PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

केही न्यायाधीश इजलासमा फर्किएपछि बारले भन्यो : अब तेस्रो चरणको सशक्त आन्दोलन



पहिलोपोस्ट

केही न्यायाधीश इजलासमा फर्किएपछि बारले भन्यो : अब तेस्रो चरणको सशक्त आन्दोलन

काठमाडौं : नेपाल बार एशोसिएशनले बुधवारबाट तेस्रो चरणको आन्दोलन सुरु हुने जनाएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका हुन्।

'न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारको संरक्षण प्रधान न्यायाधीश चोलेन्दर शमशेर जबराले गरेका छन्। त्यसैकारण उनको राजीनामा आएपछि मात्रै सुधारका कदमहरु अघि बढ्न सक्छ,' उनले भने, 'राजीनामा नआएसम्म आन्दोलन जारी रहन्छ। भोलिबाट सशक्त आन्दोलन हुन्छ। हामी तेस्रो चरणको सशक्त आन्दोलनलाई कसरी अघि लग्ने भन्ने विषयमा छलफलमा छौं।' 

कात्तिक ७ गते आइतवार मध्याह्नदेखि सर्वोच्चमा मुद्दाको सुनुवाइ हुनसकेको थिएन। प्रधान न्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले बेन्च बहिष्कार गर्दै आएका थिए। बिचबिचमा बन्दी प्रत्यक्षीकरण को मुद्दामात्र सुनुवाइ भएको थियो।

आज भने विद्रोह गरिरहेका चार जना न्‍यायाधीश बेन्चमा फर्किएका छन्।

प्रधान न्यायाधीश चोलेन्द्र शम्मशेर जबरासँग असन्तुष्ट रहेर इजलास नै बहिष्कार गरेका न्यायाधीशहरुको समूहबाट चार न्यायाधीशहरु सुनुवाईका लागि फर्किएका हुन्। न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको एउटा र न्यायाधीश तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मुद्दाको सुनुवाई भएको हो।

त्यसैगरी, बन्दी प्रत्यक्षीकरणको मुद्दा प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलासले सुनुवाई  गरेका हुन्। उनीहरुको इजलासमा तोकिएका अन्य मुद्दामा भने कुनै सुनुवाई भएको छैन।

नेपाल बार एशोसिएसनले पनि जबराले राजीनामा नदिएसम्म अदालत चल्न नसक्ने भन्दै सर्वोच्च परिसरमा दैनिक धर्ना दिइरहेको थियो। आज पनि बारले जबराको राजीनामा माग्दै सर्वोच्च परिसरभित्रै धर्ना दिएको थियो।

आगामी रणनीति तय गर्न आज पनि बार र इजलास बाहिष्कार गरेका न्यायाधीशबिच पनि छलफल हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell