PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

बुटवल बजार क्षेत्रको सडक : धुलो र खाल्डाखुल्डीले बेहाल



पहिलोपोस्ट

बुटवल बजार क्षेत्रको सडक : धुलो र खाल्डाखुल्डीले बेहाल

  • रमेश पराजुली -

बुटवल : मुलुकको आर्थिक तथा व्यापारिक केन्द्रका रुपमा रहेको बुटवलको मध्यभागबाट पूर्व–पश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण सिद्धार्थ राजमार्ग विस्तार भएका छन्। तर, राजमार्गको चौराहा–गोलपार्क खण्डको सडक विस्तार कार्यमा चरम ढिलासुस्ती र लापरबाहीले गर्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ।

ठेकेदारको लापरबाहीका अगाडि स्थानीय, प्रदेश र संघीय सरकार लाचार बनेपछि लुम्बिनी प्रदेशको मुकाम सर्वसाधारणका लागि सास्तीको थलो बन्दै गएको छ। दैनिक हजारौं सवारीसाधन र लाखौं यात्रु ओहोरदोहोर गर्ने चौराहा–गोलपार्क खण्डको करिब ४ किलोमिटर सडक विस्तारका लागि ठेकेदार कम्पनी द कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौंले ३ वर्षअघि ४१ करोड २३ लाख रुपैयाँमा ठेक्का पाएको थियो। २०७४ सालमा निर्माणको लागि ठेक्का लिँदा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो।

घरधनीहरूको पटकपटकको अवरोध र मुद्दाका कारण काम अगाडि बढ्न नसकेपछि तेस्रो पटक गरी २०७९ साल असार ३२ गते निर्माण सम्पन्न गर्नुपर्नेगरी म्याद थपियो। निर्माण कम्पनीको लापरवाहीका कारण सडकखण्ड विस्तारको काम अलपत्र जस्तै छ।

यो त्यही सडक हो जहाँबाट लुम्बिनी प्रदेश सरकारका दर्जनौं मन्त्री, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र अन्य सरकारी कार्यलयका प्रमुखहरु दैनिक धुलो उडाउँदै ओहोरदोहोर गर्छन्। ओहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुलोले मोटरसाइकल, साइकल र पैदलयात्री सबैभन्दा बढी मारमा परेका छन्।

खाल्डाखुल्डी र धुलोका कारण बजारको मुख्य सडकमा बिहानदेखि साँझसम्मै ट्राफिक जाम हुन्छ। धुलोले सडक कुहिरीमण्डल हुँदा यही सडक हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारण, यात्रु र चालक नचिनिने हुन्छन्। मानव स्वास्थ्यमै असर पुर्‍याउँदा पनि सम्बन्धित निकायले चासो दिएका छैनन्।

विगत ४ वर्षदेखि बुटवलमा ठेलामा फलफूलको व्यापार गर्दै आएका राजेन्द्र कँडेलले सडक अस्तव्यस्त हुँदा धेरै समस्या परेको बताउँछन्। दैनिक सडकमा घुमेर व्यापार गर्ने उनले सडकको धुलोकै कारण पटकपटक बिरामी पर्ने गरेको सुनाए।

‘आम्दानीको स्रोत यही हो। आफै बिरामी परेपछि कसरी बिहान बेलुकाको गुजारा चलाउनु?’ कँडेलको प्रश्न छ।

धुलो र खाल्डाखुल्डीका कारण सवारीसाधन छिटो बिग्रिने गरेको बस चालक राजु थापाले बताए। ‘सवारीको मर्मत खर्च बढ्दा आम्दानी धेरै घटेको छ। सडकका खाल्डा तर्काएर सवारी चलाउनुपर्छ सडककै कारण दुर्घटनाको जोखिम पनि बढेको छ,’ थापाले भने। यिनी त प्रतिनिधिपात्र मात्रै हुन्। दैनिक हजारौं सवारी चालक र व्यापारीले यस्तै समस्या भोग्न बाध्य छन्।

सडककै कारण ट्राफिक व्यवस्थापन पनि कष्टकर र चुनौतिपूर्ण बनिरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले बताए।

‘व्यस्त बजारको मुख्य सडकको अवस्था बेहाल छ। घाममा धुलो र पानी आउनासाथ हिलाम्मे हुनेगरी सडकभरी खाल्डाखुल्डी छन्। यसका कारण दुर्घटनासमेत बढ्न थालेको छ,' पाण्डेले भने, 'ट्राफिक प्रहरी दिनभर व्यवस्थापनमा खटिन्छन्, तर एकातिर ट्राफिक संकेतको अभाव अर्कातिर जनशक्ति कम हुँदा  भित्री सडकदेखि मुख्य सडकसम्म नियमित जाम पर्न थालेको छ।’

कतिपय कागजी प्रक्रियाका काम र सुरुको भेरिफिकेसनमा भएका कमीकमजोरीको फाइदा उठाउँदै ठेकेदारले बदमासी गरिरहेको सडक डिभिजन कार्यालय, बुटवलका प्रमुख जयलाल मरासिनीले बताए।  उनले अन्तिम समयका लागि भन्दै समय थप गरिएको र यस अवधिमा काम नभएमा कानुनी कारबाहीका सबै प्रक्रिया अगाडि बढाउन तयार अवस्थामा राखिएको बताए।

ठेकेदारले पेश्की स्वरूप ८ करोडभन्दा धेरै रकम लगिसकेको छ। २०६८/०६९ बाट निर्माण सुरू भएको आयोजना राजमार्ग चौराहाबाट सुनौलीसम्म करिब निर्माण सम्पन्न भए पनि सडक संरचनाभित्र परेका घरधनी अदालत जाँदा बुटवल बजारमा सडक बिस्तारको काम अगाडि बढ्न सकेको थिएन।

सडक विस्तारको लागि ‘साइड क्लियर’ भएर चौराहादेखि मिलनचोकसम्म दुवैतर्फका नाली निर्माण भएको छ। अन्य क्षेत्रमा काम अगाडि बढेको छैन। पटक–पटक सडक बिस्तारको काम अगाडि बढाउन सडक डिभिजन कार्यालयले आग्रह गरे पनि ठेकेदार कम्पनीले काम नगरेपछि जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले गएको असारमा ठेकेदारलाई निगरानीमा राखेको थियो। 

पछिल्लोपटक सडक विस्तार आयोजनाले गएको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन शुरू गरे पनि केहीले अटेर गरेपछि प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घरटहरा डोजर चलाएर भत्काइएको थियो।

पछिल्लो रिट निवेदनमा गत वर्षको असार ९ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गत पुस २० गते गरेपछि डिभिजन सडक कार्यालय बुटवललाई सडक विस्तार गर्ने बाटो खुलेको थियो।

सडक विस्तारमा भइरहेको ढिलाई र लापरबाहीका विषयमा सम्बन्धित कार्यालयले कहिले कोरोना, कहिले केही घरधनीको अवरोध, कहिले बेमौसमी वर्षालाई कारण बताउँदै आएको छ। उता ठेकेदार कम्पनीले पनि यसैलाई निहुँ पार्दै आएको छ। ठेक्का प्रक्रियामा भएका सम्झौता बेगरका थप काम गर्नुपरेका कारणले पनि ढिलाई भइरहेको ठेकेदारको दाबी छ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुख्य खण्डकै सडक विस्तारमा ठेकेदार र त्यसको नियमन गर्ने निकायदेखि प्रदेश तथा संघीय सरकारका निकायले चासो नदिएको गुनासो गरे। स्थानीय पालिकाले काम गर्न नपाउने, कानुनले रोक्ने तर काम गराउने र गर्ने निकायले हाइसञ्चो मानेर बस्ने गरेको उनको आरोप छ।

पालिकाको बजेट त्यहाँ प्रयोग गर्न नपाउने, बजेट विनियोजन गरेर काम गराउने निकायले ढिलासुस्तीमा पनि मौनता साँध्ने काम भएको भन्दै प्रमुख सुवेदीले त्यसैका आडमा राजनीतिक दाउपेच झल्काउन खोजिएको हुनसक्ने आशंका प्रकट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell