PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

भोलिबाट ‘ए’ डिभिजन लिग शुरु हुँदै, कुन टिमको तयारी कस्तो?



पहिलोपोस्ट

भोलिबाट ‘ए’ डिभिजन लिग शुरु हुँदै, कुन टिमको तयारी कस्तो?

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग शुक्रवारबाट शुरु हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्।

प्रतियोगितामा १४ वटा टिम प्रतिस्पर्धामा उत्रने छन्।

कुन टिमको तयारी कस्तो?

पछिल्लो ४० दिनयता ‘ए’ डिभिजन लिगका लागि तयारीमा जुटेको फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्रप्रसाद मिश्र पहिला रेलिगेशनबाट बच्ने लक्ष्य रहेको र छैटौं/सातौं स्थनसम्म पुग्ने लक्ष्य रहेको बताउँछन्। त्यस्तै, कप्तान सुरज विकेले प्रतिद्वन्दीलाई बलियो चुनौती दिने विश्वास रहेको बताए।

यसपटकको लिगमा जावलाखेल युथ क्लबले शीर्ष चारमा अटाउने लक्ष्य राखेको बताउँछन् प्रशिक्षक किशोर कुमार केसी। यसपटक विदेशी खेलाडी पनि राम्रो भएको उनले बताए।

विभागीय टोली नेपाल पुलिसले यसपटक लिग जित्ने लक्ष्य लिएको छ।

‘हामी जहिलै तयार छौं। लिगकै लागि भनेर ३/४ महिना यता विशेष ट्रेनिङ छ। नयाँ टिम छ’, प्रशिक्षक अनन्त थापाले भने।

त्यस्तै, लिगको सदाबाहर दाबेदार मानिने अर्को विभागीय टोली नेपाल आर्मीले यसपटक पनि उपाधिको लक्ष्य लिएको छ। यद्यपि, राष्ट्रिय टोलीका समेत सदस्य रहेका नवयुग श्रेष्ठले प्रिसिजन खेलमा चोट ब्यहोर्दा आर्मीलाई धक्का लागेको छ।

यद्यपि, सहायक प्रशिक्षक राजु तामाङ तयारी राम्रो भएको र श्रेष्ठको विकल्पमा पनि अन्य राम्रा खेलाडी भएको बताए। तामाङको भनाइसँग कप्तान भरत खवास सहमत छन्।

‘तयारी राम्रो छ। एकजना मुख्य खेलाडी नहुँदा कठिन त हुन्छ नै। तर, त्यसलाई फुलफिल गर्ने खेलाडी पनि छन्। यो उनीहरुका लागि अवसर पनि हो’, कप्तान खवासले भने, ‘हाम्रो लक्ष्य लिगमा च्याम्पियन हुने नै हो। पुरानै कम्बिनेसन छ। टिम राम्रो छ भन्ने लाग्छ।’

नेपाल सुपर लिगमा चम्किएका विदेशी खेलाडीहरुलाई भित्र्याएर सन्तुलित टिम बनाएको एनआरटी यसपटक लिगमा जुनसुकै टिमलाई बलियो चुनौती दिनसक्ने टिम हो। प्रशिक्षक राजकाजी शाक्य अभ्यास गर्ने मैदान भनेजस्तो नभए पनि अरु तयारी राम्रो भएको बताउँछन्।

‘तयारी एकदम राम्रो भएजस्तो लाग्छ। अगाडि खेल्ने खेलाडी राम्रो छ। कम्बिनेसनमा जोड गरिरहेका छौं’, प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘ट्राइ गर्ने त टाइटल नै हो। नत्र शीर्ष ४ सम्मको लक्ष्य हो।’

त्यस्तै, कप्तान अजित प्रजापतिले राम्रा विदेशी खेलाडी र युवा खेलाडीको कम्बिनेसन भएको भन्दै बलिया मानिएका टिमलाई पनि राम्रो चुनौती दिने बताए।

अघिल्लो वर्ष रेलिगेशन जोनमा संघर्ष गरेको विभागिय टोली एपीएफले यसपटक पनि साख जोगाउनै संघर्ष गर्नेछ। प्रशिक्षक कुमार थापाले आफ्नो रेकर्डलाई सुधार्ने बताए। अघिलो सिजनमा केही ग्याप देखिएको बताउँदै त्यसलाई सुधारेर लैजाने थापाले बताए। त्यस्तै, कप्तान तोप विष्टले तयारी राम्रो भएको भन्दै शीर्ष ८ सम्म अटाउने लक्ष्य रहेको बताए।

यो सिजन पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको टोली हो सातदोबाटो युथ क्लब। प्रिसिजन र अभ्यासमा शुरुबाटै जुटेको सातदोबाटो ‘बी’ डिभिजनमा च्याम्पियन बन्दै यसअघि ‘ए’ डिभिजनमा प्रवेश गरेको थियो।

‘ओपनिङ गेम खेल्न पाउँदा सिक्ने अवसर छ। पहिलो पटक ए डिभिजन लिग खेल्न लाग्दैछ भन्ने अवसर दिने छैनौ,’ अनुभवी प्रशिक्षक मेघराज केसीले भने। त्यस्तै, कप्तान मानबाहदुर तामाङले परिवर्तनलाई चुनौतिका रुपमा हेरको बताए।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गरेको मछिन्द्र क्लबले यसपटक पनि राष्ट्रिय टोलीमा पकड जमाएका खेलाडीहरुलाई टीममा राखेको छ। अझ अट्याकिङमा खेलाडी अनुबन्धन हेर्दा मछिन्द्र बलियो देखिन्छ। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल आफ्नो लक्ष्य उपाधि रक्षा रहने बताउँछन्।

‘उपाधि जोगाउन कठिन हुन्छ भनेर फर्वाड टिममा धेरै राखेका छौं। स्टार खेलाडी धेरै हुँदा सकारात्मक नतिजा दिन सहज हुन्छ,’ उनले भने।

त्यस्तै, मनाङ मर्स्याङदी क्लबबाट च्याम्पियन बनेर अघिल्लो सिजन मछिन्द्र पुगेका सुजल श्रेष्ठ त्यहाँ पनि च्याम्पियन बने। यसपटक कप्तानका बनेका उनी च्याम्पियन बन्दै उपाधिमा लगातार तेस्रो पटक च्याम्पियन बन्न चाहन्छन्।

संकटा क्लबले भने यसपटक यही स्थानमा पुग्ने भनेर लक्ष्य तोकेको छैन। ‘हामी एभ्री डे बेसिसमा लक्ष्य निर्धारण गर्छौं,’ प्रशिक्षक विष्णु गुरुङले भने।

बलिया खेलाडी भित्र्याउने होडमा रहेको अर्को क्लब हो च्यासल युथ क्लब। सकेसम्म टाइटल जित्ने नत्र शीर्ष चारसम्म अटाउने होडमा च्यासल रहेको बताउँछन् अघिल्लो सिजन मछिन्द्रको कप्तानी गरेका च्यासलका कप्तान विराज महर्जन।

प्रशिक्षक बालगोपाल साहुखल भने टिमको मोरल उच्च भएको भन्दै टिममा युवा खेलाडीको बाहुल्यता धेरै भएकाले उनीहरुबाट धेरै आशा नराखेको बताए। इटालियन खेलाडी विकास मेराग्लियालाई टिममा एडजस्ट गराइरहेको भन्दै अन्य विदेशी खेलाडी अनुभवी रहेको बताए।

नेपालको ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सन्तोष साहुखल पनि लिगको मध्यतिर आउनसक्ने उनले बताए। गएको सिजन साहुखलले १०० गोल पूरा गरेका थिए।

राम्रा विदेशी खेलाडीहरु र युवा खेलाडीहरुको कम्बिनेशन आफ्नो टिममा रहेको बताउँछन ब्रिगेड बोइज क्लबका कप्तान अनिल गुरुङ। उनले युवा खेलाडीबाट धेरै आशा गरिएको बताए।

नेपालको लिगमा सर्वाधिक सफल मानिएको क्लब हो मनाङ मर्स्याङदी क्लब। कात्तिक ३ गतेबाट तयारी थालेपनि बीचमा चाडवर्वलगायतले अभ्यासमा अफ्ठ्यारो परेको प्रशिक्षक राजेन्द्र तामाङले बताए। उनले अनुभवी खेलाडीसँग टीम बलियो भएको भन्दै उपाधिका लागि प्रतिस्पर्धा गर्ने बताए। त्यस्तै, कप्तान विमल रानाले विगतका गल्ति सच्याएर अघि बढ्ने बताए।

त्यस्तै, ‘ए’ डिभिजन लिगको अर्को सदाबहार टोली हो थ्री स्टार क्लब। प्रशिक्षक उर्जेन श्रेष्ठले प्रतियोगितामा सबै टोली बलियो भएको भन्दै आफ्नो लक्ष्य उपाधिमै रहने बताए।

प्रतियोगिताको विजेताले ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन्। दुई वटा टोली रेलिगेशनमा जानेछन्।

त्यस्तै, उत्कृष्ट गोलकिपरले गोल्डन ग्लभ्स र २ लाख, सर्वाधिक गोलकर्ताले गोल्डेन बल र २ लाख प्राप्त गर्नेछन्। त्यस्तै, भ्यालुएबल प्लेयरले ३ लाख र राइजिङ प्लेयरले १ लाख ५० हजार प्राप्त गर्नेछन्।

रंगशालामा भीआईपी प्यारापिट तर्फ ५०० र सामान्य तर्फ १०० रुपैयाँ टिकट शुल्क लाग्ने भएको छ। दशरथ रंगशालामा हुने खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell