PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

विप्लवको बन्द गराउने अस्त्र बन्यो 'थोत्रा टायर' :  दृश्यमा भद्रकालीको घम्साघम्सी

विप्लवको बन्द गराउने अस्त्र बन्यो 'थोत्रा टायर' :  दृश्यमा भद्रकालीको घम्साघम्सी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : इन्धनको मूल्यवृद्धिको विरोध भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वान गरेको छ। काठमाडौं उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ। सार्वजनिक यातायात भने थोरै संख्यामा चलेका छन्।

यसअघि पनि विभिन्न विषयलाई लिएर बन्द घोषणा गर्दै आएको विप्लवले भूमिगत संघर्ष छाडेर मूलधारमा आएसँगै पहिलोपटक बन्द घोषणा गरेका हुन्। 

केपी शर्मा ओली सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै शेरबहादुर देउवा सरकारसँग वार्तामा रहेका विप्लवले भने यस पटक इन्धनको विषयलाई लिएर आफ्नो उपस्थिति जनाउने प्रयास गरेका हुन्। यसपटक बन्द सफल बनाउन उनी नेतृत्वको पार्टीले थोत्रा टायरको साहारा लिएको छ।

चक्काजाम, बन्द र आम हड्तालमा टायर बाल्नु सामान्य भए पनि पछिल्लो समय विरोधका कार्यक्रम आयोजना गर्दा यस्तो क्रम घटेको थियो। तर, आजको बन्दमा काठमाडौं सहित देशभर बन्द गराउन टायर बालियो। केही स्थानमा सवारीसाधन तोडफोड समेत गरिएको छ। भूमिगत भएको समयमा घोषणा गरिएको बन्द भन्दा विप्लव कार्यकर्ताहरु यसपटक आक्रामक शैलीमा प्रस्तुत भएका हुन्। 

काठमाडौंको सुन्धारा र सोह्रखुट्टेमा गाडी रोक्दै विप्लवका कार्यकर्ताले सडक अवरुद्ध गरेका थिए। 

भद्रकालीमा पनि टायर बालेर प्रदर्शनमा उत्रेका विप्लव कार्यकर्ता र प्रहरीबिच घम्साघम्सी भएको थियो। गाडी रोक्दै टायर बालेर सडक अवरुद्ध गर्दै हिँडेका बन्दकर्तालाई प्रहरीले रोक्न खोज्दा प्रहरीले रोकेको थियो।

यसअघि बन्द आह्वन गर्ने समूहमाथि प्रहरीले कडा निगरानी राख्ने र उनीहरुका नेता कार्यकर्तालाई पक्रने गर्थ्यो। यसपालाको बन्दमा भने प्रहरीको सक्रियता पनि कम देखियो। गृह प्रशासन बन्दकर्ता विरुद्ध कडा रुपमा उत्रिएको देखिएन।



ट्रेन्डिङ पोस्ट

Ncell