PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

मध्यरातमा पाटनको माहोल : डबलीमा थामिनसक्नु भिड, मसाल दन्काउँदै देखाइयो नाच

मध्यरातमा पाटनको माहोल : डबलीमा थामिनसक्नु भिड, मसाल दन्काउँदै देखाइयो नाच

प्रवीण रानाभाट/पहिलोपोस्ट


ललितपुर : बुधबार राति यहाँको मंगलबजारको माहोल बेग्लै थियो। जति रात ढल्कँदै जान्थ्यो, त्यति यहाँ चहलपहल बढ्थ्यो। मध्यरातसम्म आइपुग्दा कृष्ण मन्दिर छेवैको डबली वरपर थामिनसक्नुको भिड थियो। ३८० वर्षदेखि यसरी नै यहाँ यतिबेला भिड हुने गर्छ।

पाटनका राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कात्तिक नाच यो वर्ष अलि विशेष छ। एक जमानामा एक महिनासम्म हुने यो नाच २००७ सालको परिवर्तनपछि दुई दिनमा सीमित हुन पुगेको थियो। अहिले केही दिन लम्ब्याइएको छ।

बुधबारको रात किन पनि विशेष थियो भने यति बेला हिरण्यकश्यपु दैत्य वध नाच हुँदै थियो। कात्तिक नाचको विशेष आकर्षण यसैलाई मानिन्छ।

नाचको सुरुमा कृष्ण नाच देखाइयो। कालो लुगामा कृष्णलाई अरुले साथ दिएका थिए। कृष्ण नाच कात्तिक नाचको हरेक दिन हुने गर्छ।

समय बित्दै जाँदा भिड पनि बढ्दै थियो।

कृष्ण नाचपछि हिरण्यकश्यपु र प्रह्लाद नाच देखाइयो। हिरण्यकश्यपु र उनका छोरा प्रह्लादका साथ दुई दैत्य नृत्य गर्छन्।

२००७ सालपछि नाच छोट्याउने क्रममा संवाद हराइसकेको भए पनि समय क्रमसँगै यो नाचको अवधि पुनः लम्ब्याइएपछि अहिले केही संवाद पनि सुन्न पाइन्छ। संवाद सुनेर दर्शकहरु रमाउँछन्।

प्रह्लादलाई दैत्य गुरुहरु 'ओम् नमः शिवाय्' भन्न सिकाउँछन्। तर उनले 'ओम् नमः शिवाय‌ साटो ओम् नमो भगवते बासुदेवाय्' मात्र भन्छन्। सिकाउँदा सिकाउँदा गुरुहरु थाक्छन्। हिरण्यकश्यपुले आफ्ना छोरालाई बाँध्न आदेश दिन्छन्। नाचको चरमोत्कर्ष अब सुरु हुन्छ।

मसालहरु दन्काइन्छन्। पाटन दरबारबाट नृसिंह बाहिर ल्याइन्छ। खम्बा फोरेर नृसिंह अवतार बाहिर निस्कन्छ। नृसिंहको छायाँ पर्न नहुने भएकोले डबलीमा मसाल दनदनी दन्काइन्छ। नृसिंहले नाच्दै हिरण्यकश्यपुलाई खेदाउँछन्। नाचको महत्त्वपूर्ण दृश्य नै यही हो।

नाच्दानाच्दै नृसिंहले दैत्यलाई फन्दामा पार्ने प्रयास गर्छ। तर पटक पटक दैत्य उम्कन्छ। अन्त्यमा नृसिंहले दैत्यलाई भाग्नै नसक्ने गरी घेरामा पार्छ।

नृसिंहले यसो छोएको मात्र के हुन्छ, हिरण्यकश्यपु साँच्चिकै अचेत हुन्छन्। उनलाई तान्त्रिक विधिबाट डबलीभन्दा अलि पर ब्युँताइन्छ।

यता डबलीमा भने नृसिंहको पूजा हुन्छ। परी पनि त्यहाँ देखिन्छ।

नरबलि छल्ने नाच

सिद्धिनरसिंह मल्लले पाटनमा कृष्ण मन्दिर बनाइसकेपछि यो नाच सुरु गरेका हुन्। नेपाल संवत् ७६१ देखि यो नाच चलिरहेको छ। नेपालको सबैभन्दा लामो नाच महोत्सवका रुपमा यसलाई लिइन्छ। अहिले यो नाच कात्तिक नाच प्रबन्ध समितिले सञ्चालन गर्ने गर्छ।

यस्तो छ इतिहास

सिद्धिनरसिंह मल्लले सुरु गरेको नाच अहिलेसम्म निरन्तर चलिआएको छ। तर यसमा थपघट भने भइरहेको छ। सुरु हुँदा यो नाच पाँच दिनसम्म मात्र चल्थ्यो। उनका छोरा श्रीनिवास मल्लले हास्यव्यङ्ग्यका प्रहसनहरु थपेर यसलाई १५ दिन लामो बनाए। उनका पनि छोरा योगनरेन्द्र मल्लले त झन् थप १५ दिन जोडेर एक महिनाकै बनाए।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि पाटनमा मल्ल वंशको शासन अन्त्य भयो। तैपनि ३५० वर्षसम्म यो नाच एक महिनासम्म नै चलिनै रह्यो। २००७ सालको राजनीतिक परिवर्तनपछि एक महिना लामो नाचलाई जम्मा दुई दिनमा छोट्याएर देखाउन थालियो। २०३८ सालसम्म यो नाच दुई दिनमै सीमित रह्यो।

त्यसपछि स्थानीय व्यक्तिहरुले आफ्नो संस्कृति माँसिदै गएको महसूस गरी आफ्नै पहलमा कात्तिक नाच प्रबन्ध समिति गठन गरे। र, त्यसैको आयोजनामा यो नाच आठ दिनको बनाइयो।



ट्रेन्डिङ पोस्ट

Ncell