PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

जबरालाई प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन भन्दै बार अध्यक्षले भने : राजीनामा नदिए पदच्युत गर्छौं



पहिलोपोस्ट

जबरालाई प्रधानन्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन भन्दै बार अध्यक्षले भने : राजीनामा नदिए पदच्युत गर्छौं

काठमाडौं : नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्यता रहेको बताएका छन्। आइतबार नेपाल बार एशोसिएशनको भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई पदच्युत गर्नुपर्ने अपरिहार्य अवस्थामा पुगेको बताएका हुन्।

जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको र राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने उनले बताए।

'हामीहरु आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ। न्यायपालिकाको बाधक चोलेन्द्र शमसेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ। त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ। राजीनामा मात्रै होइन अब त पदच्युत पनि गर्नुपर्ने अपरिहार्य अवस्थामा हामी पुगेका छौँ,' उनले भने, 'जबरा जबसम्म पदच्युत हुँदैन, अरु सुधारको कार्यक्रम गर्न सकिदैँन। जसले न्यायमा विचलन ल्याएको छ, जसले न्याय प्रशासनलाई बरबाद गरेको छ। जसले यो देशलाई बर्बाद गर्न खोजिराखेको छ, त्यस्तो व्यक्तिहरु न्यायपालिकामा रहन सक्दैन। कुनैपनि हालतमा राख्न सक्दैनौँ।'

बारले आइतबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको थियो। प्रधानन्यायाधीश जबरालाई सर्वोच्च परिसर भित्र प्रवेश गर्न नदिने भन्दै अधिवक्ताहरुले मूल गेट भित्रै बसेर नाराबाजी गरेका थिए। धर्नाको क्रममा कानुन व्यवसायीहरुले ‘भ्रष्टाचारी प्रधानन्यायाधीश राजीनामा दे, बार एकता जिन्दावाद, हाम्रो आन्दोलन जारी छ’ लगायतका नाराबाजी समेत गरिएको थियो। शुक्रवार पनि बारले जबरालाई सर्वोच्च प्रवेश गर्न नदिने भन्दै प्रदर्शन गरेको थियो। तर, दुवै दिन जबरा वैकल्पिक मार्ग प्रयोग गर्दै सर्वोच्च प्रवेश गरेका थिए।

अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायलयलाई किनबेचको बस्तु बनाएको आरोप लगाएका छन्। शान्तिपूणर् आन्दोलनलाई बिथोल्न बिचौलीयाहरु आएको भन्दै उहाँले बिचौलियाहरुको पनि सम्पति छानविन गरी जफत हुने चेतावनी दिए।

‘चोलेन्द्र शमशेर जबराले प्रधानन्यायाधीशको सिटमा बस्ने अधिकार छैन। उहाँले अधिकार गुमाइसक्नुभएको छ। उहाँको प्रवेश न्यायपालिकालाई थप भ्रष्ट बनाउने हुन्छ। जबराले न्यायालयलाई किनबेचको वस्तु बनाएको छ। विचौलियाहरु होस् गर्नुस्, तपाईहरुले विचौलिया भएर जे कमाउनुभएको छ, त्यो कमाइको धन पनि छानविन हुन्छ। तपाईहरुको सम्पति जफत हुने काम पनि सुरु हुँदै । छानविन हुँदैछ।’

बारले अब आफ्नो आन्दोलन सर्वोच्च केन्द्रित हुने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell