PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

रामदेवको कार्यक्रममा नेताहरुले गरे योगमाथि चर्चा



पहिलोपोस्ट

रामदेवको कार्यक्रममा नेताहरुले गरे योगमाथि चर्चा

काठमाडौं : मण्डिखाटारमा आज बिहानै योग गुरु रामदेवको पतंजली योगपीठले आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुको उपस्थिति रह्यो। पतंजली योगपीठ नेपालले आयेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायत मन्त्री र अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति थियो।

कार्यक्रममा प्रधानमन्त्री देउवाले योगको महत्व संसारभर रहेको बताए। उनले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको समेत बताए। उनले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरुको उपलब्ध गराउने समेत बताए।

‘साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ।  नेपालमै आयुर्वेदिक औषधिहरु बनाउन चाहनुभएको छ, नेपाल सरकारको तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ। सरकारले जग्गा उपलब्ध गराउनेछ’ उनले भने।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले योगगुरु रामदेव र आचार्य बालकृष्ण 'थ्रि इन वान' भएको बताए। योगगुरु रामदेव र आचार्य बालकृष्णले योगको माध्यमबाट पूरा समाजलाई नै आरोग्य र निरोगीतर्फ लगेको बताउँदै अध्यक्ष दाहालले रामदेव पहिला परम्परावदी र रुढीवादी जस्तो लागेपनि क्रान्तिकारी र वैज्ञानिक भएको बताए।

 'मलाई पहिला लाग्थ्यो रामदेव अलि बढी रुढीवादी, परम्परावदी हुनुहुन्छ होला भनेर। तर छलफल गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदो रहेछ, क्रान्तिकारी हुनुहुँदो रहेछ।  त्यसकारण मेरो निकटता पनि त्यसरी नै बढेर गयो' प्रचण्डले भने,' उहाँले योगलाई नयाँ क्रान्ति मार्ग प्रदर्शन गर्नुभयो।  योगको माध्यमबाट आरोग्यतिर, निरोगितातिर पूरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो। आरोग्यताबाट महा उद्योगको उत्पादनतिर र संचालनतिर लाग्नुभयो। त्यसकारण बाबा रामदेव र आचार्य बालकृष्ण थ्रि इन वान हुनुभयो।'

त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले योग साधनाको छुट्टै महत्व भएको बताए। उनले योगको अभ्यास सबैले गरेमात्रै शरीर स्वस्थ हुने भन्दै भने, ‘योग र साधनाको बेग्लै महत्व छ। योगको अभ्यास हामी सबैले गर्नुपर्छ। स्वास्थ्यलाई राम्रो बनाउनका लागि पनि आवश्यक छ।  ध्यान केन्द्रित गर्नका लागि पनि आवश्यक छ, प्राकृतिक चिकित्सालय, आयुर्वेदिक चिकित्सालय, होमियोपेथिकको पनि व्यापक प्रयोग गरौँ यसले मनमा शान्ति ल्याउँछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell