काठमाडौं : टेकुस्थित कौसी थिएटरमा पचली भैरवसम्बन्धी सांस्कृतिक नाटक मञ्चन हुँदैछ। कात्तिक २५ सुरु भएको नाटक मञ्चन मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ।
दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी देवगणहरुको नृत्य प्रदर्शन हुन्छ। हरेक वर्ष हुने यी जात्राको पछाडिको कथा चाहिँ के छ?
रंगमञ्चमार्फत् बज्रकला कुञ्जले यही कथालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। चन्द्रमान मुनिकारले संकलन गरेको कथाको निर्देशन पनि उनैले गरेका छन्। कथाको नाट्य रुपान्तरण र सह-निर्देशन इँगिहोपो कोंइच सुनुवारले गरेका छन्। नाटकको सम्पूर्ण व्यवस्थापन सुदन मुनिकारले गरिरहेका छन्। सुदन नै नाटकमा पचली भैरवको अवतारमा देखिँदैछन्।
कथाले पचली भैरवको कथा भन्ने भए पनि यसमा महिलाले समाजमा भोग्नुपर्ने पीडालाई दर्साउन खोजिएको छ। पचली भैरवको दरबारबाट निस्किएपछि रुक्मिणीले बाटोमा भोग्ने पीडा र अन्तमा पाउने सिद्धीकै वरिपरि नाटक तयार गरिएको छ।
कथा पचली भैरवको
पहिलो किराँत राजाका रुपमा मानिँदै आएका यलम्बरलाई आकाश भैरवका रुपमा नेवार समुदायले पुज्दै आएको छ। टेकुस्थित पचली भैरवलाई भने किराँत वंशको दोस्रो राजा पलम्बरका रुपमा समेत लिइन्छ। कसैले पलम्बरलाई तेस्रो राजा पनि भन्ने गर्छन्। नाटक त्यही पलम्बर अर्थात् पचली भैरवमाथि हो।
यलम्बर जत्तिकै तन्त्र साधना र शक्ति भएका राजा थिए पलम्बर पनि। फर्पिङसँगै भोत (बनेपा)का राजा रहेका उनी एकै दिनमा काशीमा गएर स्नान गरेर फर्पिङमा आएर राज गर्थे भनिन्छ। दिनभर राज गरेर थकान मेटाउन उनी वाग्मती नदी किनारमा रहेको पंचलिंगेश्वर क्षेत्र (पाँचवटा लिंग आफै उत्पत्ति भएको ठाउँ, हाल पचली)मा आराम गर्न आउँथे। ध्यान र तन्त्र साधना गर्थे मनुष्यको भेषमा। त्यहीँ घुम्दैगर्दा पचली भैरवको भेट त्यहाँकी एक राम्री युवतीसँग हुन्छ। ती युवतीको नाम हुन्छ रुक्मणी। पछि उनलाई नै नई अजिमाका रुपमा पूज्न थालियो।
उनीहरु बिच भेट हुन्छ। दुवैजना एक अर्काप्रति आकर्षित पनि हुन्छ्न्। माया बस्छ। तर, रुक्मणीलाई पचली भैरवको वास्तविक स्वरुप थाहा कहिलै भएन।
'तिमी को हौं' भनेर रुक्मिणीले पचली भैरवलाई बारम्बार सोध्थिन्। पचली भैरवले रुक्मिणीको प्रश्नलाई कुरैकुरामा टाल्दिन्थे। प्रेम सम्बन्ध प्रगाढ भएसँगै दुवै बिच शारीरीक सम्बन्ध हुन्छ। रुक्मिणी गर्भवती हुन्छिन्। बिहे नगरी पेटमा बच्चा भएपछि टोलभरी हल्ला हुन्छ। परिवारका सदस्यले पनि केटो को हो बुझ्न रुक्मिणीलाई दवाव दिन्छन्।
त्यसपछि रुक्मिणीले पचली भैरवलाई बोलाउँछिन्।
'म गर्भवती भइसकेँ। तिमी को हौ? आफ्नो वास्तविक रुप भन। नत्र म जान दिन्नँ,' रुक्मिणीले पचली भैरवलाई भन्छिन्। त्यसपछि पचली भैरव आफ्नो रुप देखाउन बाध्य हुन्छन्। तर, त्यसका लागि शर्त राख्छन् उनले।
'म मन्त्र फुकेर अक्षता दिन्छु। त्यसले मलाई हान। म आफ्नो रुपमा आउँछु। र, त्यसपछि फेरि मनुष्यको रुपमा फर्काउन मलाई त्यही अक्षताले हान्नुपर्छ,' पचली भैरवले रुक्मिणीलाई भन्छिन्।
रुक्मिणीले पचली भैरवले भने झैं अक्षताले हान्छिन्। पचली भैरव मानिसबाट आफ्नो असली रुपमा आउँछन्। रुक्मिणी उनको असली रुप देखेर केही बेर अचेत नै हुन्छिन् र पछि डराएर भाग्छिन्। त्यही भागदौडमा अक्षता पनि हराउँछ। भैरव रुक्मिणी खोज्दै हिँड्छन् - आफ्नो मानिस रुपमा फर्किन।
रात बित्दै जान्छ। बिहान सूर्योदयको समय नजिकिएको हुन्छ। पचली भैरवलाई मनुष्यको रुपमा आउन अक्षता चाहिएको हुन्छ। तर, उनले कतै पनि अक्षता भेटाउँदैनन्। उनी अक्षता खोज्दै जाँदा पचली पीठ क्षेत्रमा पुग्छन्। घाम लाग्नै लाग्दा लुक्ने ठाउँ खोज्छन् उनी। तर, भेट्टाउँदैनन्। त्यहाँ उनले मान्द्रो देख्छन्। त्यही ओड्छन्। मान्द्रोले पचली भैरवको शरीरको सबै भाग छेकिए पनि पिठ्युँ छोपिन्न। घाम लागेपछि पिठ्युँ पत्थर बन्छ। पचली भैरव सिद्ध हुन्छन्। मानिसहरु पचली भैरव हेर्न र पूजा गर्न पुग्छन्। हाल पिठ्युको त्यही भाग पचलीमा देख्न सकिन्छ।
पचली भैरव त सिद्ध हुन्छन् तर रुक्मिणीको के हुन्छ?
पचली भैरवबाट गर्भवती भएकी रुक्मिणीले बच्चा पाउँछिन्। समाजले उनलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ। बिना बुवाको छोरा भनेर बच्चालाई सुनाउँछन्। छोराले आफ्नी आमालाई आफूले भोग्नु परेको पीडा र तिरस्कार बारे सुनाउँछन्।
छोराको कुरा सुनेर दु:खी हुन्छिन्, रुक्मिणी। त्यसपछि पचली भैरवलाई आह्वान गर्ने निर्णयमा पुग्छिन्। रुक्मिणीको आह्वान सुनेर पचली भैरव आउँछन्। छोरा आफ्नो बुवा देखेर खुशी हुन्छन् र मुसुक्क हाँस्छन्। त्यसैले रुक्मिणी र पचली भैरवको छोरालाई मुस्का गणेशका रुपमा पहिमह्रका दिन जात्रा समेत गरिन्छ।
लामो समयपछि रुक्मिणीले पचली भैरवलाई भेटेकी हुन्छिन्। समाजबाट पीडा भोगेकी उनले पचली भैरवलाई आफू र छोरालाई उनीसँगै लैजान अनुरोध गर्छिन्। पचली भैरवले उनको आग्रह स्वीकार्छन्।
रुक्मिणी र छोरा दरबार पुग्छन्। तर, समाजको विभेद र कुरा काट्ने प्रवृत्ति रोकिँदैन। अन्तत: दरबार छाड्ने निर्णय गरेर उनी गन्तव्यहीन यात्रामा निस्किन्छिन्।
कौसी थिएटरमा चलिरहेको नाटक यही कथाको सेरोफेरोमा प्रदर्शन भइरहेको छ।