PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

देउवालाई कांग्रेस डडेलधुराका सभापतिको चेतावनी : पुन: अधिवेशन होस् नभए सानेपामा अनसन बस्छौं



पहिलोपोस्ट

देउवालाई कांग्रेस डडेलधुराका सभापतिको चेतावनी : पुन: अधिवेशन होस् नभए सानेपामा अनसन बस्छौं

काठमाडौं : नेपाली कांग्रेस डडेलधुराका सभापति कणर्बहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सम्बोधन नभए मंसीर १ गतेदेखि पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसन र धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी उनले पार्टीको केन्द्रिय कार्य समितिले आफूहरुको माग सम्बोधन नगरे पार्टी केन्द्रिय कार्यालयमै धर्ना र अनसनमा बस्न बाध्य हुने चेतावनी दिएका हुन्।

उनले पार्टी जिल्ला कार्य समितिले अधिवेशन स्थगन गर्न लिखित रुपमै प्रधानमन्त्री एवम् पार्टीका केन्द्रिय सभापति शेरबहादुर देउवा र केन्द्रिय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभएको बताए। सत्ता र शक्तिको दूरुपयोग गरेर वडा अधिवेशन र पालिका अधिवेशन गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे।

‘अवैधानिक ढंगले भएका वडा र पालिका अधिवेशनहरु खारेज हुनुपर्छ। नयाँ अधिवेशनको मिति तय हुनुपर्छ। ११ दिनसम्म नेपाली कांग्रेसको कार्यालय डडेलधुरामा सिंगो पार्टी अनसन बस्यो तर हाम्रो माग कहीँकतै सुनुवाई भएन' उनले भने, 'अब पनि हाम्रो मागलाई सम्बोधन नभए मंसीर १ गतेदेखि नेपाली काँग्रेस केन्द्रिय कार्यालय सानेपामा धर्ना र अनसनका कार्यक्रमहरु अगाडि बढाउनेछौं।'

सभापति मल्लले केन्द्रिय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई समेत नगरेको भन्दै आपत्ति जनाए। उहाँले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका अधिवेशनहरु हुने तर डडेलधुरामा किन नहुने भन्दै पार्टीका केन्द्रिय सभापति देउवा र केन्द्रिय निर्वाचन समितिलाई प्रश्न समेत गरेका छन्। सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने अडान समेत दोहोर्‍याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell