्र आलोचना भइरहेको छ। महाराष्ट्रका मन्त्री नवाब मलिकले कंगनाले 'लागू औषध खाएकोले यस्तो बोलेको होला' भनेर टिप्पणी गरेका छन्। यस्तै, भारतीय ट्विटर प्रयोगकर्ताहरु कंगनाको विरुद्धमा भड्किरहेका छन्। धेरैले कंगनाको मानसिक सन्तुलन ठिक नभएको भन्दै उनको पद्मश्री फिर्ता लिनुपर्ने माग गरिरहेका छन्।

कंगनालाई धेरैले भाजपा र मोदीको प्रचारकको रुपमा व्याख्या गरेका छन्। मोदी सरकारको समयमा भएको किसान आन्दोलनदेखि कश्मीरमा भएको हिंसामा समेत कंगना मोदीकै समर्थनमा देखिइन्।

आलोचना बढ्दै जाँदा कंगना रनौतविरुद्ध आम आदमी पार्टीकी एक नेतृले उजुरी हालेकी छिन्। कंगनाले भारतको स्वतन्त्रतालाई भिखको संज्ञा दिनु 'देशद्रोही अभिव्यक्ति हो' भन्दै आम आदमी पार्टीकी कार्यकारिणी सदस्य प्रिती शर्माले मुम्बई प्रहरीमा उजुरी हालेकी हुन्।

कंगना जे बोल्छिन् त्यो मोदी र भाजपाको समर्थनमा बोल्छिन्। उदाहरण हो – मुम्बई।

केही समय अघि मात्रै कंगनाले मुम्बईलाई पाकिस्तान प्रशासित कश्मीरसँग तुलना गरेकी थिइन्। शिवसेना नेतृत्वको सरकारलाई निशाना बनाउँदै उनले मुम्बई पाकिस्तान प्रशासित कश्मीर भन्दा कम नभएको बताएकी थिइन्। जसको विरोधमा शिव सैनिकहरुले कयौं दिन प्रदर्शन गरेका थिए।  

शिव सेनासँग कंगनाको भिडन्त नौलो भने होइन। 'मराठी' भाषी बाहुल्य महाराष्ट्रको विरोधमा बोलिरहने कंगनाविरुद्ध शिव सेना नेतृत्वको बिएमसीले कडा कदम चालेको थियो। बिएमसीले कंगनाको कार्यालयमा डोजर चलाएर उनलाई 'ठाउँमा बस्न' भनेको थियो। त्यसपछि नै हो मोदी सरकारले सुरक्षाको जोखिम भन्दै कंगनालाई 'वाइ प्लस' सुरक्षा दिएको।

कंगनाको आक्रमण मुम्बईमा मात्रै सीमित छैन। भाजपाको शासन नरहेको धेरै प्रदेशमा हुने गतिविधिमाथि उनको टिप्पणी विवादास्पद हुँदै आएको छ। केही समयअघि पश्चिम बंगालमा भएको चुनावी हिंसामाथि पनि कंगनाले ट्वीटले बबाल मचाएको थियो। फलस्वरुप ट्वीटरले हिंसात्मक ट्विट गरेको भनि उनको अकाउन्ट  सधैँको लागि सस्पेन्ड गरेको थियो।

ट्वीटरमा बलिउड र मोदी विरोधीको आलोचना गरेर चर्चामा आएकी कंगना अहिले त्यही ट्वीटरलाई 'अराष्ट्रिय र भारत विरोधी' भन्दैछिन्।

कंगनाको अभिनय जति बलियो छ त्यती नै बलियो अन्दाजमा सामाजिक संजालमा उनी प्रस्तुत हुँदा धेरै लामो समय उनको प्रशंसकहरुको संख्या बढ्दै गएको थियो। खासगरी बलिउडमा भएको 'नेपोटिजम' को प्रसंग उठाएर उनले धेरै कलाकार र दर्शकको साथ जितिन्। बलिउड माफियाहरुको जालोमा फसेको भन्दै उनले त्यहाँ आफूलाई सफल बनाउन एक्लै अघि बढिन्। हिरो बिना पनि फिल्म चल्न सक्छ भनेर उनले स्थापति गरिन्। नयाँ कलाकारका लागि उनले बलिउडमा नयाँ बहस सिर्जना गरिन्। जसलाई निकै सकारात्मक रुपमा लिइएको थियो। त्यसैले उनलाई 'क्विन कंगना' समेत भनियो।

तर, जब कंगनाले बलिउडको अति आलोचना गर्दै गइन् उनको प्रशंसक घट्दै जान थाल्यो। 'सबै कुरामा बाठो पल्‍टिने गरेको' भन्दै कंगनाकै आलोचना हुन थाल्यो। बहिनी रंगोलीको विवादास्पद टिप्पणी पनि कंगनाको विरुद्ध प्रयोग भयो। र, जब कंगना मोदी समर्थकका रुपमा खुलेर उदाइन तब बलिउड देखि जनस्तरसम्म कंगनाको छवि धुमलिँदै गयो।

तर, जति आलोचना भएपनि कंगना भने डराएकी छैनन्। उनी बलिउडप्रति निशाना साध्दैछिन्। मोदी आलोचकलाई चुप लगाउन छाडेकी छैनन्। हिन्दुत्व र असल हिन्दुस्तानीको उदाहरण दिन छाडेकी छैनन्। र, फिल्ममा पनि सशक्त र दमदार अभिनय दिन छाडेकी छैनन्।

आलोचना र प्रशंसाबिच उनी भन्दैछिन् : म एक सच्चा देशभक्त हुँ। म कुनै पनि पार्टीको पक्षमा खडा छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell