PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वाग्मती सरकारको निर्णय : सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर पढ्ने छोरीलाई निःशुल्क शिक्षा



पहिलोपोस्ट

वाग्मती सरकारको निर्णय : सामुदायिक क्याम्पसमा स्नातक र स्नातकोत्तर पढ्ने छोरीलाई निःशुल्क शिक्षा

हेटौँडा : अघिल्लो सरकारका योजनाहरू धमाधम उल्टाइरहेको वाग्मती प्रदेश सरकारले आफ्ना योजनाहरूलाई पनि अघि सारिरहेको छ। गठबन्धनको सरकार बनेको २० दिनमा प्रदेश सरकारको दुई पटक मन्त्रिपरिषद् बैठक बसेको छ। जसमा पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशभरिका सीमान्तकृत र उत्पीडित वर्गका छोराछोरीले एसईईपछि प्राविधिक विषय पढ्न चाहे प्रदेश सरकारले पढाइदिने निर्णय गर्‍यो।

त्यस्तै, मन्त्रिपरिषद्को दोस्रो बैठकले सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरी सामुदायिक क्याम्पसमा नै स्नातक र स्नातकोत्तर गर्न चाहने प्रदेशभरिका छोरीहरूलाई निःशुल्क पढाउने निर्णय गरेको छ। प्रदेशका छोरीहरूको पहुँच उच्च शिक्षामा पुर्‍याउन सामुदायिक विद्यालयबाट एसईई पास गरेका छोरीहरूलाई स्नातकोत्तर तहसम्म प्रदेश सरकारले पढाइदिने तयारी गरेको हो।

यो योजनालाई चालु आर्थिक वर्षबाट नै लागू गर्ने गरी सरकारले कार्यविधि बनाइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। प्रदेश सरकारबाट प्रवाह हुने सेवा सुविधाहरू सबै जिल्लाबाटै गर्न सक्ने गरी प्रत्येक जिल्लामा सरकारको कार्यालय खोल्ने पनि तयारी गरिएको छ।

प्रदेश सरकारबाट हुने स-साना कामको लागि पनि अन्य जिल्लाबाट हेटौँडा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न जिल्लामै सरकारको कार्यालय खोल्ने तयारी छ।

सरकारले धादिङको विकट रुबीभ्याली गाउँपालिकाबाट सेवा लिन जिल्लाको सदरमुकामसम्म धाउनु पर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकामा नै इलाका कार्यालय खोल्न पहल गर्ने पनि बताएको छ।

रुबीभ्यालीका बासिन्दा प्रशासनिक तथा बैंकिङदेखि हरेक सेवा लिन १,२ दिन लगाएर जिल्लाको सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता छ। सो बाध्यताको अन्त्य गर्न सबै सेवालाई इलाका कार्यालयबाट गाउँमा प्रवाह गर्ने योजना सरकारले अघि सारेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell