PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मकवानपुरमा ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सकियो, बाँकीको पुनर्निर्माणमा देखिए यस्ता चुनौति



निशा गुरुङ

मकवानपुरमा ८० प्रतिशत विद्यालयको पुनर्निर्माण सकियो, बाँकीको पुनर्निर्माणमा देखिए यस्ता चुनौति

हेटौँडा : भूकम्पले भत्काएका मकवानपुरका ८० प्रतिशत विद्यालय भवन पुनर्निर्माण भइसकेको छ। भूकम्पले विद्यालय भवन भत्केपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का प्रणाली, विद्यालय व्यवस्थापन समिति र गैरसरकारी संस्थामार्फत विद्यालय भवनको पुनर्निर्माण कार्य गरिरहेको छ।

मकवानपुरमा विद्यालय व्यवस्थापनमार्फत ३ सय भवनको १ हजार २६ कक्षाकोठा, १ सय ४९ शौचालय र ८४ खानेपानी ट्यांकीको निर्माण सम्पन्न भइसकेको छ। ठेक्का प्रणालीबाट ५६ विद्यालय भवनका ६ सय कक्षाकोठा र संघसंस्थामार्फत ३२ वटा विद्यालय भवनका २ सय २१ कक्षा कोठा निर्माण भइसेको छ।

भूकम्पले भत्काएपछि भवन अभावमा सयौँ विद्यालयका विद्यार्थीहरूले महिनौँसम्म पढ्न पाएनन्। कतिपय विद्यालयमा खुला चौरमै राखेर पढाइएको थियो। सरकारी एवं गैरसरकारी संस्थाहरूको सहयोगमा निर्माण गरिएका बाँसको टहरामा पनि हुरी, बतास, शीत र तुसारोसँग जुध्दै विद्यार्थीले पढेका थिए। तर, अहिले भने उनीहरू सुविधासम्पन्न नयाँ भवनमा पढ्न पाइरहेका छन्। विद्यालयका शौचालय पनि छात्रामैत्री छन्।

‘भूकम्प शैक्षिक क्षेत्रको भौतिक पूर्वाधारका निम्ति वरदान सावित भएको छ’, हेटौँडा उपमहानगरपालिका-१४ नम्बर वडाको भृकुटी माविको व्यवस्थापन समितिका अध्यक्ष कुमार लामाले भने, ‘भूकम्पले विद्यालय भवन नभत्काएको भए यसरी सुविधायुक्त भवन, शौचालय र ल्याब बन्ने थिएनन्।’

संघसंस्थामार्फत पुनर्निर्माण गरिएको भृकुटी माविको विद्यालय १८ करोड लगानीमा निर्माण गरिएको हो। निर्माण भएको विद्यालय अपांगमैत्री छ भने त्यहाँ अशक्त विद्यार्थी सहज रुपमा शौचालय जान सक्ने भौतिक अवस्था छ। विद्यालय भवन वातावरणमैत्री पनि छ। घाम लाग्दा कक्षाकोठामा नजाने र गर्मी मौसममा गर्मी नहुने र चिसोमा चिसो नहुने गरी २२ कोठे भवन, शौचालय, ल्याबलगायत संरचना निर्माण गरिएको छ।

अधिकांश तामाङ समुदायका बालबालिका अध्ययन गर्ने उक्त विद्यालयमा ५ वर्षसम्म जोखिमयुक्त भत्किएको भवनमै पढाइयो। अहिले सुविधायुक्त भवन बनेपछि कोचिएर पढ्नुपर्ने बाध्यताबाट विद्यार्थीले मुक्ति पाएका छन्।

‘भूकम्पले विद्यालय भवन भत्काएन मात्र’, हेटौँडा-१४ का वडाध्यक्ष दीपक खड्काले  भने, ‘सुविधायुक्त विद्यालय भवन निर्माण गर्ने अवसर पनि जुर्‍याइदियो।’

जिल्लाका अधिकांश विद्यालयका जीर्ण भवनहरू भूकम्पले भत्काइदिएको थियो।

‘अहिले धेरै विद्यालय भवन बनिसके, थोरै मात्र निर्माणाधिन अवस्था छन्’, शिक्षा विकास समन्वय इकाइका प्रमुख प्रेमराज खरेलले भने, ‘भत्केपछि नयाँ निर्माण हुन्छ भन्ने कुरा सावित भएको छ, भूकम्प शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा अवसरका रूपमा परिणत भयो।’

मकवानपुरमा ५ सय ९ वटा विद्यालय रहेकोमा ४ सय ९ विद्यालयका ३ हजार ६ सय ९५ कक्षाकोठाहरू भूकम्पले क्षतिग्रस्त भएका थिए। सरकारी र गैरसरकारी गरेर हालसम्म १ हजार ८ सय ४७ वटा कक्षाकोठा निर्माण भइसकेका छन्।

जग्गा विद्यालयको स्वामित्वमा नहुँदा पुनर्निर्माणमा समस्या

जिल्लाकै दुर्गम कैलाश गाउँपालिका-७ को सत्यदेवी प्राथमिक विद्यालयको भवन भत्किए पनि जग्गा विद्यालयको स्वामित्वमा नहुँदा जिल्ला कार्यान्वयन इकाइ (शिक्षा)ले उक्त भवनको पुनर्निर्माण गर्न सकेका छैन। बकैया गाउँपालिका-४ स्थित बालकल्याण प्राविको भवन पनि बन्न सकेको छैन। जग्गा अभावकै कारण उक्त भवन पनि निर्माण हुन नसकेको इकाइ प्रमुख प्रेमराज खरेलले बताए।

‘यही कारण ३९ विद्यालयका भवन बन्न सकेका छैनन्,’ उनले भने।

६१ वटा विद्यालयको भवन भूकम्पले केही भत्काए पनि थप बनाउन नपर्ने ठहर इकाइको छ। बसाइँसराइका कारण विद्यार्थी संख्या न्यून भएकाले १९ वटा विद्यालयमा थप भवन बनाउन नपर्ने देखिएको खरेल बताउँछन्।

उनका अनुसार १० वटा विद्यालय अर्कोमा गाभिएकाले पनि ती विद्यालयमा भवन बनाउनुपर्ने छैन। भवन निर्माण गर्नुपर्ने भएपनि यातायातको पहुँच नपुगेका ११ वटा विद्यालयका भवन पनि निर्माण हुन सकेका छैनन्।

‘यातायातको पहुँच नपुगेपछि निर्माण सामग्री पुर्‍याउन समस्या हुन्छ। जसले गर्दा लागत पनि बढ्छ। यसले पनि भवन बेलैमा बन्न नसकेका हुन्,’ पाठकले भने।

राक्सिराङ गाउँपालिका-७ को धिराङ प्रावि र दामराङ प्राविलगायत ११ वटा विद्यालयका भवन सडक नपुगेकै कारण बन्न नसकेको हो। २ वटा विद्यालय भवनको निर्माण कार्य जग्गा विवादका कारण अवरुद्ध भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell