टी २० विश्वकप फाइनल अन्तर्गत आज सम्पन्न फाइनल खेलमा न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलिया च्याम्पियन बनेको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डमाथि ८ विकेटको सानदार जित निकाल्दै अस्ट्रेलियाले पहिलो पटक टी २० विश्वकपको उपाधि जितेको हो।
आजको खेलमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर न्युजिल्याण्डले १७२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको अस्ट्रेलियाले डेभिड वार्नर र मिचेल मार्सको अर्धशतकको सहायतमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्याण्डका कप्तान केन विलियमसनले अर्धशतकीय पारी खेलेको थिए। उनले ४८ बलमा १० चौका र ३ छक्काको सहायतामा ८५ रन बनाए। ३२ बलमै अर्धशतक बनाएका विलियमसन टी २० विश्वकपको फाइनलमा सर्वाधिक छिटो अर्धशतक बनाउने खेलाडीसमेत बनेका थिए। यसका लागि उनले कुमार सांगाकारा र जोए रुटको कीर्तिमान भंग गरेका छन्। सांगाकाराले २०१४ मा भारतविरुद्ध र रुटले २०१६ मा वेस्ट इण्डिजविरुद्ध ३३ बलमा अर्धशतक बनाएका थिए।
त्यस्तै न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले २८ रन बनाउँदा डार्यल मिचेलले ११ तथा ग्लेन फिलिप्सले १८ रन जोडे। त्यस्तै जेम्स निशम १३ रनमा र टिम सेइफर्ट ८ रनमा अविजित रहे।
बलिङतर्फ अस्ट्रेलियाका जोस हेजलवुडले ३ विकेट लिँदा एडम जाम्पाले १ विकेट लिए।
यद्यपि विलियमसनको विश्वकप फाइनलमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान भने त्यही खेलमा तोडियो। मिचेल मार्स ३१ बलमा अर्धशतक बनाउँदै विश्वकपमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने। उनले ५० बलमा ७७ रन जोड्दै अविजित रहे।
उनीबाहेक डेभिड वार्नरले ५३ रन बनाउँदा कप्तान आरोन फिन्स ५ रनमा आउट भए। त्यस्तै ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहेका थिए।