काठमाडौं : बैकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगेको आरोप लागेपछि पूर्व सभासद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ यतिखेर हिरासतमा छन्।
उनी विरुद्ध अहिले पनि उजुरी आउनेक्रम रोकिएको छैन। अहिलेसम्म उनीविरुद्ध १ हजार ४ सय ४१ जनाले उजुरी दिएका छन्। अहिले पनि दैनिक ३/४ जना उजुरी लिएर आउने गरेको प्रहरीको भनाइ छ। उनी विरुद्ध अहिलेसम्म ५ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको विगो माग दाबी गरिएको छ।
'अनुसन्धानको समय अझै छ। अहिले पनि उजुरी दिन आउनेहरु हुनुहुन्छ। हामी अनुसन्धान गरिरहेका छौं,' केन्द्रीय अनुसन्धान व्यूरोका एसपी श्याम महतोले भने।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तामाङसहित ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। तामाङ संचालक रहेको सिभिल सहकारीबाट करौडौं रुपैयाँ ठगी भएको र त्यसमा उनको प्रत्यक्ष संलग्नताको आरोप छ। तामाङ, सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहित सिभिल १२ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरुमा सहकारीका कर्मचारी समेत रहेका छन्। प्रहरीले विजयविक्रम साह, एलिना तुलाधर, बुद्धराज तामाङ, कैस्तुभ चेतन ढुङ्गाना, भगवानबहादुर सिंह, संगित श्रेष्ठ, शंकरप्रसाद पाठक, मायानानी महर्जन, राकेश महर्जन र हरिहर प्रसाद लामिछानेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सिभिल सहकारीमा हाल ३ हजार बढी निक्षेपकर्ता रहेकोमा अहिले २२ सय बढी निक्षेपकर्ता सक्रिय रहेको देखिएको छ।
