PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

नेपालमा स्पुतनिक-भी खोप ल्याउने प्रक्रिया कहाँ पुग्यो ? प्लान्ट नै राख्न रसियाली संस्था इच्छुक



पहिलोपोस्ट

नेपालमा स्पुतनिक-भी खोप ल्याउने प्रक्रिया कहाँ पुग्यो ? प्लान्ट नै राख्न रसियाली संस्था इच्छुक
Photo : Getty Images

काठमाडौं : स्वास्थ्य मन्त्रालयले सरकार-सरकार (जीटूजी) मार्फत् रसियाको गामालिया राष्ट्रिय अनुसन्धान संस्थाले उत्पादन गरेको स्पुतनिक-भी आयातमा आवश्यक सहजीकरण गर्ने संकेत दिएको छ।

कोभिसिल्ड, भेरोसेल, जान्सेन, अस्ट्राजेनिका भ्याक्सिन अहिले नेपालमा कोभिड-१९ विरुद्ध प्रयोग भइसकेका छन्। तर, स्पुतनिक-भी भने अनुमति पाएर पनि आयात भएको छैन। उक्त खोप नेपाल ल्याउन सकिने नेपालका लागि रसियाली राजदूतले निकै अघि बताएका थिए। त्यसबेला भारत र चीनमा उत्पादित खोप नेपाल ल्याउने क्रम सुरु नै भएको थिएन।

विस्तारै विभिन्न मुलुकबाट खोप भित्रियो तर रसियाबाट खोप ल्याउने प्रक्रिया अघि बढ्नै सकेन। केपी ओली नेतृत्वको अघिल्लो सरकारका बेला स्पुतनिक-भी ल्याउन केही प्रक्रिया अघि बढे पनि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेपछि उक्त प्रक्रिया प्राथमिकतामा पर्न नसकेको बुझिएको छ।

कोरोनाविरुद्धको रसियाली खोप ल्याउन लोमस फर्मास्युटिकल्सले पनि प्रयास गरेको थियो। त्यो प्रक्रिया सफल हुन सकेन।

रसियाली संस्थाले यसअघि इबोलाविरुद्धको खोप निर्माणमा सक्रिय भूमिका खेलेको थियो। कोरोना संक्रमणले महामारीको रुप लिँदा सरकारले अनुदानका खोप पर्खनुको साटो आफैं खरिद पनि गर्दै जाने नीति लिएको थियो। अरू कम्पनीसँग प्रक्रिया अघि बढ्दा रसियाली खोप भित्र्याउने मामिलामा भने नेपाल ढिला देखिएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल अब भने रसियाली खोप ल्याउन आवश्यक प्रक्रिया अघि बढेको बताउँछन्। 'नेपालले रसियाली भ्याक्सिन ल्याउने निर्णय गरिसकेकाले प्रक्रिया धेरै अगाडि बढेको छ,' उनले भने, 'हामी कुनै एजेन्टभन्दा पनि सरकार टु सरकार नै आदानप्रदान हुनुपर्छ भन्ने मान्यतामा छौं, त्यही प्रक्रियामा छौं।'

जीटूजीबाट रसियाली भ्याक्सिन ल्याउन स्वास्थ्य मन्त्रालयले गत साउन २१ मा औषधि व्यवस्था विभागका महानिर्देशकलाई पत्र लेख्दै रिलायन्स ट्रेड एण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिले आवश्यक सहजीकरण गर्ने आशय साथ लेटर अफ इन्टेन्ट (एलओआइ) माग गरेको भन्दै काम अघि बढाउन अनुरोध गरेको थियो।

मन्त्रालयको उक्त पत्र माथि सम्बोधन गर्दै साउन २७ मा विभागले रिलायन्ससँग भ्यासिनको मूल्य र संख्या, आयात गर्ने समयसीमा, उत्पादकबाट प्रमाणीकरण पत्रलगायतका विवरणहरु माग गरेको थियो।

त्यसपछि रिलायन्सले विभागले माग गरेका सबै विवरण उपलब्ध गराएको मन्त्रालय स्रोतले जनाएको छ।

'भेरोसेल, अस्ट्राजेनिका, जोन्सन एण्ड जोन्सनलगायतका खोप निरन्तर नेपाल आइरहँदा स्वास्थ्यको प्राथमिकतामा स्पुतनिक-भी नपरेको जस्तो देखिएको हो,' स्रोतले भन्यो, 'खरिदमा सहुलियत र भण्डारणमा सहयोग हुने सम्भावना पनि नेपालले हेरेको हो।'

स्पुतनिक-भीमा रसियाली उत्पादकले ग्यारेन्टी खोजे पनि नेपाल सरकारले त्यसो गर्न सकेको छैन। साथै, नेपाल सरकारले सुरुको खेप नेपाल ल्याएर यहीँ खोप उत्पादन गर्न आग्रह गरे उपकरणसहित प्राविधिक दक्षता उपलब्ध गराउन तयार रहेको स्रोतले जनाएको छ।

नेपाल सरकारले आवश्यक ग्यारेन्टी र सहजीकरण गरिदिए रसियाली संस्था नेपालमा वार्षिक १० करोड डोज खोप उत्पादन गर्ने प्लान्ट नै स्थापना गर्न तयार रहेको बताइएको छ। खोप उत्पादन गर्न आवश्यक कच्चा पदार्थ र तालिम रसियाली संस्थाले नेपाललाई दिन तयार रहेको बताइएको छ।

नेपाल सरकारले नै केही लगानी गर्न तयार भए रसियाली उत्पादकसमेत साझेदारी गर्न तयार रहेको बताइएको छ। नेपालमै प्लान्ट राखेर स्पुतनिक उत्पादन भए प्रति डोज दुई अमेरिकी डलर हाराहारी मात्रै पर्ने स्रोतले जनाएको छ। रसियाली प्राविधिकका अनुसार प्लान्ट ९० दिनभित्र तयार हुन सक्छ।

कोरोना महामारीको प्रभाव कहिलेसम्म लम्बिने यकिन नभएकाले सधैं मित्र राष्ट्रहरुको सहयोगमा खोप भित्र्याउन नहुने खोप आयातकर्ताहरुले जोड दिँदै आएका छन्। खोप उत्पादन आफैंले गर्न सके कुनै समय पुन: संक्रमण उकालो लागे नियन्त्रणमा सहयोग पुग्ने उनीहरुको भनाइ छ।

स्पुतनिक-भी भ्याक्सिन कोरोनाविरुद्ध ९२ प्रतिशत प्रभावकारी हुने मेडिकल जर्नल 'द ल्यान्सेट'ले उल्लेख गरेको छ। छिमेकी भारतले भ्याक्सिन सम्बन्धी जानकारी दिन बनाइएको वेबसाइट 'कोविन पोर्टल' मा गत मे १४ बाट कोभिड भ्याक्सिन स्पुतनिक-भी समावेश गरेको थियो। नेपालमा भने अहिलेसम्म यो खोप आइपुगेको छैन।

यो खोप १२ वर्ष उमेर माथिले लगाउन सक्नेछन भने खोपको प्रभावकारिता २ वर्ष रहेको दाबी उत्पादकको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell