PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

फिफा वरीयताको पुछारमा रहेको टोलीमाथि इङ्ग्ल्याण्डको १० गोलको फराकिलो जित, विश्वकपमा छनोट



पहिलोपोस्ट

फिफा वरीयताको पुछारमा रहेको टोलीमाथि इङ्ग्ल्याण्डको १० गोलको फराकिलो जित, विश्वकपमा छनोट

विश्वकपको युरोप छनोट अन्तर्गत गएराति सम्पन्न समूह 'आई' को खेलमा इङ्ग्ल्याण्डले फराकिलो जित निकालेको छ। सनमारिनो स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ह्यारी केनको ह्याट्रिकसहित ४ गोलको सहायतामा १०-० को फराकिलो जित निकालेको हो। यो इङ्ग्ल्याण्डको सन् १९६४ मा अमेरिकामाथि १०-० कै जित निकालेयताकै फराकिलो जित हो।

खेलको छैटौं मिनेटमै ह्यारी म्यागुएरको गोलमा अग्रता बनाएको इङ्ग्ल्याण्डले दोस्रो गोल सन मारिनोका फिलिपो फाब्रीले आत्मघाती गोल गर्दा उपहारमा पाएको थियो। त्यस्तै २७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा, ३१ औं मिनेटमा स्मिथ रोवको पासमा र ३९ औं मिनेटमा पेनाल्टीमै गोल गर्दै ह्याट्रिक पुरा गरे। त्यस्तै ४२ औं मिनेटमा उनले ब्यक्तिगत चौथो गोल गर्दा पहिलो हाफमै इङ्ग्ल्याण्ड ६-० गोलअन्तरले अगाडि थियो।

दोस्रो हाफमा टायरन मिंगसले ६९ मिनेटमा, ट्यामी अब्राहमले ७८ औं मिनेटमा र बुकायो साकाले ७९ औं मिनेटमा गोल गरे। उता सन मारोनोका डान्टे रोसी ६८ औं  मिनेटमा रेडकार्ड ब्यहोर्दै बाहिरिएका थिए।

सन मारिनो फिफा वरीयताको पुछारमा अर्थात २१० औं स्थानमा रहेको टोली हो। जितसँगै इङ्ग्ल्याण्ड कतार विश्वकपका लागि छनोट भइसकेको छ। त्यस्तै गएराति नै सम्पन्न समूह आईको अर्को खेलमा पोल्याण्ड हंगेरीसँग २-१ गोलअन्तरले पराजित भयो। त्यस्तै अल्बानियाले एण्डोरामाथि १-० को जित निकाल्यो।

समूह 'आई'मा इङ्ग्ल्याण्ड १० खेलबाट २६ अंक जोड्दै शीर्षस्थानमा छ भने पोल्याण्ड २० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै १८ अंक जोडेको अल्बानिया तेस्रो, १७ अंक जोडेको हंगेरी चौथो, ६ अंक जोडेको एण्डोरा पाँचौं स्थानमा छन्। अंकविहीन सन मारिनो तालिकाको पुछारमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell