PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

कांग्रेसमा पौडेल समूह : भित्र सहमति गरेर बाहिर विरोध! तर महाधिवेशनका लागि गठित समितिहरुमा देउवाको एकलौटी



पहिलोपोस्ट

कांग्रेसमा पौडेल समूह : भित्र सहमति गरेर बाहिर विरोध! तर महाधिवेशनका लागि गठित समितिहरुमा देउवाको एकलौटी

काठमाडौं : महाधिवेशनको संघारमा आइपुगेर नेपाली कांग्रेसले बल्ल मुल समरोह समिति बनाएको छ। आइतवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको केन्द्रीय समितिले १४ औं महाधिवेशन मुल समारोह समिति घोषणा गरेको हो।

सभापति देउवाको नेतृत्वमा मुल समारोह समिति बनेको छ। कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका छ। यद्यपि केही जिल्लामा क्रियाशिल विवाद यथावत छ भने केही जिल्लामा वडा अधिवेशनसमेत शुरु हुन सकेको छैन।

समितिहरुमा देउवाकै दवदबा

कांग्रेस १४ औं महाधिवेशन मुल तयारी समितिका संयोजक सभापति देउवा रहने केन्द्रीय समितिले निर्णय गरेको छ। यसैगरी अर्थ समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकेको छ। कार्की देउवा सरकारका सञ्चारमन्त्री हुन्।

भोजन तथा आवास समितिको संयोजक सुरेन्द्रराज पाण्डेलाई तोकिएको छ।

विदेश पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजक सहमहामन्त्री डा. प्रकाशशरण महत तोकिएका छन्।

यसैगरी प्रचार प्रसार समितिमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ।

स्वास्थ्य समितिको संयोजकमा मोहनबहादुर बस्नेत तोकिएका छन्।

सांस्कृतिक समितिको संयोजकमा सिता गुरुङलाई जिम्मेवारी दिइएको छ। कार्की, पाण्डे, महत, शर्मा, बस्नेत, गुरुङ देउवा टिमकै नेताहरु हुन्।

यसैगरी स्वयंसेवक मूल समितिको संयोजकमा कर्णेलले धनबहादुर मास्के राना तोकिएका छन्।

उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको संयोजक काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ 'सबुज'लाई  जिम्मेवारी दिइएको छ। त्यसमा ललितपुर जिल्लाका सभापति मदनबहादुर अमात्य र भक्तपुर जिल्लाका सभापति दुर्लभ थापा सदस्य रहनेछन्। काठमाडौं जिल्ला सभापति नेता प्रकाशमान सिंह निकट हुन् भने अमात्य र थापा देउवा निकट नेता हुन्।

प्रदेश संयोजकमा पनि देउवाको एकलौटी

केन्द्रीय समितिले प्रदेश संयोजक पनि तय गरेको छ।  प्रदेश अधिवशेन मंसिर १६ र १७  गते हुने तय गरिएको छ। प्रदेश संयोजकमा पनि सभापति देउवा निकट नेताहरु नै बढी छानिएका छन्। प्रदेश अधिवेशनका लागि देउवाले आफ्नो ४ प्रदेशमा आफ्नो पक्षका नेतालाई संयोजकको जिम्मेवारी दिँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक प्रदेशमा संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

जसमा प्रदेश १ का संयोजकमा कृष्णप्रसाद सिटौला तोकिएका छन्। प्रदेश १ को अधिवेशन विराटनगरमा हुने भएको छ।

प्रदेश २ संयोजक रमेश रिजाल तोकिएका छन्। त्यहाँको अधिवेशन जनकपुरमा हुनेछ।

वागमती प्रदेश संयोजकको जिम्मेवारी प्रकाशमान सिंहलाई दिइएको छ। वाग्मती कांग्रेसको अधिवेशन हेटौंडामा हुनेछ।

गण्डकी प्रदेशको संयोजकमा गोपालमान श्रेष्ठ तोकिएका छन्। यहाँको अधिवेशन पोखरामा हुनेछ।

