PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

एमाले नेतालाई के को डर? मनमा छ, तर भन्न सक्दैनन्



प्रकाश भण्डारी

एमाले नेतालाई के को डर? मनमा छ, तर भन्न सक्दैनन्
फाइल फोटो

काठमाडौँ: नेकपा (एमाले) ले डेढ हप्ताभित्रै पार्टी नेतृत्व चयन गर्दै छ। चितवनमा मंसिर १०-१२ गतेसम्म हुन लागेको महाधिवेशनले विधानमा भएको व्यवस्था अनुसार १५ जना पदाधिकारी चयन गर्ने छ।

सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष केपी शर्मा ‌ओलीको रणनीति अनुसार महाधिवेशनका प्रतिनिधि तथा स्थानीय, जिल्ला र प्रदेशको नेतृत्व चयन भएका छन्।

पार्टीको अध्यक्षमा ओली नै दोहोरिने पक्का भए पनि अरू पदमा भने अहिलेसम्म को उम्मेद्वार हुने भन्ने टुङ्गो छैन। अझ एमालेमा नेतृत्वका बारेमा बहस हुनै छोडेको छ। असोज १५-१७ मा ललितपुरको गोदावरीमा सम्पन्न बैठकले पार्टीको सैद्धान्तिक पक्षबारे टुङ्गो लगाएको थियो।

राष्ट्रिय महाधिवेशनमा नेतृत्वका बारेमा मात्रै बहस हुने र सैद्धान्तिक पक्ष नेतृत्व छनोटले छायामा पर्ने भन्दै एमालेले पहिलोपटक विधान महाधिवेशन गरेको थियो। तर, नेतृत्व चयनका लागि हुन लागेको राष्ट्रिय महाधिवेशनमा नेतृत्वबारे भने एमाले नेताहरू मौन छन्।

ओली निकट नेताहरू अहिलेकै पदमा दोहोरिनेमा ढुक्क देखिए पनि इतर समूहका नेताहरूमा अलमल छ। उम्मेद्वारीबारे उनीहरूले खुलेर बोल्न सकेका छैनन्। ओली निकटका नेताहरूले अहिलेका पदाधिकारीलाई सकेसम्म दोहोर्‍याउने बताए पनि एमाले विवादका बेलामा ओलीलाई साथ नदिएका नेताहरूलाई पदाधिकारीमा अटाउन मुस्किल छ।

ओली निकट नेता तथा एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले सकेसम्म अहिलेकै पदाधिकारीलाई दोहोर्‍याइने र केही मात्रै नयाँ अनुहारले स्थान पाउने बताए। 'प्रतिस्पर्धा भएन भने अहिलेका कुनै पनि पदाधिकारीलाई बाइपास गर्न हुन्न भन्ने छ,' उनले भने।

मनमा छ तर भन्न सक्दैनन्

एमालेका उपाध्यक्ष भीम रावलले कात्तिक २३ मा गृह जिल्ला अछाम पुगेर आफू निकट कार्यकर्तालाई अध्यक्षको उम्मेद्वार हुने संकेत गरेका थिए। तर, प्रस्ट रूपमा आफू अध्यक्षकै उम्मेद्वार भएको रावलले खुलाएनन्। उपमहासचिव घनश्याम भुसालले पनि अध्यक्षमा आकांक्षा देखाएका छन्। यद्यपि उनले पनि सार्वजनिक रूपमा उम्मेद्वारी घोषणा गरेका छैनन्। भुसालको पछिल्लो जवाफ घुमाउरो छ। 'एमालेका सबै केन्द्रीय सदस्य अध्यक्षका लागि योग्य हुन्,' उनले भन्ने गरेका छन्।

महासचिव ईश्वर पोखरेलले भने वरिष्ठ उपाध्यक्षका लागि दाबी गरेका छन्। ओली निकटहरूका अनुसार पोखरेलका लागि भनेर ओलीले अध्यक्ष पछिको वरीयतामा रहनेगरी विधानमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गराएका थिए। अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा कुनै पनि हालतमा निर्वाचन गर्न नहुने पक्षमा छन्, ओली। त्यसैले ओलीको विपक्षमा नजाने पोखरेलले बताउँदै आएका छन्। 'हामी बिलकुल सहमतिका साथ नेतृत्व चयन गर्छौँ। देशभरका जिम्मेवार नेता कार्यकर्ताको यही मानसिकता छ,' पोखरेलले आफू अध्यक्षको उम्मेद्वार नभएको उल्लेख गर्दै भन्ने गरेका छन्।

