PahiloPost

Apr 9, 2026 | २६ चैत्र २०८२

नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्किन लागेकी मन्त्री रेणु यादवलाई जब स्थानीयले घेरे...



पहिलोपोस्ट

नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्किन लागेकी मन्त्री रेणु यादवलाई जब स्थानीयले घेरे...

काठमाडौंः आइतबार भक्तपुरदेखि नगरकोट पुग्ने सडक निरीक्षण गरेर फर्किने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव चढेको गाडी स्थानीयले घेरे।

स्थानीय गुनासो नसुनी ठेकेदारको मात्रै कुरा सुनेर फर्केको भन्दै मन्त्रीको गाडी स्थानीयले घेरेका थिए। मन्त्री यादवले चार बजे महत्वपूर्ण बैठक भएको भन्दै उम्कन खोजेकी थिइन्। उनीहरुले जनतालाई फेस गर्न नसकेको बताएपछि उनी गाडीबाट ओर्लिएर गुनासो सुनेकी थिइन्।

एक स्थानीयले 'ठेकेदारले एक महिनामा काम सक्छु भन्यो पत्याएर फर्किनु भो हैन?' भन्दै प्रश्न गरेका थिए। स्थानीयले सडक विस्तारका नाममा ७ वर्षदेखि अलपत्र पार्दा धुवाँधुलोको सास्ती खेप्नु परेको, स्वास्थ्यमा प्रतिकूल असर पारेको, भएका काम पनि गुणस्तर कायम भएको, मन्त्रीहरु निरीक्षणमा आउँदा मात्रै ठेकेदारले काम गरेजस्तो गर्ने गरेको भन्दै गुनासो गरेका थिए।

अर्का एक स्थानीयले सडक निर्माण कहिलेसम्म हुन्छ ग्यारेण्टी गर्न आग्रह गरेका थिए। उनले ठूला मान्छे भएको भन्दै ठेकेदारलाई कस्दा मन्त्री पद नै धरापमा पर्ने समेत बताए।

मन्त्री यादवले दुई महिनामा निर्माण नसके के कारबाही गर्दा उपयुक्त होला भन्दै उल्टै प्रश्न गरेकी थिइन्। स्थानीयले ठेक्का तोड्न सुझाएका थिए। उनले दुई महिनामा काम नसके कानुनी प्रक्रिया अनुसार अघि बढ्ने बताएकी थिइन्। २१ दिनमा पुन: निरीक्षणका लागि आउने प्रतिवद्धता जनाएर उनी त्यहाँबाट उम्किन्।

कमलविनायकदेखि नगरकोट पुग्ने यो १६.५ किलोमिटरको सडक दुई वर्षमा सक्ने भन्दै २०७१ मा शारदा कन्स्ट्रक्सनले हात पारेको थियो। तर ७ वर्ष बितिसक्दा पनि काम पूरा भएको छैन।

निर्माणका नाममा खनेर छाडिएका कारण दिउँसै बत्ती बाल्नुपर्ने गरी धुलो उड्छ। ७ वर्षदेखि धुँवा, धुलोको सास्ती स्थानीयले खेपिरहन बाध्य भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell