काठमाडौं : मंसिर ४ गते हुन गइरहेको नेपालगंज म्याराथनको पुरस्कार राशी वृद्धि गरिएको छ। म्याराथन तथा हाफ म्याराथनमा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ। हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन्।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ पाउनेछन्।
त्यस्तै गरी विद्यालय तहमा छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन्। ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन्।
नेपालगंज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपी चोकमा पुगेर समापन हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्।
नेपालगंज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए। त्यस्तै महिला हाफम्याराथनमा धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन्। पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन्।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीकाबिचमा २०६३ मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगंज म्याराथन आयोजना हुने गरेको छ।