कात्तिक २७ गते पत्रकार भेटघाट कार्यक्रममा उनले महासचिवमा दोहोरिने आफूलाई इच्छा नभएको बताएका थिए।

पोखरेल बाहेकका नेताहरूले पदाधिकारीमा आकांक्षा देखाएको भए पनि खुलेर दाबी गरेका छैनन्। ओली निकट नेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि उपाध्यक्षमा आकांक्षा देखाएका छन्। नेम्वाङले खुलेर भन्न भने सकिरहेका छैनन्।

'म आफ्नो व्यक्तिगत कुरा गर्दिनँ। हेरौँ अब जे हुन्छ,' नेम्वाङले भने।

९औँ महाधिवेशनबाट छनोट भएका १५ जना पदाधिकारीमध्ये अहिले एमालेमा १२ जना छन्। वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका छन् भने उपाध्यक्ष बामदेव गौतमले एमालेबाट राजीनामा गरेका थिए। ओलीबाहेकका एमालेमै क्रियाशील रहेका ११ जना पदाधिकारीले हालसम्म आधिकारिक रूपमा आफूलाई पदाधिकारीको उम्मेद्वार घोषणा गरेका छैनन्। महाधिवेशनको सम्मुखमा पनि उम्मेद्वारी घोषणा नगर्नुले पनि एमालेमा सर्वसम्मत रूपमा नेतृत्व चयन हुने देखिएको छ।

किन मुख खोल्न सक्दैनन्?

उपाध्यक्ष युवराज ज्ञवाली अहिले नै उम्मेद्वारीको बेला नभएको बत्ताउँछन्। नेताहरूको मनमा उम्मेद्वारको आकांक्षा भए पनि भन्न नसकेको ज्ञवालीले बताए।

'स्वयंम केपी जी पनि टुंगोमा पुग्नुभएको छैन। उहाँले पनि सल्लाह त गर्नुपर्‍यो नि। को कहाँ कहाँ उठ्छ भन्ने कुरा लास्टमा थाहा हुन्छ अहिले थाहा हुन्न। मन मनमा त हरेकको हुने भो,' उनले भने।

नेता भट्टराई पनि उम्मेद्वारी घोषणा गर्ने बेला भइनसकेको बताउँछन्। उनले अहिले उम्मेद्वारी घोषणा गर्नेभन्दा सर्वसम्मतका लागि पहल भइरहेको बताए।

'अहिले त धेरै हतार हुन्छ। सकेसम्म सर्वसम्मत गर्ने भन्ने हो। त्यो भएन भने अध्यक्ष र केही महत्त्वपूर्ण पद बाहेकमा उम्मेद्वारी घोषणा होला,' उनले भने।

ओली इतरका नेताहरूको उम्मेद्वारीबारे खुलेर बोल्न नसक्नुको अर्को कारण हो-अध्यक्ष केपी शर्मा ओलीको कोप भाजनमा पर्ने डर। ओलीका विरुद्धमा गएर उम्मेद्वारी घोषणा गर्दा ओलीले किनारा लाउन सक्ने भन्दै उनी इतरका नेताहरू ओलीको रणनीति पर्खिरहेका छन्। ज्ञवाली ओलीसँग व्यक्तिगत रूपमा कुराकानी गरेपछि मात्रै नेताहरूले उम्मेद्वारीबारे बोल्ने बताउँछन्।

विभाजनलाई 'क्यास' गर्दै ओली

ओली निकट एमालेका अधिकांश नेताहरू महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने अडान राखिरहेका छन्। पार्टी विभाजनपछि पार्टी एक ढिक्का भएको सन्देश दिन चुनाव गर्न नहुने उनीहरूको मत।

'हामीले त भन्दै हिँडेका छौँ। यस्तो बेलामा सर्वसम्मत नेतृत्व चयन गरेर अघि बढ्नुपर्छ भनेर। यो संकटको बेलामा कार्यकर्ता र जनतालाई हामीले पार्टी एक ढिक्का भएको सन्देश दिनुपर्छ,' नेम्वाङले भने।

