पोखरा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्द आह्वानको प्रभाव पोखरा पनि परेको छ।
बन्दका कारण पोखरामा बिहानदेखि अतिआवश्यक सवारीसाधन र सीमित निजीबाहेक सबै ठप्प छ। व्यापार व्यवसाय पनि ठप्प नै छ। नेपाल बन्द समाधान नभएको बताउँदै विवेकशील साझा पार्टीले आज बन्दको विरोधमा पोखरा मानवअधिकार चोकमा प्रर्दशन गरेको छ।
नेपाल खुल्ला रहेको सन्देश दिने व्यानर लिएर उनीहरुले मानवअधिकार चोकमा प्रदर्शन गरेका हुन्।
मूल्यवृद्धि भ्रष्टाचारको पराकाष्ठा हो, बन्दले देश बन्दैन, लगायतका संदेश लेखिएका ब्यानर बोकेर उनीहरुले प्रर्दशन गरेका हुन्। उनीहरुले भ्रष्टाचार, महंगी र अनियमितताका कारण जनता उठ्नै नसकेको देखाउन सांकेतिक रुपमा भारी बोकेका थिए।
पोखरामा बन्दको प्रभाव सार्वजनिक सवारीसाधन र व्यापार व्यवसायमा देखिएको छ। निजी सवारीसाधन केही संख्यामा गुडिरहेका छन्। सुरक्षा सर्तकता अपनाउन चोकचोकमा प्रहरी परिचालन भएको छ। जिल्लामा बिहानदेखि आठ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
