विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। विश्वासको मत पाएलगत्तै मुख्यमन्त्री राईले १० दिनभित्र मन्त्रिपरिषदले पूर्णता पाउनेसमेत बताएका छन्।
बुधवार प्रदेश सभामा भएको मतदानमा राईले विश्वासको मत पाएका हुन्। उनको पक्षमा ५० जनाले मतदान गरेका छन्। हाल कायम रहेका ९२ जना प्रदेश सभा सदस्य मध्य ७९ जनाले भाग लिएका थिए। जसमा राईको विपक्षमा २९ मत परेको थियो। सत्तारुढ गठबन्धनका सबै सांसद उपस्थित भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका ११ जना सांसद आजको प्रकृयामा अनुपस्थित रहे।
गत कात्तिक १६ गते राईले मुख्यमन्त्रीमा शपथ लिएका थिए। नेकपा एमालेका भीम आचार्यले पदबाट राजीनामा दिएपछि ४९ प्रदेशसभा सांसदको समर्थन सहित दाबी गरेका राईलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक थियो।
विश्वासको मत पाएपछि पत्रकारहरुले मुख्यमन्त्री राईलाई कार्यकाल आधाआधा गर्ने सम्झौताबारे सोधेका थिए। उनले त्यस्तो कुनै सहमति नभएको प्रष्ट्याएका छन्।
