
काठमाडौँ: नोभेम्बर १६ बाट दुबई विश्व कराते च्याम्पियनसिप सुरु हुँदैछ। च्याम्पियनसिपमा सहभागिताका लागि नेपालबाट ८ जना खेलाडीको इन्ट्री भएको थियो।
तर, प्रतियोगिताको अन्तिम समयमा आएर भने नेपालबाट दुई जना खेलाडी मात्र सहभागिता जनाउन दुबई पुगेका छन्। उनीहरूले पनि सहभागिता जनाउन पाउने वा नपाउने भन्ने अझ पक्कापक्की भइसकेको छैन। नेपालबाट विजय श्रेष्ठ र मोहम्मद शेख आलम सहभागिताका लागि दुबई पुगेका हुन्।
बाँकी खेलाडी जो १३औँ दक्षिण एसियाली खेलकुदका पदकधारीहरू पनि थिए, उनीहरूले चाहेर पनि प्रतियोगितामा सहभागिता जनाउन सकेनन्। जसको कारण सहभागिताको सुनिश्चितता नहुने भएको बताउँछन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराते प्रशिक्षक दीपक श्रेष्ठ।
‘कराते महासंघले ८/९ जनाको रजिस्टर गराएको थियो, दुबईमा हुने वर्ल्ड च्याम्पियनसिपका लागि। त्यसमा सागमा मेडल जितेका राम्रो खेलाडीको नाम इन्ट्री थियो’, श्रेष्ठले भने, ‘जाने बेलामा चाहिँ तिमीहरूले आफ्नो रिस्कमा जानुपर्छ, सहभागिता जनाउन पाउन पनि सक्छौ, नपाउन पनि सक्छौ, त्यसमा आफैँ जिम्मेवार हुनुपर्छ र त्यसमा मिडियावाजी गर्न पाउँदैनौ भनेको रहेछ। त्यो भएर खेलाडी गएनन्। सबै खर्च आफैँ बेहोर्नुपर्ने, दुई जना आफ्नै खर्चमा गएका। आए आँप गए झटारो भनेर गएका हुन्। सहभागी हुन नपाउन पनि सक्छन्।’
१३ औँ सागका दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठले प्रतियोगितामा सहभागिताको ग्यारेन्टी संघले दिन नसक्दा आफूहरू सहभागी हुन नसकेको बताए।
‘वर्ल्ड च्याम्पियनसिपमा दुई जना खेलाडी जाने रे, गइसक्यो होला। हाम्रो पनि नाम इन्ट्री गर्देको थियो’, मण्डेकाजीले प्रश्न गरे, ‘तर, हामी त्यहाँ गएर १०० प्रतिशत खेल्न पाउँछौँ कि पाउँदैनौँ भन्ने निश्चित नभईकन, त्यो संघले ग्यारेन्टी गर्न सक्दैन भने हामी आफ्नो पैसा खर्च गरेर जानुपर्ने हो भने वर्ल्ड च्याम्पियनसिपमा सहभागिता कसरी जनाउने त?’
उनका अनुसार दुबई गएका खेलाडीको सन्दर्भमा पनि भोलि सम्ममा एक्रिडिएसन कार्ड बने उनीहरूले सहभागी हुन पाउनेछन् अन्यथा पाउने छैनन्।
‘विश्व कराते फेडेरेसनले गरेको गेम सानो गेम हैन नि। साफ गेम, एसियन गेमभन्दा नि ठूलो गेम हो नि। त्यसमा ओलम्पिकका गोल्ड मेडलिस्टहरु खेल्न आउँछन्’, मण्डेकाजीले भने, ‘त्यहाँ सहभागिता पनि ठूलो कुरा हो। सहभागिता जनाउन पाउने नपाउने आफैँ जोखिम लिनुपर्छ भनेपछि खेलाडी कसरी जाने?’
मण्डेकाजीको तर्कमा प्रशिक्षक श्रेष्ठ पनि सहमत छन्। भन्छन्, ‘देशको लागि खेल्न जाँदा त्यसरी लुकेर जान्छन् त? देशको प्रतिनिधित्व गरिसकेपछि त छाती फुलाएरै जानु पर्छ नि।’
किन छैन सहभागिताको सुनिश्चितता?
सहभागिताको सुनिश्चितता नहुनुको पछाडिको कारण हो संघको नवीकरण नहुनु। पछिल्लो दशकमा नवीकरण नगर्दा त्यसको शुल्क र जरिवानासहित ५६ लाख बढी शुल्क तिर्न बाँकी छ जसले गर्दा सहभागिता अनिश्चित भएको हो। यसमा अस्तित्वमा रहेका दुई संघबीचको टकराब मुख्य कारकका रूपमा देखिन्छ।
‘हामीले ५६ लाख रुपैयाँ डब्लुकेएफलाई तिर्नुपर्छ। त्यो सही हो। निरन्तरको संवादपछि कोभिडले पनि साथ दियो, तीन खण्डको एक खण्ड पैसा देऊ न त उसो भए भनेर कुरा भएको छ’, अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे भन्छन्, ‘त्यो संवाद भइसकेपछि वि विल थिंक भन्यो। अब हाम्रो खेलाडी त्यहाँ गएर खेल्न पाएन भने थाहा भइहाल्छ। भ्रामक कुराहरूको विषयमा यो भयो।’
राष्ट्रिय खेलकुद परिषद्मा युवराज लामा सदस्य सचिव हुँदाताकाको विवादलाई सम्झँदै लाखे राष्ट्रिय मान्यताप्राप्त संघमा पैसा भएको र आफूसँग पैसा नभएको दाबी गर्छन्।
‘अन्तर्राष्ट्रिय अथोरिटी मसँग थियो। तर, राज्यले दिने वार्षिक पाउने अधिकार दावा गुरुङकोमा गयो। कम पैसा भयो भने पनि १७/१८ लाख ग्रेडिङ गरेर कमाउँछ’, उनी तर्क गर्छन्, ‘त्यो पैसा कहाँ जान्छ पारदर्शी छैन। मलाई नेपालले चिन्दैन। इन्टरनेशनलले चिन्छ। तर, मैले बाहिर जान कसैलाई रोकेको छैन।’
प्रतियोगितामा सहभागिता जनाउने नपाउने नै हुन् त?
संघको विवाद एकातिर छ तर यसको पेलानमा भने खेलाडी परेका छन्। संघले पैसा नतिर्दा विश्वस्तरीय प्रतिस्पर्धामा सहभागिता अनिश्चित भइदियो।
‘पैसा नतिरेको सत्य हो। तिर्नुपर्ने सत्य हो। प्रतियोगितामा जाँदा कुनै मोडमा इन्ट्री दिन्न भन्यो भने जोखिम तिमीहरूले बहन गर्नुपर्ने अवस्था आउन सक्छ है भनेर भन्दा उनीहरूले हामी तयार छौँ भन्या थिए’, उनले भने, ‘खेलो भनेको पैसाको हो। पैसा म सँग छैन। पैसा ग्रेडिङमा छ उता। तीनचार महिनायता करिब १६/१७ लाख उठाएको अपुष्ट सूचना मसँग छ।’
उनी खेलाडी खेल्न जान पाएन भन्ने कुरासँग सहमत छैनन्।
उनले भने, ‘व्यक्तिले के बोल्छ कसो बोल्छ त्यो उसको कुरा हुन्छ। उनीहरूको प्रहार चाहिँ महासंघले पैसा नतिरेको कारण हामी खेल्न जान पाएनौँ भन्ने छ। त्यो कुरा सत्य हो फेरि। खेलाडी गएको छ। कोच पनि आफ्नो अपडेट हुन गएको छ। रेफ्री गएको छ। जसले जान पाएन उसले नेगेटिभ चर्चा गर्ने नेपालमा भइहाल्छ।’
‘अहिले गएका खेलाडीले सहभागिता जनाउन पाउँछन् भन्ने मेरो विश्वास हो,’ सहभागिताबारे अझै निश्चिन्त नभएका लाखेले भने।