PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

ओलीले पनि गठबन्धन बनाउन लागेको एकीकृत समाजवादीको दाबी, अदालतको विवादबारे एउटै धारणा बनाउन माग



पहिलोपोस्ट

ओलीले पनि गठबन्धन बनाउन लागेको एकीकृत समाजवादीको दाबी, अदालतको विवादबारे एउटै धारणा बनाउन माग

काठमाडौं: नेकपा (एकीकृत समाजवादी) ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सत्ता गठबन्धनविरुद्ध मोर्चाबन्दी हुन लागेको भन्दै सत्ता घटक दलहरुलाई सचेत गराएको छ। ललितपुरको हेरिटेज गार्डेनमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले सत्ता गठबन्धनको काउण्टरमा अर्को गठबन्धन बन्न लागेको दाबी गरेको हो।

'दक्षिणपन्थी तथा पुनरुत्थानवादी सम्भावित गठबन्धनप्रति सचेत रहँदै लोकतन्त्र, देश र संविधानको पक्षमा दृढतापूर्वक उभिने वाम लोकतान्त्रिक गठबन्धनलाई अझ कसिलो बनाउन समस्त वाम लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलाई हार्दिक आह्वान गरिएको छ,' पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने।

विभिन्न राजनीतिक दलहरुसँग एकताका लागि वार्ता भइरहेको खतिवडाले बताए। 

'राजनीतिक समूह र व्यक्तिहरुसँग वार्ता अहिले पनि जारी छ। वार्ता सकारात्मक मोडमा अगाडि बढीरहेको छ,' खतिवडाले भने।

अदालतको विवादबारे एकीकृत धारणा बनाउन माग

सत्ता गठबन्धनलाई प्रभावकारी ढंगले सञ्चालन गर्न उच्चस्तरिय राजनीतिक समन्वय समिति गठनको निर्णयप्रति समाजवादीले खुसी व्यक्त गरेको छ। बैठकले गठबन्धनलाई सशक्त रुपमा क्रियाशील गराउन निरन्तर पहलकदमी गर्ने बताएको छ। सर्वोच्च अदालतमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिनुका साथै संविधानविरुद्ध हुन पुगेको समाजावदीले बताएको छ।

'आज न्यायालयमा देखिएको समस्याले यो सिद्धान्त खलबलिने स्थितिमा पुगेको छ,' बैठकको निर्णयमा भनिएको छ।

एकीकृत समाजवादीले न्यायिक सर्वोच्चता र स्वतन्त्र न्यायपालिकाको अवधारणामा संकट पैदा भएको बताएको हो। समस्या समाधानका लागि एकीकृत धारणा बनाउनुपर्ने समाजवादीको प्रस्ताव छ।

'संकट समाधानको लागि राजनीतिक दलहरु, न्याय क्षेत्रका सरोकारवाला पक्षहरुबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ,' वैठकले गरेको निर्णयमा भनिएको छ।

पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा गरिएको मूल्यबृद्धिको एकीकृत समाजवादीले विरोध गर्दै तत्काल समायोजन गर्न अपिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell