PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल



पहिलोपोस्ट

सर्वोच्चमा बारको आन्दोलन रोक्न प्रहरीद्वारा बल प्रयोग, अध्यक्ष चण्डेश्वरलाई चोट, लगियो अस्पताल

काठमाडौं : सर्वोच्च अदालत परिसरमा प्रहरीले आन्दोलनरत् नेपाल बार एशोसिएशनका सदस्यमाथि बल प्रयोग गरेको छ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सचिव ऋषिराम घिमिरे सहित चार जना सामान्य घाइते भएको महासचिव लीलामणि पौडेलले जानकारी दिए। उनका अनुसार कार्यसमिति सदस्य प्रकाश महर्जनको खुट्टामा चोट लागेका कारण अस्पताल लगिएको छ। घाइतेहरु सबैलाई माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पताल लगिएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्‍शेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै मूल ढोकामा धर्ना दिइरहेका अधिवक्ताहरु माथि प्रहरीले बल प्रयोग गरेको हो। प्रहरीसँगको घम्साघम्सीमा बारका पदाधिकारीसहित केही अधिवक्ता घाइते भएको बार एशोसिएशनलेले जनाएको छ।

बारले मूल ढोकामा प्रदर्शन गरिरहँदा प्रधान न्यायाधीश जबरा वैकल्पिक ढोकाबाट सर्वोच्च प्रवेश गर्दै आएका छन्। आन्दोलनरत् अधिवक्ताहरु वैकल्पिक ढोकामा पुग्न खोज्दा आज झडप भएको हो। 

बारको आन्दोलन चौथो सातामा जारी छ। यस अवधिमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास तोके पनि न्यायाधीशहरुले बहिस्कार गर्दै आएका छन्। यद्यपि, वन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई हुन थालेको छ। 

गत कात्तिक ७ गते आइतवार मध्याह्नदेखि प्रधान न्यायाधीशमाथि मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका हुन्।

सर्वोच्च अदालतको गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन। बिचबिचमा बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ। प्रधान न्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधान न्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको जनाउँदै न्यायाधीशलाई पनि संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै वार्ताका लागि आह्वान गरेका छन्। तर, त्यसलाई आन्दोलनरत कानुन व्यवसायीले बहिस्कार गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell