PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

न्यायाधीशहरुलाई बारले भन्यो : प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्य स्वीकार्य छैन



पहिलोपोस्ट

न्यायाधीशहरुलाई बारले भन्यो : प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्य स्वीकार्य छैन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध तेस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी रहने बताएको छ। 

मूल गेटमा बारले धर्ना दिइरहँदा वैक्लपिक गेटबाट सर्वोच्च प्रवेश गरिरहेका जबरालाई आज वैक्लपिक गेटमै गएर रोक्ने प्रयास गर्दा बार र प्रहरीबिच घम्साघम्सी भएको हो। प्रहरीको लाठी लागेर बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ घाइते भएका छन्। यस्तै, बार सचिव ऋषिराम घिमिरे पनि घाइते भएका छन्। प्रहरीसँगको घक्कामुक्कीमा लडेपछि एक प्रहरीको बुटले लागेर उनलाई चोट पुगेको बताइएको छ।

यस्तै,अधिवक्ताहरु कपिल पोखरेल, युवराज भण्डारी पनि सामान्य घाइते भएका छन्। उनीहरु सबैलाई हाल अस्पताल पुर्‍याइएको छ।

अधिवक्ता प्रकाश महर्जनलाई भने अलि बढी चोट लागेको बताइएको छ। उनको न्यरो अस्पतालमा उपचार भइरहेको छ।

गत कात्तिक ७ गते आइतवार मध्याह्नदेखि प्रधान न्यायाधीशमाथि मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए। मंगलवारबाट केही न्यायाधीश बेन्चमा फर्किएपनि उनीहरुले बारसँगको भेटमा आफूहरु प्रधानन्यायाधीशको राजीनामाकै पक्षमा रहेको बताएका थिए। 

विद्रोही न्यायाधीशहरुको समर्थनमा नै सशक्त आन्दोलन घोषणा गरेको बारले जबराले विचौलिया प्रयोग गर्दै आन्दोलन दबाउन खोजेको आरोप सुरु देखि नै लगाउँदै आएको छ। आजको झडपमा प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै सर्वोच्चमा अधिवक्ताहरुले नाराबाजी समेत गरेका थिए। बार सदस्यहरुले सर्वोच्च परिसरमा दमन रोक्न र प्रहरीलाई सर्वोच्चबाट हटाउन भन्दै नाराबाजी गरेका थिए।

हतियार सहित सर्वोच्च परिसरमा प्रहरी उपस्थित भएर बारको आन्दोलनलाई जबराले दबाउन खोजेको अधिवक्ताहरुले आरोप लगाएका छन्। 

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आन्दोलन थप सशक्त हुने बताए। न्यायाधीश र बारले बहिष्कार गरेको व्यक्तिले न्यायलय चलाउन भनेर सोच्नु प्रधानन्यायाधीशको दिवा सपना भएको भन्दै शाक्यले भने, 'न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा उत्तम विक्लप भएको बताउनु भएको छ। तर, न्याय दिने काम रोक्न हुँदन भनेर हामी अहिले अरु विक्लप सोचिरहेका छौं भनेर उहाँहरुले भन्नु भएको छ।'

शाक्यले प्रधानन्यायाधीशलाई बैधता दिने कुनै कार्यलाई आफूहरुले स्वीकार नगर्ने समेत बताए। 'गोलाप्रथाबाट मुद्दाको लागि बेन्च तोक्ने कुरा आएको छ। हामीले न्यायाधीशहरुलाई स्पष्ट भनेका छौं। तपाईंहरुको प्रक्रिया आफ्नो ठाउँमा होला तर प्रधानन्यायाधीशलाई वैधता दिने कुनै पनि कार्यक हामीलाई स्वीकार्य छैन।'

प्रधानन्यायाधीशले गोलाप्रथाबाट मुद्दा हेर्ने र बेन्चमा बस्ने काम भए आफूहरुलाई स्वीकार्य नहुने शाक्यले बताए। प्रधानन्यायाधीशसँग बेन्चमा बस्ने न्यायाधीशको बेन्च पनि बहिष्कार गर्ने उनले चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell