काठमाडौँः नियमित इजलासका फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतबाट बहिर्गमन हुनुपर्छ भन्ने विषयमा अन्यसँग कुनै मतभेद नरहेको बताएका छन्। नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीसँगको छलफलमा उनीहरुले न्यायपालिका शुद्धीकरणका लागि बारले उठाएका एजेण्डामा सहमत रहेको पनि बताएका छन्।
न्यायाधीशहरु तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालसँग बार पदाधिकारीले छलफल गरेका हुन्।
लामो समय आन्दोलन जारी रहँदा न्याय प्रभावित भएको विषयमा भने अन्य न्यायाधीशसँग आफूहरुको फरक मत रहेको बार पदाधिकारीलाई उनीहरुले बताएको सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले बताए।
घिमिरेले भने, ‘उहाँहरुले खाली मुद्दा सुनुवाइमा अनिर्णित हुनुभएन भन्ने हो। प्रधानन्यायाधीशसँग इजलास सेयर नगर्ने र गोलाप्रथा सुरु भएपछि रोजेको मुद्दा हेने हुँदा त्यो चाहियो भन्ने माग उहाँहरुको छ। न्यायपालिका शुद्धीकरणका विषय हामी बारसँग सँगै छौँ भन्नुभयो।’
पाँच न्यायाधीशले मंगलबारदेखि मुद्दा फिर्ता, पुनरावेदन फिर्ता, तामेली, मिलापत्र लगायतका निवेदनमा सुनुवाइ सुरु गरेका छन्।
उनीहरुले गोलाप्रथा लागू गर्न आह्वान हुने फूलकोर्ट बाहेक अन्य न्यायाधीशसँग अब कुरा नगर्ने भन्दै मुद्दा सुनुवाइमा फर्किएका थिए। सुनुवाइका विषयलाई असन्तुष्ट न्यायाधीश विभाजित भएपछि बारले फरक फरक रुपमा दुबै समूहसँग छलफल गरेको हो।
छलफलमा बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लीलामणि पौडेल तथा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य र सचिव घिमिरे सहभागी थिए। यस्तै, नेपाल बारका तीन उपाध्यक्ष पनि सहभागी थिए।
