भारतीय प्रहरीले अमेजनका अधिकारीमाथि अनुसन्धान थालेको छ। इ-कमर्स प्लाटफम अमेजनबाट प्रतिबन्धित गाँजा बिक्री वितरण भइरहेको घटनामा प्रहरीले आरोपित नै पक्राउ गरेपछि सोमवारबाट अमेजनका अधिकारीमाथि अनुसन्धान सुरु भएको हो।
भारतीय प्रहरीले मध्य प्रदेशबाट आइतवार दुईजना पुरुषहरुलाई २० किलो गाँजासहित पक्राउ गरेको थियो। ती पुरुषहरुले अमेजनको वेबसाइट प्रयोग गरी गाँजाको अर्डर गरेका थिए। उनीहरुले अन्य प्रदेशमा त्यसको तस्करी गरेको आरोप प्रहरीले लगाएको छ।
प्रहरीले ग्वालियरका सुरज भनिने कल्लु पाभिया र पिन्टु भनिने विजेश्वर सिंह तोमारलाई २० किलो गाँजासहित पक्राउ गरेको हो। तोमरले ढावा चलाउँदै आएका थिए। उनीहरुले विशाखापट्टनको गाँजा अमेजन मार्फत् किनेको खुलेको छ। करिपत्ता भन्दै गाँजाको बिक्री भएको प्रहरीले जनाएको छ।
प्रहरीले जारी गरेको विज्ञप्तिमा आरोपितहरुले अमेजन इन्डियाको प्लाटफम प्रयोग गरी गाँजाको अर्डर र डेलिभरी गर्ने गरेको उल्लेख गरेको छ। गएको चार महिनामा १ करोड १० लाख भारतीय रुपैयाँ अर्थात् १ करोड ७६ लाख नेपाली रुपैयाँ बराबरको कारोबार भएको प्रहरीको दावी छ। करिब १ हजार किलोग्राम गाँजाको कारोबार भइसकेको देखिएको हो।
प्रहरीले अमेजनका अधिकारीहरुलाई उनीहरुको इ-कमर्स प्लाटफम कसरी प्रतिबन्धित पदार्थको बिक्री वितरणमा प्रयोग हुन्छ भन्ने प्रश्न गरेको बताइएको छ।
'अमेजनसँग आर्टिफिसियल इन्टिलिजेन्स छ। तै पनि उनीहरुको प्लाटफममा प्रतिबन्धित पदार्थको व्यापार भइरहेको भेटियो। यसले गाँजाको बिक्री वितरणमा अमेजनको पनि संलग्नता देखिन्छ। अमेजनले गाँजाको डेलिभरीमा लजिस्टिक सहयोग गरेको हाम्रो अनुसन्धानले देखाउँदै लगेको छ,' भारतीय प्रहरीका वरिष्ठ प्रहरी अधिकृत मनोज सिंहले भारतीय संचारमाध्यमसँग भने।
अमेजनका प्रवक्ताले भने प्रतिबन्धित पदार्थको बिक्री वितरण आफुहरुको प्लाटफमबाट गर्न नदिने जनाएका छन्। कानूनले रोक लगाएका सामाग्रीमा संलग्नता देखिएपछि अमेजनले प्रहरी प्रशासनलाई अनुसन्धानमा सहयोग गर्ने प्रतिक्रिया दिएको छ।