PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

पहिलो इ-पासपोर्ट सार्वजनिक गर्दा जे देखियो

पहिलो इ-पासपोर्ट सार्वजनिक गर्दा जे देखियो

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : राहदानी विभागले पहिलोपटक इ-पासपोर्ट जारी गरेको छ। बुधवार विभागमा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो इ-पासपोर्ट हस्तान्तरण गरे।

इ-पासपोर्ट पाएपछि जोशीले यस्ता खालका पासपोर्टबाट धेरै समस्या झेल्नुनपर्ने भन्दै खुसी व्यक्त गरे। सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लाई विस्थापित गर्ने गरी इपासपोर्ट जारी गरेको हो।

नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको थियो। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) ले सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको साटो एमआरपी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको थियो ।

विगत १० वर्षमा ६६ लाखभन्दा बढी राहदानी जारी भइसकेका छन्। करिब एक लाख पासपोर्ट भने प्राविधिक कारणले त्रुटि भएपछि प्रयोग गर्न नमिल्ने भएका छन्।

नेपालले सन् २०१० मा एमआरपी लागू गरेपछि कूटनीतिक, पदाधिकारी, साधारण र ट्राभल डकुमेन्टतर्फ गरी जम्मा ७० लाख राहदानी छापेको थियो।

यसरी आइपुगियो बल्ल हातमा

सरकारले ग्लोबल टेन्डर मार्फत इ-पासपोर्ट छाप्नका लागि फ्रान्सेली कम्पनीलाई जिम्मा दिएको थियो।

विभागले इ–पासपोर्ट छपाइका लागि पहिलो पटक २०७६ भदौ १० मा ग्लोबल टेन्डर आह्वान गरेको थियो। विभागले ५ वर्षमा ५० लाख ई–पासपोर्ट आह्वान गरेको टेण्डर कात्तिक २१ मा बोलपत्र बुझाउने अन्तिम दिनसम्म विभिन्न देशका १५ वटा कम्पनीले टेण्डर हालेका थिए। तर, सरकारले आफ्नै सेक्युरिटी प्रेस स्थापना गर्न लागेको र सोही प्रेसबाट राहदानी छाप्ने बताउँदै विभागलाई टेण्डर रद्द गर्न निर्देशन दियो। टेण्डर रद्द भयो। तर, विवादित खरिद प्रक्रिया र तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस बार्गेनिङ गरिरहेको अडियो सार्वजनिक भएपछि सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोकियो।

फेरि २०७६ फागुनमा टेण्डर खोलियो। तीन वर्षमा २० लाख ई-पासपोर्ट छाप्न खोलिएको टेन्डरमा चार कम्पनीले आवेदन दिएका थिए। तर, असोजमा टेण्डरमा सहभागी कम्पनीको कागजात अपूरो भएको, प्रक्रियामा कमजोरी भएको भन्दै पुन: रद्द गरियो। असोज ८ गते पुन: २१ दिने सूचना जारी गर्दै ग्लोबल टेण्डर आह्वान भयो।

तेस्रो पटकको टेण्डरपछि विभागले २०७७ कार्तिकमा फ्रान्सेली कम्पनीलाई २० लाख ई-पासपोर्ट छपाइएको ठेक्का दिएको थियो। राहदानी विभागले आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर बराबरमा ई-पासपोर्ट छपाइनको ठेक्का दिएको थियो। जुन प्रति पासपोर्ट १०.५५ डलर हुन आउँछ।

२००५ मा राहदानीमा परिवर्तन आउँदै जाँदा हालसम्म १५० देश भन्दा बढीले ई-पासपोर्ट जारी गर्दै आएका छन्। १९२० यता पासपोर्टको फर्म्याट परिवर्तन भएको छैन। पासपोर्टको बुकलेट साइज बी ७ मा रहँदै आएको छ। तर, राहदानीमा प्रविधिअनुकुल फिचर भने जोडिँदै आएको छ।

ई-पासपोर्ट, माइक्रोप्रोसेसर जडित हुनेछ जहाँ व्यक्तिका सूचनाहरु, तस्बिर सहित औँठा छाप लगायतका जानकारी संग्रहित गरिने छ। यो पासपोर्टलाई बायोमेट्रिक पासपोर्ट पनि भनिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell