PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वीरगंजमा यी पाँच विषयमा मुख खोले राजेन्द्र महतोले, कांग्रेसको सेटिङकै कारण चोलेन्द्रले राजीनामा नदिएको आरोप



राधेश्याम पटेल

वीरगंजमा यी पाँच विषयमा मुख खोले राजेन्द्र महतोले, कांग्रेसको सेटिङकै कारण चोलेन्द्रले राजीनामा नदिएको आरोप

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतो वीरगंज आइपुगेका छन्। लामो सयमपछि उनी पर्सामा पार्टी प्रवेश कार्यक्रमको लागि पर्सा आइपुगेका हुन्। सोमवार पर्सा आएका पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता महतोले मंगलवार बिहान नगर सभागृहमा पत्रकार सम्मेलन गरे।

पत्रकार सम्मेलनमा महतो र पत्रकारबीच चर्काचर्की नै भयो। लोसपाको राजनीतिक यात्रा तथा नेता महतोको व्यक्तिगत जीवन र राजनीतिक घटनाक्रमसँग सम्बन्धित प्रश्नमा उनी सधैजस्तो कडा रुपमै प्रस्तुत हुँदै सवालजवाफमा उत्रिए।

‘तपाईहरु आन्दोलन गर्न क्रान्तिको उद्गम स्थल पर्सालाई भनेर वीरगंज आउनु हुन्छ, प्रदेशको राजधानीको विषयमा तपाई स्वयमले जनकपुर नै ठीक हुन्छ भन्नु भएको थियो, आखिरमा तपाई के चाहनु भएको हो,’ सञ्चारकर्मीको सवालमा महतोको जवाफ थियो, ‘वीरगंज आर्थिक राजधानी यस्तै छ, प्रदेश २ को स्थायी राजधानी कहाँ बनाउने बारेमा प्रदेश सभाले निधो गर्ने कुरा भएकोले हामीले यसमा टाउको दुखाउनु पर्दैन।’

'नागरिकताको विषयमा सरकारले मलाई टार्गेट गर्छ'

पत्रकार सम्मेलनमा महतोले आगामी दिनमा सरकार वा मधेश विरोधी शक्तिको नेतृत्वले उनलाई गोली ठोक्न वा देश निकाला पनि गर्न सक्ने सम्भावना रहेको बताएका छन्। तपाईको नागरिकता जन्मसिद्ध हो, तपाई भारतीय हो भनेर भनिन्छ, के भन्नु हुन्छ? प्रश्न तेर्सिएपछि महतोले भने, ‘सरकारको कुर्सीमा पछि परेको समुदायका व्यक्ति अर्थात मधेसी, थारु, आदिवासी, मुस्लिम, जनजाति पुग्दा १२ प्रतिशत जनसंख्या भएको नश्लवादी चिन्तन भएका व्यक्तिलाई टाउको दुखाई भएको हो, त्यसकारण यस्ता संगीन आरोप लगाइन्छ, मेरो नागरिकता देशले संविधान सम्वत दिएको छ, बिहारको कोहबारवामा मेरो आफन्तजनको सम्बन्ध छ, म भारतीय होइन।’ उनले आफूलाई भारतीय भनेर ट्याग लगाउने र देश निकाला गर्ने पनि शक्तिहरु षडयन्त्रमा लागेको उनले चिन्ता व्यक्त गरे।

'नेपाल अब बहुलराष्ट्रको आधारमा अघि बढ्नुपर्छ'

उनले नेपाललाई विकास र समृद्धितर्फ डोर्‍याउन एकल राज्यबाट मुक्ति नमिल्ने र सबै वर्ग जातजातिको पहिचान र पहुचको सिद्धान्तमा राज्यको सेवा सुविधामा पहुच बढाउनको लागि बहुलराष्ट्रको सिद्धान्तमा देशलाई अघि बढाउन आवश्यक रहेको बताए। उनले नेपालको सत्ता व्यवस्थाामा केही नश्लवादी समुदायको हालीमुहाली रहेकोले त्यसलाई भत्काउन अबको लडाई मधेश र वीरगंजमा नगरेर काठमाडौंको सिंहदरबार केन्द्रित हुने तर्क गरे। ‘मधेसी जनताले धेरैले शाहदत दिए, ६ महिना नाकाबन्दी समाना गरे, अबको  राष्ट्रिय मुक्तिको आन्दोलन राजधानी केन्द्रित जनताले गर्छन्, त्यसको लागि सरकार र नश्लीय चिन्तनमा विश्वास गर्ने शक्तिहरुले अवगत हुनुपर्छ,’ उनको भनाई थियो।

'प्रधानन्यायधीश जबरालाई हटाउनु पर्छ'

अदालतमा सेटिङको आधारमा न्याय सम्पादन हुने भएकोले त्यसलाई आत्मसात गर्दै कानुन व्यवसायीहरु आन्दोलनमा होमिएको प्रति एक्यबद्धता जनाउँदै तीन दलको समर्थनले अहिलेसम्म सर्वोच्च अदालतका प्रधानन्याधीश चोलेन्द्र शम्शेर जबराले राजिनामा नगरेको उनले बताए। ‘न्यायको मन्दिर भनेर अदालतलाई चिनिन्छ, अहिले नेपालमा बिना पैसा न्याय पाउने ठाउँ छैन। कांग्रेस, समाजवादी, नेकपा एकीकृत समाजवादीको नेताहरुको सेटिङमा प्रधानन्यायधीश जबराले आन्दोलनको वेवास्ता गरेका छन्,’ उनले भने, ‘यस्तै प्रथा रह्यो भने देशमा सुशासन र न्याय प्रणाली नै ध्वस्त भयो भने भोलि जनताले कहाँबाट न्याय माग गर्ने?’

'मधेशलाई भजाउने उपेन्द्र यादव हुन, अगामी चुनावमा जसपासँग एकता हुदैन'

महतोले जसपा अध्यक्ष उपेन्द्र यादवसँग अगामी चुनावमा एकता हुने सम्भावना नरहेको बताएका छन्। उनले मधेशलाई बेला बेलामा भजाउने काम र मधेसी राजनीतिलाई कमजोर पार्ने काम उपेन्द्र यादवले गरेको कारण अगामी चुनावमा एकता भएर चुनावमा जाने सम्भावना नरहेको उनले स्पष्ट पारे। ‘मधेसको जनताको भावनालाई लत्याएर पार्टी टुक्रिएका हुन्, उनले मधेसी राजनीतिलाई आफै कमजोर पर्ने कोसिस गरे,’ उनले भने, ‘जनताले उनलाई अगामी चुनावमा आफै दण्डित गर्नेछन्।’

'प्रदेश २ का मुख्यमन्त्रीले राजीनामा दिनु पर्छ'

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यथाशीघ्र राजीनामा दिन महतोले माग गरेका छन्। प्रदेश २ का मुख्यमन्त्रीले चलाएको 'बेटी पढाउ, बेटी बचाउ' अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा करोडौको भ्रष्टाचारी भएको भन्दै हिजै अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानमा मुख्यमन्त्री राउत दोषी छन्, उनी भ्रष्टाचारी मुद्दामा जब मुछिसकिएका छन्, त्यसपछि पदमा बस्नुको कुनै औचित्य छैन,’ महतोले भने, ‘नैतिकताको अधारमा राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्छ।’

लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय सांसद लक्षमणलाल कर्ण, प्रदेश सांसद प्रलाद गिरी, रमेश कुर्मी, लोसपाका नेता शिव पटेल, रामचन्द्र पंडित, ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell