काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आज बसेको बोर्ड बैठकले संघको वार्षिक साधारण सभा पुस १४ र १५ गते गर्ने निर्णय गरेको छ। मंगलवार भर्चुअल माध्यमबाट बसिएको बैठकले धनगडीमा पुस दोस्रो साता साधारणसभा गर्ने लगायत प्रशिक्षक छनोट, आर्थिक कार्यविधि, प्रधानमन्त्री कप क्रिकेट लगायतको विषयमा निर्णय गरेको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै, बैठकले ४ वर्षे कार्यकाल समाप्त भएका र हुने जिल्लाले यही माघ ७ गतेभित्र जिल्ला अधिवेसन सम्पन्न गर्न निर्देशन दिएको छ। प्रशिक्षक छनोटका लागि ५ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय भएको छ।
कार्यवाहक सचिव मल्लको संयोजकत्वमा रहने उक्त समितिमा कोषाध्यक्ष रोशन सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र आईसीसीका एकजना प्रतिनिधि रहनेछन्। यसअघि प्रशिक्षक रहेका डेभ ह्वाटमोरले राजीनामा दिएयता नेपाली क्रिकेट टीम प्रशिक्षकविहीन रहेको छ।
बैठकले आर्थिक कार्यविधि पास गरेको छ भने आगामी पुस १५ भित्र प्रधानमन्त्री कप राष्ट्रिय पुरुष तथा महिला क्रिकेट प्रतियोगिता सम्पन्न गर्नेसमेत निर्णय गरेको छ।