महाधिवेशनमा सहभागी हुने १९९९ जना प्रतिनिधि पनि अधिकांश ठाउँमा सर्वसम्मत ढंगले छानिएको छ। केही ठाउँमा चुनाव भए पनि अधिकांश ठाउँमा ओली समूहका नेताहरू चुनिएका छन्। ओलीले स्थानीय तहको अधिवेशन उद्घाटन गर्दै नेता कार्यकर्तालाई सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए। एमालेमा असन्तुष्ट नेताहरूले नेतृत्व छनोट र प्रतिनिधि छनोटमा असन्तुष्टि जनाउने गरेको भए पनि ओली पक्षले त्यसलाई सम्बोधन गर्ने इच्छा देखाएको छैन। बरु त्यसलाई संगठनमा मौलाएको अराजकताको संज्ञा दिएको छ।

१० नेताकै छैन एक मत

एमाले फुट्नु अघिसम्म दोस्रो तहका १० नेताले तत्कालीन वरिष्ठ नेता नेपालसँगै सहकार्य गरेका थिए। विभाजनका बेलामा भने उनीहरूले नेपालको साथ छोडे। हाल एमालेमै क्रियाशील रहेका १० भाइ नेताहरू एकमत छैनन्। रावल र भुसाल एमालेको नेतृत्वमा दाबी गर्ने संकेत गर्दै सर्वसम्मत नेतृत्व चयनको विपक्षमा छन्। उनीहरू बाहेकका ८ नेता सर्वसम्मत रूपमा ओलीलाई दोहोर्‍याउनु पर्ने बताइरहेका छन्।

१० जनाकै समूहमा एकरूपता नआएपछि उपमहासचिव भुसालले विधान महाधिवेशनका बेला आफ्नो फरक मतलाई महाधिवेशनमा दर्ज गर्न आँट गरेनन्। विधान महाधिवेशन अघि भएको स्थायी कमिटीको बैठकमा फरक मत दर्जा गर्दा गलत सन्देश जाने भन्दै ओलीले भुसाललाई फिर्ता लिन आग्रह गरेका थिए। भुसाल भने विधान महाधिवेशनपछि पनि ओलीको शैलीसँग असन्तुष्ट छन्। उनले विधान महाधिवेशनमा कुनै छलफल बिनै पार्टीको सैद्धान्तिक पक्ष टुङ्ग्याएकोले एमालेमा बहस गर्ने परिपाटी हराएको भन्दै नेतृत्वको आलोचना गरिरहेका छन्।

यता रावल र भुसाल बाहेकका नेता ओलीसँग निकट भएपछि विभिन्न जिम्मेवारी पाएर एमालेमा क्रियाशील छन्। स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टी प्रचार विभाग नेतृत्वको पुरानै जिम्मेवारी पाएका छन् भने अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे १० औँ महाधिवेशन मूल व्यवस्थापन समितिको सह-संयोजक छन्।

पर्ख र हेरको मनोविज्ञानमा एमाले नेता

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेपालको साथ छोडेपछि वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। शाक्यले पनि नेतृत्वका बारेमा मुख खोलेकी छैनन्। उपाध्यक्ष युवराज ज्ञवाली पनि ओलीको विपक्षमा उभिने पक्षमा छैनन्।

ज्ञवालीले सर्वसम्मत नेतृत्व चयन गर्ने गरी गृहकार्य भइरहेको बताउँदै भने,'अहिले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्ने छ। यसको अर्थ अध्यक्षमा ओलीजीलाई नै दोहोर्‍याउने भन्ने हो। तर यसको टुङ्गो हलमा नपुगेसम्म लाग्दैन।'

एमालेका नेताहरूमा अहिले ओलीलाई 'पर्ख र हेर'को मनोविज्ञान छ। ओलीको चाल अनुसार नेताहरूले अभिव्यक्ति दिने गरेका छन्। ओलीका विरुद्धमा गए किनारा लाग्न सक्ने डरका कारण उनीहरूले खुलेर नेतृत्वका बारेमा बहस गर्न सकेका छैनन्। ओली बाहेकका नेताहरू मौन देखिँदा एमालेमा ओली पक्ष झनै बलियो भएको संकेत गरिरहेको छ। महाधिवेशनमार्फत ओलीले अझै त्यसलाई निरन्तरता दिने कोसिस गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell