काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले अब अधिवेशन हुन्छ भनेर ढुक्क हुने स्थिति आएको बताएका छन्। राष्ट्रिय सभा गृहमा अधिवेशनबाट निर्वाचित काठमाडौं महानगरका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रममा थापाले उक्त भनाई राखेका हुन्।
'हिजो हामीले केन्द्रीय समिति बैठक सम्पन्न गर्यौ। केन्द्रीय समितिले प्रदेशका संयोजकहरु तोकेका छौं। र अधिवेशनका निम्ति व्यवस्थापन गर्ने समितिहरु बनाएका छौं,' महामन्त्रीका उम्मेद्वारसमेत रहेका थापाले भने, 'हिजोको बैठकपछि भने साथीहरु अब अधिवेशन हुन्छ भनेर ढुक्क हुन थालेको छ।'
पार्टीले होटल तथा हल बुक गर्न थालेकाले पनि महाधिवेशन हुन्छ भनेर ढुक्क हुने अवस्था आएको उनको भनाई थियो। 'किनभने पार्टीले होटलै बुक गर्न थाल्यो। हलै बुक गर्न थाल्यो भनेपछि बल्ल साथीहरु ढुक्क हुन थालेको छ,' थापाले भने।
यद्यपि केही स्थानमा अझै विवाद कायमै रहेको स्वीकार गर्दै थापाले अझै पनि अधिवेशन हुन्छ कि हुँदैन भनेर अलमलमा पर्नु दुर्भाग्य भएको बताए। '१५-२० दिन बाँकी रहँदा पनि पार्टीको अधिवेशनबारे अलमल हुनु भनेको कति तलसम्म झरेको रहेछ। हुन्छ हुन्छ भनेर हामीले ढुक्कसँग भन्न सकेनौ,' थापाले भने, 'निर्वाचन आयोगले तारन्तर दबाव नदिएभए अझै एक दुई महिना टर्थ्यो।'
यस्तो हुनु कांग्रेस क्षयीकरणतर्फ लाग्नुको प्रमाण भएको उनको तर्क थियो। 'यो एक ढंगले सामुहिक क्षयीकरणको प्रमाण हो। यसलाई अबको अधिवेशनपछि रोक्न सक्छौं कि सक्दैनौ?' थापाले भने, 'हामीले जति कुरा गरे पनि पार्टीभित्र विधानको सर्वोच्चतालाई स्थापित गर्ने कुरामा पटकपटक चुकेका छौ।'
पार्टीको विधान लागू गराउन नेता प्रकाशमान सिंह र आफू सँगसँगै लडेको उनले बताए। 'आदरणीय नेता प्रकाशमान सिंह यही हुनुहुन्छ। यो विषयमा प्रकाशमान सिंहसँग केन्द्रीय समितिमा लडेको पाएको छु। म पनि मिलेर पटकपटक लडेका छौ। तर हामीले यो विषयलाई गौण बनाएका छौ,' उनले भने, 'यो भित्रभित्र मक्किएको छ। विधानअनुसार हामी चल्नुपर्छ।'
लथालिंग भएको पार्टी बचाउन केन्द्रीय सभापति मात्र नभई तल्लो तहका सभापतिहरुमा पनि परिवर्तन आउनुपर्ने गगनको भनाई थियो। उनले अब चैत ५ गतेभित्र स्थानीय निर्वाचन हुने भएकोले चुनावी तयारीमा लाग्न महानगर इकाईलाई आग्रह गरेका छन्। 'चैत ५ गते स्थानीय निर्वाचन हुन्छ। नभए अध्यादेश ल्याएर निर्वाचन सार्नुपर्ने हुन्छ। त्यो पनि एक दुई महिनामात्रै,' थापाले भने, 'यसका लागि अब तयारी थालौं।'
गत निर्वाचनमा चितवनमा माओवादीलाई मत दिँदा काठमाडौंमा कांग्रेसको मत घटेको उनको भनाई थियो। 'चितवनमा नेपाली कांग्रेसको कार्यकर्तालाई जब कांग्रेसले रुखमा हैन हाँसिया हथौडामा मत हाल भनेर आदेश दियो काठमाडौंको मत घट्यो,' थापाले भने, 'वर्षौदेखि कांग्रेसलाई मत हाल्दै आएको कार्यकर्ताले रुखमा मत हाल्न मानेन।'
कांग्रेस पहिलो पार्टी बन्न १३ लाख मतदाता फकाउनुपर्ने र कार्यकर्ता पनि सध्रनुपर्ने थापाको भनाई थियो।
'यसपटक ३५ लाख मतदाता नयाँ आउँदैछन्। तिनले रुखमा किन मतदान गर्ने यसको उत्तर लिएर जानुपर्छ कांग्रेस
कांग्रेस कांग्रेसको मतले मात्र पहिलो पार्टी हुँदैन। हामीसँग ३२ लाख मत छ। ४५ लाख मत हामीले ल्याउनुपर्छ। १३ लाख मत थप्नुपर्ने छ,' थापाले भने, '१३ लाख मतदाता थप्न सकिन्छ भने कांग्रेस एकल तागतका साथ पहिलो पार्टी भएर आउँछ। नभए हामीसँग भएको मतले मात्र पुग्दैन।'
उनले पार्टी कार्यकर्ताले पनि सक्षम नेतृत्व छान्नुपर्ने बताए। थापाले भने, 'अरु बेलामा चियाचौतारोमा बसेर सामाजिक सञ्जालमा बसेर पार्टी बिग्र्यो भन्ने अनि नेतृत्व छान्ने बेला मेरो दाइ को हो भन्ने हेर्ने आफ्नो हिसाबकिताब गर्ने हो भने हामी दुर्घटनामा पर्छौं।'
