काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग असन्तुष्ट सर्वोच्च अदालतका १८ जना न्यायाधीशले पेसी व्यवस्थापन गोलाप्रथाबाट गर्ने सहमति गरेका छन्। उनीहरुले सर्वोच्च अदालत नियमावली २०७४ संशोधनमा पनि सहमति गरेका छन्। यस्तै गोलाप्रथाबाट पेसी व्यवस्थापनसम्बन्धी निर्देशिकामा पनि उनीहरुले सहमति गरेका छन्।
हालसम्म सर्वोच्चमा प्रधानन्यायाधीशले पेसी तोक्दै आएका छन्। गोलाप्रथाबाट पेसी तोकिए न्यायिक इतिहासमा पहिलोपटक यस्तो व्यवस्था हुनेछ। सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको न्यायालय सुधारसम्बन्धी प्रतिवेदनमा पेसी अटोमेसनमा लैजाने सुझाव छ। साे व्यवस्था नहुँदासम्म गोलाप्रथाबाट पेसी तोक्नेगरि नियमावली संशोधनमा न्यायाधीश सहमत भएका हुन्।
साथै न्यायाधीशहरु शुक्रबारदेखि आंशिक रुपमा काममा फर्कने पनि भएका छन्।
कसरी अघि बढ्छ प्रक्रिया?
न्यायाधीशहरुले गरेको निर्णय शुक्रबार मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइने छ। जबरा र मुख्य रजिस्टारले प्रमाणीकरण गरेमा उक्त निर्णय अनुसारको नियमावली संशाेधनको व्यवस्था राजपत्रमा प्रकाशनका लागि कानुन मन्त्रालय पठाइने छ।
राजपत्रमा प्रकाशित भएपछि पुनः सर्वोच्चको फूलकोर्टले तोकेको मितिबाट लागू हुनेगरि नियमावली संशोधनको प्रक्रिया अघि बढाइन लागिएको हो। राजपत्रमा आएपछि फूलकोर्टले लागू सम्बन्धी निर्णय गर्नेछ।
गोलाप्रथाबाट मुद्दा तोक्दा बेञ्च गठनका गोलालाई बास्केटमा राखिने छ। वरिष्ठताका आधारमा न्यायाधीशले गोला तान्नेछन् र पूर्ण, संयुक्त वा एकल कुन इजलास गठन हुने निर्धारण हुनेछ। संवैधानिक इजलासको हकमा भने गोला लागू हुने छैन। संविधानले नै प्रधानन्यायाधीशको नेतृत्वमा इजलास गठन हुने निश्चित गरेको छ।
यस्तै गोलाबाट पेसी तोक्दा मुद्दा भने सम्बन्धित फाँटले पहिले नै भएका आदेश अनुसार संयुक्त वा विशेषा इजलास हुनेगरि बास्केटमै तयार पारिसकेको हुनेछ।
झन्डै एक महिनादेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै बेन्च बहिष्कार गर्दै आएका न्यायाधीश सम्मिलित बैठकले नियमावली संशोधन गर्दै गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था गर्ने रायमा सहमति गरेका हुन्।
निर्णयसँगै शुक्रबारबाट न्यायाधीशहरु आंशिक रुपमा बेन्चमा फर्किने भएका छन्. फैसला पुनरावेदन, मिलापत्र जस्ता मुद्दा न्यायाधीशहरुले हेर्ने बताइएको छ।
यता, नेपाल बार एशोसिएसनले भने गोलाप्रथा व्यवस्था आफूहरुको माग भएपनि प्रधानन्यायाधीशले गोला छान्न नपाउने अडान लिएको छ।
आज सर्वोच्च परिसरमा बारका सदस्यमाथि भएको प्रहरीको धरपकडपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीशलाई गोला छान्ने अधिकार नभएको बताएका हुन्। प्रधानन्यायाधीश जबरालई वैधता दिने कुनै पनि कार्य बारलाई अस्वीकार हुने उनले बताए।
यस्तै, नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि जबराले गोला छाने आफूहरुलाई मान्य नहुने बताएका छन्। बारले जबराको राजीनामा नै आफूहरुको बटमलाइन भएको बताएका छन्।
