PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

१२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिन सुरु, अस्पतालको रिपोर्ट अनिवार्य

१२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिन सुरु, अस्पतालको रिपोर्ट अनिवार्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सरकारले आइवारदेखि १२ वर्ष माथिका दीर्घरोगी नागरिकका लागि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु गरेको छ। कार्तिक २८ गते देखि मंसिर ४ सम्म यो उमेर समूहका तथा दीर्घ रोगीलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु गरिएको हो।

अमेरिकी कोभिड-१९ विरुद्धको खोप फाइजर-वायोएनटेक खोप देशभरका २४ अस्पतालबाट दिइँदैछ। खोप लगाउन काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा बिहानै देखि नागरिकहरु पुगेका छन्।

सरकारले फाइजर खोप मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका, मिर्गौला प्रत्यारोपन गराएका, डायलाइसिस गराइरहेका वा औषधी सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका व्यक्तिलाई लक्षित समूहमा राखेको छ। त्यस्तै फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका तथा मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका व्यक्तिहरु पनि फाइजर-वायोएनटेक खोप पाउने लक्षित समूहमा राखिएको छ।

यो खोप माथि उल्लेखित दीर्घ रोग भएका १२ वर्ष भन्दा माथिका जनसंख्यालाई दुई मात्रा दिइनेछ। खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ। खोप लगाउनका लागि अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य देखाउनुपर्नेसमेत मन्त्रालयले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell