काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट रहेका सर्वोच्चका न्यायाधीशसँग नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले मंगलबार पनि छलफल गरेका छन्। सोमबार बार पदाधिकारीले आफ्नो धारणा राखेका थिए। निरन्तर भनिएको छलफलमा मंगलबार सर्वोच्चका १३ न्यायाधीशले धारणा राखे। अन्य न्यायाधीशहरु भने आज पनि छलफलमा सहभागी भएनन्। सोमबार पनि उनीहरु छलफलमा सहभागी भएका थिएनन्।
छलफलमा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको बहिर्गमन नै अन्तिम बटमलाइन भएको बताए। मुद्दा सुनुवाइको विषयमा फरक मत रहे पनि जबराको बहिर्गमनको विषयमा अन्य न्यायाधीशहरु पनि आफूहरुसँगै रहेको पनि न्यायाधीशहरुले बार पदाधिकारीलाई सुनाए।
छलफलमा सहभागी सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बहिर्गमन र बेञ्च सेयर नगर्ने विषयमा सबै न्यायाधीश एकमत रहेको जानकारी आफूहरुलाई दिइएको बताए।
घिमिरेले भने, ‘साढे तीन घण्टाभन्दा लामो समय समीक्षा भयो। उहाँहरु सबैले आफ्नो धारणा राख्नुभयो। पाँच जना श्रीमानहरु आज पनि अनुपस्थित नै हुनुहुन्थ्यो। तर, अन्य न्यायाधीशहरुले प्रधानन्यायाधीशको बहिर्गमन र बेञ्च सेयर नगर्ने सवालमा भने १९ जना नै सँगै रहेको जानकारी हामीलाई गराउनुभयो ।’
न्यायाधीशहरु अनिल सिन्हा, सपना प्रधान मल्ल लगायतले भने माग यथावत राखेर निवेदन सुनुवाइ जानुपर्ने धारणा पनि छलफलमा राखेका थिए। बार पदाधिकारीले भने सबै न्यायाधीशलाई समान धारणा बनाउन आग्रह गरेको घिमिरेले बताए।
बारले यसअघि इजलासमा नबस्न आग्रह गर्दै न्यायाधीशहरुलाई लिखित आग्रह गरिसकेको छ। साथै, प्रधानन्यायाधीशसँग बेञ्च सेयर नगर्न पनि बारले आग्रह गरेको थियो।
अहिले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणका बाहेक अन्य मुद्दाको सुनुवाइ ठप्प छ। तीन सातादेखि न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दा सेवाग्राही भने मर्कामा छन्।