लुम्बिनी प्रदेश संयोजकको जिम्मेवारी गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणलाई दिइएको छ। लुम्बिनीको अधिवेशन बुटवलमा हुने भएको छ।

कर्णाली प्रदेश संयोजकमा जीवनबहादर शाही तोकिएका छन्। कर्णालीको अधिवेशन सुर्खेतमा हुने भएको छ।

यता सुदूरपश्चिम प्रदेश संयोजक दिलेन्द्रप्रसाद बडु तोकिएका छन्। यहाँको अधिवेशन धनगढीमा हुनेछ।

प्रदेश १ सिटौला पक्षलाई, प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली देउवा पक्षलाई र वाग्मती र सुदूरपश्चिम पौडेल पक्षलाई संयोजन गर्ने जिम्मा पाएको छ।

भित्र सहमति, बाहिर विरोध!

महाधिवेशन तयारीका लागि कांग्रेसले हिजो १ बजेका लागि केन्द्रीय समिति डाकेको थियो। तर सहमति जुट्न नसकेको भन्दै २ बजेपछि पदाधिकारी तथा पूर्वपदाधिकारीमात्रै बेग्लै बैठकमा बस्यो। केन्द्रीय सदस्यहरु बाहिर घाम तापेर र गफ गरेरै समय बिताए। त्यसको झन्डै तीन घण्टापछि सहमति जुटेको भन्दै ५ बज्न लाग्दा केन्द्रीय समिति शुरु भयो।

बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले एजेन्डा पेश गरे।

केन्द्रीय समिति शुरु भएको आधा घण्टामै केन्द्रीय समितिमा प्रस्तुत भएका विषयहरु प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस ब्रिफिङमा राखे।

केन्द्रीय समितिअघि देउवा पक्ष र पौडेल पक्षले आआफ्नै तयारी गरेका थिए। देउवाले बिहीवार बालुवाटारमा तयारी गर्दा शुक्रवार बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा पौडेल पक्षले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भनेर तयारी गरेका थिए। त्यसपछि शनिवार पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक पनि बस्यो।

आइतवार केन्द्रीय समिति बस्नुअघि पनि पदाधिकारी बैठक बस्यो। पदाधिकारी बैठकमा सहमतिमा निर्णय गरेपनि केन्द्रीय समितिमा भने वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता विवाद नटुंगी महाधिवशेन अघि बढ्न नसक्ने बताए। देउवा सानेपा पार्टी कार्यालय जान नसकेको प्रसंग निकाल्दै पौडेलले अनसन प्रकरणबारे पनि उल्लेख गरे।

‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि अनसन बसेका छन्। सानेपा जान नसकेर बुढानिलकण्ठमा बैठक राख्नुपरेको अवस्था छ अहिले,’ पौडेलले भने। डडेलधुरामै पनि अधिवेशनको समस्या रहेको पौडेलको भनाई थियो। यस्ता समस्यालाई थाँती राखेर केन्द्रीय समितिमा पेश भएका विषय पारित हुन नहुने उनको भनाई थियो।

केन्द्रीय समितिको बैठक समापनतिर लैजाँदै सभापति देउवाले 'अब पास पास' भनेपछि पौडेल प्रतिवादमा उत्रिएका थिए।

‘क्रियाशीलका समस्या धेरै छन्। यस्ता समस्या कसरी टुंगो लगाउने? समस्या समाधन नगरी कसरी प्रस्ताव पास हुन्छ? पास पास मात्र भनेर हुन्छ?’ पौडेलले प्रश्न गरेका थिए। तर देउवाले पौडेलको कुराको वास्ता गरेनन्।  केन्द्रीय समितिले पदाधिकारी बैठकले पेश गरेको प्रस्तावलाई अनुमोदन गरेको छ। पौडेल पक्षले भित्र सहमति गर्ने र बाहिर विरोध गर्ने शैली पहिलेदेखि भएको देउवा पक्षका एक नेताले दाबी गरे। आइतवारको बैठकमा पनि पदाधिकारी बैठकमा सहमति गरेर बाहिर विरोध गरेको ती नेताको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell