हेटौंडा : वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने प्रदेश सरकारको निर्णय राष्ट्रघाती भएको बताएका छन्। प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले गठबन्धन सरकारको उक्त निर्णय देशलाई गरिब नै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप समेत लगाएका छन्।
सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टसमा खर्च हुने अरबौं रुपैयाँ बचाउने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत संचालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाउनु नागरिकको विकासको मागमाथि प्रहार भएको उनले बताएका छन्।
उनले प्रदेश सरकारको यो निर्णय राजनीतिक बेइमानी मात्र नभइ राष्ट्रप्रतिको गद्धारी भएको समेत बताएका छन्। उनले आयोजना रोक्ने निर्णय फिर्ता लिन माग समेत गरेका छन्।

