काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई मदिरा नखान सुझाव दिएका छन्। पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले मदिरा खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरुलाई आग्रह गरेका हुन्।
मदिरा सेवनले स्वास्थ्य बिगार्नुका साथै घरमा कलह समेत हुने भन्दै नेपालले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताएका हुन्।
‘तपाईहरुमा पनि साँझ पर्ने बित्तिकै पाँचतारे होटल धाईधाईकन नखाईकन निन्द्र नलाग्ने अवस्था पक्कै पनि छैन होला। यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिन' उनले भने, 'जाडरक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला। बिहान उठने बित्तिकै एक प्याक ल्याउ भन्नेहरु हुन्छन। त्यो हो भने ठिक हुँदैन। खाँदै नखानुस् पहिलो कुरा।'
अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरुलाई आग्रह गरेका छन्।
त्यसक्रममा उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे। त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनु परेको अध्यक्ष नेपालको भनाई थियो।