काठमाडौं : कलाकार रिस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को फस्ट लुकसँगै प्रदर्शन मिति सार्वजनिक भएको छ। यो फिल्म आगामी चैत्र १८ मा देशभर रिलिज हुँदैछ।
फिल्मको फस्ट लुकमा अभिनेत्री रिस्ताको फरक अवतार देख्न सकिन्छ। बस्नेतले लामो समयपछि आफूले खोजेजस्तो कथामा काम गर्न पाउँदा निकै खुसी लागेको बताइन्। क्राइम जनरामा निर्माण गरिएको फिल्ममा दर्शकले फरक स्वाद पाउने निर्माणपक्षको विश्वास छ।
सरु र प्रमिला नाम गरेका दुई जना साथी एक अपराधिक गिरोहद्धारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म बनेको छ। यी दुईले आफूलाई खतरनाक परिस्थितीबाट जिवित राख्न गरेको संघर्षको कथा यस फिल्ममा देखाइएको छ।
भगवान भुजेलले निर्माण गरेको फिल्ममा आर.बी पुन निर्देशक रहेका छन्। यो फिल्ममा कथा, पटकथा तथा संवाद पनि पुनको नै रहेको छ। बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ फिल्मका सह–निर्माता हुन्।
फिल्ममा रिस्ताको साथै सुनिशा बजगाँई, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाश लगायतका कलाकारहरुको अभिनय रहेको छ। यस फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछन्।
