काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको भूमिका बढिरहेको बताएका छन्। शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेको साख दिनप्रतिदिन घटिरहेको पनि बताएका छन्। संघ र प्रदेशमा आफ्नो पार्टीले यथोचित रुपमा सरकारको नेतृत्व गरेको समेत बताएका छन्।
पार्टी प्रचार विभागले जारी गरेको वक्तव्य अनुसार नेपालले एमाले अध्यक्ष ओलीले जबजको मान्यतालाई कुल्चने, गुटवाद, व्यक्तिवाद, र सर्वसत्तावादलाई प्रोत्साहन दिएकाले विद्रोह गर्नुपरेको पनि बताएका छन्।
नेपालले हालको निर्वाचन प्रणाली खर्चिलो भएकाले परिवर्तनको विषय उठाउनुपर्ने बताए। निर्वाचन प्रणाली फेरिए भ्रष्टाचारको मुहान बन्द हुने पनि नेपालको भनाई छ। उनले पार्टी र जनसंगठनलाई कम खर्चिलो बनाउन र पदप्रतिको आशक्ति घटाउन पनि नेताहरुलाई आग्रह गरे।
अध्यक्ष नेपालले पार्टीको आर्थिक भार व्यवस्थापनको नयाँ प्रस्ताव पनि गरेका छन्। पार्टीका विचार र समाजिक जागरणका भनाईलाई स्टिकर छापेर बिक्री गर्ने प्रस्ताव गरेका छन्।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले जनसम्पर्क विस्तार र अर्थ संकलन अभियानमा पनि विशेष ध्यान दिनुपर्छ। स्रोत व्यवस्थापनका लागि जनतासँग भर पर्नुपर्छ। जनताको घरदैलोमा जानुपर्छ। पार्टीका विचार र सामाजिक जागरणका भनाइहरु प्रचार-प्रसार गर्ने गरी स्टिकर तयार पार्ने र त्यसको विक्री वितरण समेत गरेर आर्थिक व्यवस्थापनमा लाग्ने प्रस्ताव गर्दछु।’
बैठकमा सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष ओलीले पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटक-पटक लत्याएकाले विद्रोह गर्नुपरेको बताए। ओलीले पार्टीलाई विधिअनुसार नचलाएको पनि खनालले आरोप लगाए।
यस्तै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले सरकार निर्माणमा कठिनाइ भएकोबारे बैठकलाई जानकारी गराए। नमूनायोग्य तरिकाले सरकार सञ्चालन गर्ने पनि उनले जनाए।
यस्तै, वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारका योजना बैठकमा सुनाए। पाण्डेले वाग्मतीका सबै छात्रालाई सरकारले पढाउने बताए। यस्तै, बेरोजगारलाई स्वरोजगारमूलक तालिम दिने पनि उनले बताए।